यसैगरी, मंसिर ०४८ मा सम्पन्न नेकपा चौमको छैटौं/एकता महाधिवेशनमा महामन्त्री प्रचण्डको प्रतिवेदनमा उल्लेख थियो, 'बेरोजगारी र अर्धबेरोजगारीका कारणले किसानहरू शहर पस्दैछन् र विदेशिँदैछन् । गोर्खा भर्ती र भारतीय सेनामा भाडामा सिपाही, दरवान, कुल्ली आदि बन्न बाध्य भइरहेका छन् ।' र, सोही प्रतिवेदनमा 'गोर्खा भर्तीकेन्द्रजस्ता सम्पूर्ण राष्ट्रिय कलंकहरूको अन्त्य गर्ने' उल्लेख थियो ।
२१ माघ ०५२ मा तत्कालीन संयुक्त जनमोर्चाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग हस्तान्तरण गरे । त्यसको नवौं दिनमा माओवादीको सशस्त्र विद्रोह शुरु भयो । त्यस मागपत्रको चौथो बुँदामा उल्लेख थियो, 'गोर्खा भर्तीकेन्द्र बन्द हुनुपर्छ । नेपाली नागरिकहरूलाई देशमै सम्मानित रोजगारी प्रदान गरिनुपर्छ ।'
वैदेशिक रोजगारी नै राष्ट्रिय अर्थतन्त्र सञ्चालनको मुख्य आधार बनेको सन्दर्भमा गोर्खा भर्तीकेन्द्रको विरोध गर्नुको औचित्य बाँकी नरहेको नवगठित नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वेदुराम भुसाल बताउँछन् । झापा विद्रोह हुँदै एमाले स्थापनासम्म आइपुग्ने कम्युनिस्ट आन्दोलनको धारका पछिल्ला दस्तावेजहरूमा यो प्रसंग समेटिएको पनि पाइँदैन ।
'पार्टी स्थापनाताका अंग्रेजहरूको साम्राज्यवादी व्यवहार प्रकट भइरहेको थियो । र, त्यसमा नेपालीहरूलाई प्रयोग गरिरहेका थिए,' भुसाल भन्छन्, 'नेपालीहरूलाई मित्रराष्ट्रहरूका विरुद्ध प्रयोग गरिरहेका थिए । त्यसैले त्यतिबेला अंग्रेजहरूलाई भर्तीकेन्द्र रोक भनिएको थियो ।'
यसलाई व्यवस्थापन गर्ने पाटो भने अझै पनि मुद्दाका रूपमा कायम रहेको भुसालको तर्क छ । एमालेले ०५१ सालमा सरकारमा सहभागी भएयता गोर्खा भर्तीकेन्द्रको मुद्दा उठाउन छाडेको हो ।
जनयुद्धभर गोर्खा भर्ती बन्द गर्नुपर्ने कुरा जोडतोडका साथ उठाएको माओवादीले ०६२ सालमा रुकुमको चुनबाङ बैठकपछि उक्त विषय उठान गर्न छाड्यो । खासगरी, शान्ति प्रक्रियामा आएपछि माओवादीले उक्त विषय छुनै छाड्यो ।
अर्जेन्टिनाको साइनोरुसमा जारी विश्वकपको २१ औं शृंखलाबाट १६ असारमा अर्जेन्टिना प्रि-क्वार्टर चरणबाट बाहिरियो । नेपालमा अर्जेन्टिनाका समर्थक फुटबल प्रेमीहरूको बर्चश्व छ । तर, त्यही अर्जेन्टिनामा नेपाल र नेपालीप्रतिको घृणाभाव अझै उस्तै छ ।
त्यसको कारण हो, सन् १९८२ को रक्तपातपूर्ण फकल्यान्ड वार । ७४ दिनको युद्धमा ब्रिटिस-गोर्खा सेनाको बहादुरीपूर्ण उपस्थितिका कारण अर्जेन्टिनाले फकल्यान्ड टापु गुमाउनुपरेको थियो । अर्जेन्टिनातर्फ ६ सय ४५ र बेलायततर्फ दुई सय ५५ जनाको हताहती भएको थियो । आफ्नोतर्फ ठूलो हताहती र भूभाग गुमाउनुपरेको पीडाबाट अर्जेन्टिनाका बासिन्दा बाहिर निस्किन सकेका छैनन्, अझै ।
