लमजुङ- कानुनले २० वर्ष अगावै विवाह गर्न बन्देज लगाए पनि मर्स्याङ्दी गाउँपालिकामा भने सानै उमेरमा आमा हुनेहरूको संख्या बढ्दो रहेको पाइएको छ।
जिल्ला अस्पताल लमजुङले उपलब्ध गराएको जानकारीअनुसार अस्पतालमा प्रसूति गराउन आउनेमध्ये १३ दशमलव १५ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ।
बालविवाह रोकथाम तथा न्यूनीकरणका विभिन्न प्रयास भए पनि व्यवहारमा भने सानै उमेरमा विवाह गर्ने परम्परा कायकै रहेको पाइएको छ। फलस्वरुप सानै उमेरमा आमा बन्ने किशोरीको संख्यामा कमी आउन सकेको छैन। जिल्ला अस्पतालले जनाएअनुसार २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीहरूको विवाह १५ देखि १८ वर्षभित्रै भएको देखिन्छ ।
‘उमेर नपुग्दै प्रसूति गराउन आउनेमध्ये अधिकांश १४ देखि १८ वर्ष उमेर समूहका छन्,’ जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले भने, ‘सबैभन्दा बढी १७ वर्ष उमेरका महिलाले प्रसूति सेवा लिएका छन्।’
कम उमेरमा गरिने विवाहका कारण अधिकांश किशोरीलाई शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्ने बाध्यता रहेको पनि उनले बताए । कम उमेरमा सन्तान जन्माउँदा मातृ–शिशु मृत्युदरको उच्च जोखिम रहने पनि डा. श्रेष्ठ बताउँछन्।
अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्यांकमा प्रसूति गराउनेमध्ये केही १४ वर्ष उमेरका किशोरी पनि भेटिएको उनले बताए।
स्वास्थ्य कार्यालय लमजुङ तथा जिल्ला अस्पतालले आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेर चाँडै विवाह गर्दा हुने असर र विभिन्न समस्याका बारेमा आमा समूहमार्फत सेवाग्राहीलाई समेत जानकारी गराउँदै आएको छ।
जिल्लामा विभिन्न संघसंस्थाले नाटकलगायतका कार्यक्रममार्फत सानो उमेरमा हुने विवाहको असरका बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङले पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रमार्फत बालविवाह गर्न नहुने, स्वास्थ्यमा पर्ने असर, कानुनी काराबाही हुनेबारे सचेतना कार्यक्रम गर्दै आएको छ ।
कम उमेरमा विवाह गर्नेलाई प्रहरीले कारबाहीसमेत पनि गर्छ तर पनि जिल्लामा उमेर नै नपुगी विवाह गर्ने र कलिलै उमेरमा महिलाहरु आमा बन्ने समस्या रोकिन सकेको छैन।
कलिलै उमेरमा विवाह गर्नाले महिलाको स्वास्थ्यमा पर्ने असरका बारेमा सचेतना जगाउनु पर्ने चिकित्सकले बताएका छन्। कम उमेरमा आमा बन्नुपर्दा हुने जोखिमको बारेमा विद्यालय स्तरमै शिक्षा दिनुपर्ने आवश्यकता रहेको उनीहरु बताउँछन्।
‘उमेर नपुगी गर्भवती हुँदा तथा बच्चा जन्माउँदा महिला र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर असर पुग्ने र कतिपय अवस्थामा ज्यानसमेत जाने जोखिम पनि हुन्छ,’ अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. हेमा सन्त्याल भन्छिन्।
ग्रामीण क्षेत्रमा विद्यालय तहको पढाइ नै पुरा नगर्ने, पढाइ छोड्ने प्रवृत्तिले पनि किशोरी उमेरमै आमा बन्ने गरेको उनी बताउँछिन्।
कम उमेरमै बच्चा जन्माउँदा पाठेघर खस्ने, विभिन्न रोगको संक्रमण हुनसक्ने, महिलाको योनीमार्ग च्यातिनेलगायतका विभिन्न असर तथा समस्या हुने उनी बताउँछिन्।
‘कानुनीरुपमा २० वर्षपछि विवाह तथा बालबच्चा जन्माउन पाउने भए पनि २५ वर्ष नाघेपछि महिलाले बच्चा जन्माउँदा बढी उपयुक्त हुन्छ,’ उनी भन्छिन्।
अस्पतालका प्रमुख श्रेष्ठका अनुसार अस्पतालमा १४ वर्षका किशोरीसमेत प्रसूति सेवा लिन आउने गरेका छन्।
जिल्लाका आठ स्थानीय तहमध्ये मस्र्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र सुन्दरबजार नगरपालिकाका अधिकांश महिला प्रसूति सेवा लिन आउने गर्छन्।
विशेष गरी आदिवासी जनजाति, दलित समुदायका महिलाको सानै उमेरमा विवाह हुने र गर्भवती हुने गरेका उनी बताउँछन्।
अस्पतालका अनुसार गत आर्थिक वर्षमा एक हजार १ सय ७१ जनाले सुरक्षित प्रसूति सेवा लिएका । तीमध्ये २० वर्ष भन्दा कम उमेरका १ सय ५४ जना थिए । २०७६/२०७७ मा अस्पतालमा एक हजार १ सय २३ जनाले प्रसूति सेवा लिएकोमा कम उमेरका १ सय ७१ थिए। २०७५/२०७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको संख्या एक हजार ११ रहेकामा १ सय ८३ जना २० वर्षभन्दा कम उमेर समूहका थिए।
त्यस्तै, २०७४/२०७५ मा एक हजार ३ सय २२ जनाले प्रसूति सेवा लिएकोमा २० वर्षभन्दा कम उमेर समूहका ३ सय ६३ जना रहेको अस्पतालले जनाएको छ। २०५८ देखि अस्पतालले १५ शय्यामा प्रसूति सेवा दिँदै आएको छ।
जिल्ला प्रहरी कार्यालयले बालविवाह गर्ने र गराउनेलाई कारबाही गर्दै आए पनि रोक्न भने नसकिएको प्रहरीको भनाइ छ।
–जनक श्रेष्ठ -रासस