काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले युद्धकालमा भएको घटना र व्यक्तिगत रिसइवीलाई छानविन गर्न नसक्दा रातो झण्डा ओढेर सवै अपराध माफ हुने हराजकता बढेको बताएका छन् ।
छोराको हत्याका दोषीमाथि कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनमा बसेकी गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन अस्पताल पुगेका पौडेलले भने-'रातो झण्डा ओढेपछि सवै खत माफ हुने प्रचलनको अन्त्य हुनुपर्छ ।'
पौडेलले विधिको शासन नै लोकतन्त्रको मेरुदण्ड भएको भन्दै विधिको शासन तोड्ने र स्वतन्त्र न्यायापालिकाको फैसलालाई अपमान गर्ने जुन परम्परा स्थापित हुन थालेको छ, यो अत्यन्तै दुःखद र निरंकुशतावादी मनोवृतितिर शासन सत्ता अगाडि बढेको देखिन थालेको बताए ।
उनले छोराको हत्यालाई कारवाहीका लागि अनसन बस्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको भन्दै गंगामायाको मागलाई सरकारले नसुने जनस्तरमा लैजानुपर्ने आवश्यकता रहेको वताए । पौडेलले अपराधीले माओवादीसंग टाँसिएर आफ्नो अपराध माफ पाउने अवस्थाले समाजमा मानवियता गुमाउदै गएको टिप्पणी गरे।
१५ जेठदेखि छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनशनमा बसेकी गंगामायाको स्वास्थ्य ३६ औं दिनमा आइपुग्दा थप जिटिल भएको छ। गंगामाँयाको स्वास्थ्य अवस्था बुझ्न मंगलबार बीर अस्पताल गएका नेता पौडेलसँग उपचारमा संलग्न स्वाथ्यकर्मीले गंगामायाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी दिएका छन्।
३६ औं दिन आमरण अनसन बसेकी गंगामायाको पछिल्लो दुई दिन यता स्वास्थ्य पहिलेभन्दा जटिल भएर गएको बताएका थिए । शरीर सुन्निदा हातको नशा नभेटिएका कारण गंगामायालाई घाँटीको नशाबाट स्लाइन दिइएको छ ।
२०७२ पुष ५ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गरेर कानुनी शासन लागू हुनुपर्ने माग गर्दै गंगामाया गत जेठ १५ गते वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर १६ मा आमरण अनशनमा बसेकी छन्।
गंगामायाले छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भनिएका छविलाल पौडेल, जानुका पौडेल, भिमसन पौडेल र रामप्रसाद अधिकारीलाई जेल सजायको माग राखेर आमरण अनसन शुरु गरेको बताएकी थिइन् । अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई २०६१ साल जेठ २४ गते माओवादी कार्यकर्ताहरुले अपहरणपछि हत्या गरेका थिए।
छोराका हत्यारालाई कारवाहीको माग राखेर अनशनमा बसेका उनका श्रीमान् नन्दप्रसाद अधिकारीको तीन सय ३४ औं दिनमा २०७१ असोज ६ गते निधन भएको थियो । उनको शव अझै पनि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४