बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बौद्ध जोरपाटीमा दिनहुँ हिलो सडकमा कविता भन्छन्, आन्दोलन गर्छन्

बौद्ध जोरपाटीमा दिनहुँ हिलो सडकमा कविता भन्छन्, आन्दोलन गर्छन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- बौद्ध-जोरपाटी सडकमा हिजो आज दिनहुँ नयाँ रमिता देखिन्छ। स्थानीय बासिन्दा कहिले हिलो सडकमा कविता भन्दै सरकारलाई गाली गर्छन् त कहिले जुलुस नारा गर्छन्। 

आफ्नो क्षेत्रको सडक भत्काएर पुनर्निर्माण अलपत्र छाडिएपछि आजित भएका स्थानीय बासिन्दाले निरन्तर विरोध जनाउँदै आएका छन्। 

बौद्ध-जोरपाटी-साँखु-सुन्दरीजल मूल सडकको दूरावस्थाविरुद्ध राजनीतिक दलका नेतासहित त्यस क्षेत्रका विभिन्न पेशा, व्यवसायमा आबद्ध प्रतिनिधिहरू सडकमा ओर्लेका छन्। नागरिक दबाब अभियानको नेतृत्वमा शुरु भएको आन्दोलनमा स्थानीय बासिन्दाले पूर्ण ऐक्यबद्धता जनाएका छन्। 

वर्षौंदेखि जीर्ण सडकका कारण आफूहरूले कष्ट बेहोरिरहँदा पनि सरोकारवाला निकाय मूकदर्शक बनिरहेको स्थानीय बासिन्दाको गुनासो छ। 



जोरपाटी चोकमा आइतबार आयोजित विरोध सभामा नागरिक दबाब अभियानका संयोजक दीपकसिंह भण्डारीले उक्त सडक खण्ड राजमार्ग नभई काल मार्गमा परिणत भएको बताए।

कहीं कतैबाट आफ्नो समस्या सुनुवाइ नभएपछि बाध्य भएर सडकमा ओर्लिनु परेको उनले बताए। अभियानका सह-संयोजक कुमारराज सुवेदीले एक्काइसौं शताब्दीमा पनि महानगरवासी नरकीय जीवन बिताउन बाध्य हुनु ठूलो विडम्बना भएको बताए। 

आम नागरिकको सहनशीलतालाई कमजोरीका रूपमा नलिन सुवेदीले सरोकारवाला सबैलाई चेतावनी दिए। सडक निर्माण नभएसम्म दबाबमूलक कार्यक्रम सञ्चालन गरिरहने सुवेदीले जानकारी दिए। 

कांग्रेस युवा नेता तथा महासमिति सदस्य विमल ठकुरीले सडकको अवस्था सुधार्नका लागि निर्वाचित जनप्रतिनिधिहरूले ठोस काम गर्न नसकेको टिप्पणी गरे। सडक सुधारका लागि आफ्नो सक्रिय सहयोग रहने प्रतिबद्धता ठकुरीले जनाए। 

वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरेले अत्यन्त जीर्ण सडकका कारण स्थानीयवासीको दिनचर्या नै नराम्रोसँग प्रभावित भएको बताए।  मानवअधिकार तथा शान्ति समाजका पूर्वअध्यक्षसमेत रहेका अधिवक्ता होमकान्त चौलागाईंले सडकको दुर्गतिका कारण आम मानिसको मौलिक अधिकार नै हनन भइरहेको उदाहरण प्रस्तुत गरे। 

डा. सुवास प्याकुरेलले असारे भाकामार्फत् व्यंग्य गर्दै राजधानीको केन्द्रका जनता वर्षौंदेखि प्रताडित हुनु राष्ट्रिय लज्जाको विषय भएको बताए। एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बौद्ध-जोरपाटीमा जस्तो सडकको विकराल अवस्था अन्यत्र कमै मात्र रहेको बताए। त्यसका कारण राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो हानी पुगिरहेको बताए। 



सामाजिक अभियन्ता देवेन्द्रमानसिंह बस्नेतले सडकको दूरावस्थाले स्थानीय सभ्यतालाई नै नराम्रोसँग गिज्याएको बताए। छहारी क्लबका अध्यक्ष कुमार श्रेष्ठले सडक सुधारका लागि राज्य उदासिन रहेको बताउँदै जनताको समस्या तत्काल सम्बोधन गर्न माग गरे। 

सामाजिक अभियन्ता उद्धव रायमाझीले मूल सडकको स्तरोन्नति नभएसम्म अन्यत्र गरिने विकास अर्थहीन हुने बताए। पत्रकार निर्मल अर्यालले नरकतुल्य सडकका कारण गर्भमा रहेका शिशुदेखि अस्पताल लैजानुपर्ने वृद्धवृद्धा सबै पीडित हुँदासमेत समस्याको ठोस समाधान गर्न कोही अग्रसर नहुनुले लोककल्याणकारी राज्यकै उपहास भएको बताए। 

खुद्रा व्यापार संघका अध्यक्ष रमेश ढकालले जीर्ण सडकका कारण आफूहरूको रोजीरोटी खोसिने खतरा बढेको बताए। 

यसैबीच, सडक सुधार्न थालिएको नागरिक दबाब अभियानमा ‘राम्रो जोरपाटी, हाम्रो जोरपाटी’, समता मानवअधिकार तथा नागरिक समाज, नवदुर्गा महिला समूहलगायत संघसंस्थाले आइतबार ऐक्यबद्धता जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।