काठमाडौं- लगातार परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा शनिबार रातीदेखि लगातार परेको वर्षाले बाढी पहिरोको जोखिम बढाएको छ भने सर्वसाधरणको दैनिकी समेत प्रभावित बनाएको हाे ।
मध्य तथा पश्चिम र चुरे क्षेत्रका केही ठाउँमा ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसोदेखि सुदूरपश्चिमको केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
देशभरी नै मनसुन सक्रिय भएकोले अझै दुई तीन दिन मौसम यस्तै रहने मौसमविदले बताएका छन् । लगातार वर्षा भइरहेका कारण बाढी पहिरोको सम्भावना रहेको भन्दै मौसमविद्हरुले सतर्क रहन सर्वसाधरणमा अपिल समेत गरेका छन् ।
मौसमविद् सुवास रिमालका अनुसार गोरखा, धादिङ, लमजुङ र कास्कीका केही भागमा बाढी र पहिरो को सम्भावना छ ।
पश्चिमको बबई र पश्चिम राप्तीमा बाढीको जोखिम तथा बागमती र नारायणी नदी आसापमा पनि बाढीको सम्भावना रहेको भन्दै उनले सावधानी अपनाउन आग्रह गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४