बेलायतले इराक, अफगानिस्तानलगायत युद्धभूमिमा आफ्नो गोर्खा सेनालाई प्रयोग गर्दै आएको छ । र, त्यसक्रममा ज्यान गुमाउने नेपाली नागरिकको संख्या पनि कम छैन ।
भारततर्फ पनि त्यसभन्दा फरक स्थिति छैन । भारतीय गोर्खा पल्टनलाई चीन र पाकिस्तानविरुद्धको लडाईंमा सहभागी गराइसकिएको छ । गत वर्ष यही समयमा भुटान र चीनको सिमाना दोक्लाममा गोर्खा रेजिमेन्ट परिचालन गर्न लागिएको बताउँदै चिनियाँ चासो सतहमै प्रकट भएको थियो ।
सन् १९७१ को भारत-पाकिस्तान युद्ध, सन् १९९९ को कारगिल युद्ध र सन् १९६२ को भारत-चीन युद्धमा पनि भारतीय गोर्खा बटालियनहरूलाई सहभागी गराइएको थियो । यस्तै, बंगलादेश, श्रीलंका, सियाचिनलगायत युद्धग्रस्त क्षेत्रमा पनि भारतीय गोर्खा बटालियनहरू पठाइएको थियो ।
यस्तो छ भारतीय रेजिमेन्टभारतीय गोर्खा सेनाका पाँच वटा रेजिमेन्ट छन् । 'वान जीआर', 'थ्री जीआर', 'फोर जीआर', 'फाइभ जीआर', 'एट जीआर', 'नाइन जीआर' र 'इलेभन जीआर' गरी सात वटा 'इन्फ्यान्ट्री' छन् ।
'टु जीआर', 'सिक्स जीआर', 'सेभेन जीआर' र 'टेन जीआर' ब्रिटिसहरूले आफूसँगै लिएर गएका थिए । 'इलेभन जीआर' पछि खडा गरिएको हो, भारतमा ।
शुरूमा 'बंगाल नेटिभ इन्फ्यान्ट्री' खडा गरेका थिए, ब्रिटिसहरूले । नेपाली युवालाई पनि त्यही 'इन्फ्यान्ट्री'मा भर्ति लिएका थिए । पछि 'गोर्खा नेटिभ इन्फ्यान्ट्री' खडा गरे । र, पछि त्यसैलाई गोर्खा राइफल्स र सन् १९०० देखि 'रेजिमेन्ट फर्मेसन'मा लगे ।
नेपाली सेनामा रहेको गुल्म, गण, वाहिनी, पृतनाजस्ता संगठन 'फाइटिङ फर्मेसन'अन्तर्गत्का हुन् । रेजिमेन्टेसन केही फरक छ, त्यसभन्दा ।
रेजिमेन्ट फाइटिङ फर्मेसनमा बनेको समूह होइन । ब्रिटिसहरूले जातिको हिसाबले सेनालाई विभाजन गरे । गोर्खा राइफल्सका ६ वटा रेजिमेन्ट छन् । रेजिमेन्टहरू पनि जातिको हिसाबले छुट्याइएको छ । शिख रेजिमेन्ट, पञ्जाब रेजिमेन्ट, गोर्खा रेजिमेन्ट इत्यादि । आ-आफ्ना जातीय पहिचानलाई 'इन्साइनिया' बनाइएको छ । जस्तो ः गोर्खा रेजिमेन्टको क्रस खुकुरी ।
रेजिमेन्टभित्र बटालियनहरू खडा गरिएको छ । ६ देखि आठ वटा बटालियन छन्, हरेक रेजिमेन्टमा । ३८ वटा इन्फ्यान्ट्री बटालियन, दुई वटा आर्टिलरी, एउटा मेकानाइज्ड इन्फ्यान्ट्री छन् ।
बटालियनहरू कर्नेलले कमान्ड गर्छन् । रेजिमेन्ट तैनाथीको हिसाबबाट खडा भएको कमान्ड होइन । सात वटा गोर्खा रेजिमेन्टलाई एउटा 'लुज' प्रकारको अल्मुनाईजस्तो ढंगले कमान्ड गर्ने व्यवस्था छ । त्यसलाई रेजिमेन्टल इन्स्टिच्युसन्स भन्ने गरिएको छ ।
त्यसका लागि सेनाको बजेटबाट केही रकम छुट्याइएको हुन्छ । सोही बजेटबाट एउटा सचिवालय बन्छ । त्यो सचिवालयमा 'कर्नेल अफ दी रेजिमेन्ट' खडा गरिएको हुन्छ । सबै रेजिमेन्टहरूमा जो सबैभन्दा वरिष्ठ अधिकृत छ, उही 'कर्नेल अफ दी रेजिमेन्ट' बन्छ ।
