शुक्रबार, वैशाख १४, २०८१

'मरे नि मर्छौ' भन्दै यात्रुले पार गरे मुग्लिनको पहिरो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुग्लिन-  चितवनको रामपुरका झकबहादुर गुरुङ पहिरो खस्ने डरले बिहानै गोरखाको भच्छेक जान परिवारसहित बसमा आएका थिए । तर, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तोपेखोलाको छेवैमा खसेको पहिरोले उनको यात्रा रोकियो । 

“जरुरी कामका लागि जान लागेको नगै भा’ छैन ”– पहिरो पन्छाउन खटिएका एकजना प्रहरी अधिकारीलाई उनले अनुनय गरे । 

प्रहरीको अनुमति पाएपछि उनले पहिरो खस्दै गरे पनि हिँडेरै पहिरो छिचोले । पिठ्यूँमा भारीको पोको बोकेर घरी पहिरो खसेतिर नियाल्दै घरी पहिरोको थुप्रोमा दगुर्दै उनले तोपेखोला र कालिका खोलाको पहिरो पार गरे । “धन्न पहिरो पार भयो,” लामो सास फेर्दै गुरुङले भने – “अब हिँडेरै पनि गइन्छ । तोपेखोलाबाट मुग्लिन आइपुग्न करिब ३ किलोमिटर छ ।” 

हिड्ँदै गर्दा लोकल रुटमा एउटा गाडी फेला प¥यो । तीन किलोमिटरको दूरीको रु ५० प्रतिव्यक्ति तिरेर उनी  अपराह्न मुग्लिन आइपुगे । उनी मात्रै होइन बुधबार यसरी पहिरो खस्दै गर्दा दौडिएर पार गर्ने यहाँ धेरै यात्रु थिए । 

यस्तै, मुग्लिनतर्फबाट गएका यात्रु पनि पोका पुन्तुरासहित आफूले यात्रा गरेको गाडी छाडेर पैदलै पहिरो पार गर्दै थिए । पहिरोमाथि यात्रुको ताँतीले लोडर र डोजरलाई बेलामा काम गर्न पनि समस्या हुन्थ्यो । कामदारहरु रिसाउँथे पनि । 

कोही बिरामी भेट्न आएको भन्दै प्रहरीसँग हारगुहार माग्दै पैदल जान दिन अनुरोध गर्दथे । कोही आफन्त बितेकाले जसरी पनि नगई भएन भन्थे । कोही ‘हामी मरे नि मर्छौं’ भन्दै जबरजस्ती जाने पनि थिए । प्रहरीका अनुसार कहिलेकाहीँ त यात्रुलाई रोक्दा रोक्दै झगडै हुन्थ्यो । यस्ता अटेर गर्ने यात्रुको जिद्दिमाथि प्रहरीको केही सिप चलेन । पहिरो खस्न थाले पछि पुनः भागेर फर्कने यात्रु पनि थिए । 

दिनभर पहिरोग्रस्त क्षेत्रमा खटिएका चितवनका ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतम यात्रुले नै जबरजस्ती गरेपछि आफूहरुले रोक्नै नसकेको बताउँछन् । कतिपय विद्यार्थी जाँच छ भन्दै पहिरो पार गरेर जान्थे । उनीहरुको बहानामा अन्य यात्रुहरुले समेत पैदलै यात्रा तय गरेका थिए । 

हिम्मत भएकाहरु हिँडेर पार गर्थे भने कतिपय यात्रु गाडी जहिले गुड्छ, त्यहीबेला जाने भनेर पर्खेका पनि थिए । कतिपय गाडीहरु बीचबाटैबाट फर्किएका थिए । तर जोखिम मोलेर पहिरो छिचोल्दै जानेको संख्या यथेष्टै थियो । 

चितवनको रत्ननगरका अनिल भट्ट बिहान ३ बजे उठेर माइक्रोबसमा काठमाडौँ जान आए । पाँच बजे तोपे खोला आइपुग्दा उनको यात्रा रोकियो । गाडी नगएपछि उनी  पुनः चितवन नै फर्किए । 

चितवनबाट माइक्रोबस लिएर काठमाडौँ आउँदै गरेका भरतपुरका गाडी चालक विकास गुरुङ पनि बिहान ५ बजे तोपेखोला आइपुगेका थिए ।  बाटो खुल्छ कि भनेर बिहान ११ बजेसम्म कुर्दा कुनै छनक नपाएपछि उनले पनि गाडी भरतपुर नै फर्काए । 

सो क्षेत्रमा कतै विद्युत्का तार छिनेका छन्, कतै पोल ढलेका छन् । पहिरोको माटो र ढुंगा त्रिशूली किनारमा यत्रतत्र देखिन्छ । वारपार नै पहिराका लामालामा धब्बा र गाडीका लाइन थिए । महँगोमा खानेकुरासमेत बिक्री वितरण भइरहेका देखिन्थ्यो । 

यस्तो छ तोपेखोलाको अवस्था 

गत आइतवार बिहान ११ः५० बजेको समयमा तोपेखोला छेउमा ठूलो पहिरो खसेर अबरुद्ध भएको सडक राति आठ बजे सञ्चालनमा आएको थियो । त्यसको केही दिन अघिपनि यहाँ पहिरो गएर घन्टौं सडक बन्द हुन पुगेको छ । 

आज बिहान ५ः३० बजे खसेको पहिरो हटाएर दुईतर्फी सडक खुल्न झण्डै ११ घण्टा लाग्यो । अपराह्न ४ः३० बजे सडक खुल्यो । यो साल मात्रै तोपेखोलामा तीन वटा पहिरो खसिसकेका छन् । आज तोपेखोलासँगै कालिका खोलामा समेत पहिरो खसेको थियो । 

“कमजोर भू–बनोटले गर्दा पहिरो खसेको हाे ” नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनाल भन्छन् – “अहिलेसम्म तोपेखोलामा मात्रै १४÷१५ पटक पहिरो खसिसक्यो ।” 

झन्डै २०० मिटरमाथिबाट पहिरो खस्ने गरेको छ । भित्तोको तल्लोभाग घोप्टो पारेर काटिएको छ । त्यसैले पनि पहिरो खस्न बल पुगेको देखिन्छ । त्यसमाथि कमजोर भू–बनोटले अझै यहाँको धेरै भाग खस्न ठिक्क परेको छ । निस्कन लागेका ढुङ्गा र फुको माटोको भित्तो छ । छेवैमा पहिरो रोक्न लगाइएको रक नेटिङ प्रणाली छ । त्यसको केही तारको भाग समेत पहिरोले लगेको छ । 

बाँकी रक नेटिङलाई समेत बगाउने अवस्था देखिएको छ । तल्लो भागदेखि नै जमिन भस्केकाले यहाँ जाली लगाएर गरिएको रक नेटिङ प्रभावकारी नहोला जस्तो देखिएको बताउँछन् फिल्डमा खटिएका ओभरसियर प्रकाश भण्डारी । 

पछिल्लो समयमा तोपेखोला, जलवीरे, मुग्लिन डाँडा, कालीखोला, चार किलो र पाँच किलोमा दैनिकजसो नै पहिरो खसिरहेको छ । सानातिना पहिरो दिनमै ५/६ वटा खसिरहन्छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।