काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले अनशनरत डा गोविन्द केसीको शैली तानाशाही चरित्रको भएको आरोप लगाएका छन्। बुधवार संसदमा जरुरी सार्वजनिक महत्वको बिषयमा जानकारी दिँदै आफुले मात्र भनेको हुनुपर्ने भन्दै अनशन बस्ने शैली तानाशाही भएको आरोप लगाए।
त्यसैगरी अर्का अशनरत गंगामायाका बिषयमा बोल्दै उनले एउटा मात्र मुलुकमा एउटामात्र गंगामाया नभएको बताउँदै भने, ‘मुलुकमा एक मात्र गंगामाया छैनन्, १५ हजार गंगामायाको आँशु हेर्नू परेको छ।’
गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिए।
विगतमा भएका सम्झौतालाई नै आधार मानेर विधेयक सामान्य प्रक्रियाबाट ल्याउने प्रयास भइरहेको बताउँदै उनले सरकारले अदालतको निर्णयलाई अवज्ञा नगर्ने बताए।
सामाजिक विकृति र विसंगतिका रुपमा रहेको छाउपडीलगायतका कुप्रथाको अन्त्य गर्न सामाजिक जागरणको अभियान सञ्चालन गर्नपर्नेमा उनले जोड दिए।
“मुलुकमा भएको अविरल वर्षापछि आएको बाढीपहिरोबाट जनधनको क्षति भएको छ, तराईमा डुबान हुँदैछ, यही असार १५ गते यता हालसम्म झण्डै दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको छ, १५ जनाभन्दा बढी मानिस बेपत्ता छन्”, गृहमन्त्री थापाले जानकारी दिए।
उनले भने, “विपत् न्यूनीकरणका लागि सदनमा उठिरहेको आवाज, राहत र उद्धारका कार्यक्रमलाई सम्बोधन गर्न सरकार सचेत र जागरुक रहेको छ।”
प्राकृतिक प्रकोपका घटनामा परेर कमभन्दा कम क्षति होस् भन्नेतिर सरकारको पर्याप्त ध्यान रहेको छ भन्दै गृहमन्त्री थापाले द्वन्द्व पीडितका बारेमा प्रश्न उठेकालाई समाधान गर्न राहत वितरण गर्ने र सबै समस्यालाई दीर्घकालीन ढंगबाट होस् भन्ने हिसाबले गृहकार्य भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४