गोर्खा सेना मातहतमा भर्ना भएका अधिकृतहरूमध्ये जो माथिल्लो र्यांकमा पुगेका हुन्छन्, उनले नै 'कर्नेल अफ दी रेजिमेन्ट'को जिम्मेवारी पाउने हुन् । त्यस्ता अधिकृत रथी अर्थात् लेफ्टिनेन्ट जनरल पनि हुन सक्छन् ।
'कर्नेल अफ दी रेजिमेन्ट'का लागि चुनाव गराउने आन्तरिक अभ्यास पनि छ । त्यसरी निर्वाचित हुने अधिकृतलाई 'इलेक्टेड प्रेसिडेन्ट'को दर्जा दिइने गरेको छ । तर, त्यसमा प्रायजसो जो वरिष्ठ छ, उसैलाई जिताइन्छ । उनीहरूको भूमिका रेजिमेन्टल एसोसिएसनलाई बलियो बनाउने हुन्छ ।
गोर्खा सेनाको 'अपरेसनल' र 'डिप्लोयमेन्ट' भारतीय सेनाले नै गर्छ । पेन्सन वितरण कार्यालयलगायत नेपालसँग जोडिने कुरामा मात्र विदेश मन्त्रालयले 'डिल' गर्छ । कल्याणकारी कामको पाटोमा गोर्खा रेजिमेन्टेसनको भूमिका रहन्छ ।
बटालयनहरूलाई 'पिस' र 'फिल्ड'को 'रोटेसन' मिलाइएको हुन्छ । एक पटक 'पिस जोन'मा बसेपछि अर्को पटक फिल्डमा जानुपर्ने गरी ।
एउटा बटालियनमा आठ सय नफ्रीको दरबन्दी हुन्छ । तीमध्ये करिब ५० जना क्लर्कको भूमिकामा रहन्छन् । वान जीआरमा पाँच, थ्रीमा ६, फोरमा ६, फाइभमा ६, एटमा ६, नाइनमा पाँच, इलेभनमा ६ वटा बटालियन छन् । सबैमा गरी करिब ४१ हजार नेपाली युवा भारतीय गोर्खा सेनामा कार्यरत छन् । त्यसमा ३० देखि ३२ प्रतिशत भारतीय नेपालीभाषी युवा छन् ।
पहिले गल्लावालाहरूबाट छनोट गर्ने चलन थियो । अहिले डिस्ट्रिक सर्भिस बोर्डहरूमा पनि भर्ती र्यालीहरू आयोजना गर्ने गरिएको छ । माओवादीको सशस्त्र विद्रोह उत्कर्षमा रहँदा करिब पाँच वर्ष नेपालबाट भर्ती लिन रोकिएको थियो । त्यतिबेला भारतमा मात्र भर्तीकेन्द्र राखियो । शान्ति प्रक्रियापछि त्यो फेरि शुरु भएको छ ।
एक अवकाशप्राप्त कर्नेलका अनुसार नेपालबाट हुने 'इन्टेक' विस्तारै घटाउँदै लगिएको छ । भारतीय नेपालीको अनुपातलाई बढाइएको छ ।
ती अवकाशप्राप्त कर्नेलका अनुसार गृह मन्त्रालय मातहतका आसाम राइफल्स, राष्ट्रिय राइफल्सलगायत अर्ध सैनिक बलहरूमा पनि नेपाली नागरिक कार्यरत छन् ।
रेजिमेन्टल सेन्टरहरूको ठाउँ निश्चित गरिएको छ । जस्तो ः वान र फोर जीआर हिमाचलको सबाटु भन्ने ठाउँमा छन् । इलेभन जीआर लखनऊमा छ । नाइन र थ्री जीआर बनारसमा छन् । फाइभ र एट जीआर सिलोङमा छन् । सम्बन्धित जीआरमै हुन्छन्, तालिमहरू पनि ।
सेवारत र अवकाशप्राप्त अधिकृतहरूका अनुसार बेलायतमा जस्तो भारतमा गोर्खा सेनामाथि विभेद छैन । भारतीय नागरिक सरह नै तलब, भत्ता र सुविधा उपलब्ध हुन्छ । गोर्खा सेनाको अधिकृत पनि भारतीय सेनाको प्रधानसेनापति बन्ने प्रावधान कायम छ ।
गोर्खा सेनामा कार्यरतहरूको एउटा मात्र गुनासो सुन्न पाइन्छ । त्यो हो, ड्युटीमा रहँदा कुनै कारणले मृत्यु भएमा आफ्नो जन्मथलोमा शव पुर्याएर दाहसंस्कार गर्न नपाइने गरेको । त्यसबाहेकका गुनासा भारतीय गोर्खा सेनामा कार्यरत र अवकाशप्राप्तहरूबाट सुन्न पाइँदैन ।