शनिबार, वैशाख ८, २०८१

सांगीतिक आभास- 'पला पला जिन्दगीको पात खस्दै गयो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- धुन आफैंमा कोमल हुन्छ । कोमल धुनले नै हृदयलाई छुने गर्छ । धुन हारमोनियमका तारहरूमा फुर्छ । तारहरू हृदयले चलेका औंलाहरूबाट झंक्रित हुँदै जान्छन् । यस्तै झंकारले समाइरह्यो, संगीतकार/गायक आभासलाई ।

सानैदेखि सांगीतिक मोहमा रूमलिएका थिए, उनी । संगीतको हावाले छोएपछि वाम आन्दोलनतिर लागे । त्यहींबाट उनको हृदयमा रहेको संगीत विस्तारै मौलायो । 

'रामेश दाइहरूको संगत गर्न पाएकामा आफूलाई भाग्यमानी ठान्छु,' उनी भन्छन् । अनि 'नोस्टाल्जिक' हुन्छन् । उनी आफूलाई भाग्यमानी मान्छन् । सानै उमेरमा रामेश र मन्जुलहरूको संगत गर्न पाए । वाम आन्दोलनका अगुवाहरूको संगतले उनलाई पुर्‍यायो, अम्बर गुरुङसम्म । 

राष्ट्रिय गीतका संगीतकार अम्बर गुरुङका शिष्य हुन पाए । गुरुङले दिएका मार्गनिर्देशन र आशिर्वचन लिँदै संगीत सिक्न थाले । 

२०४३ सालतिर आभासलाई रामेशले पहिलोपटक अम्बर गुरुङसँग भेटाइदिएका थिए । गुरुङकै कोठामा भेट्न पाउँदा उनी हर्षले गद्गद् भएका थिए । १५ वर्षको किशोर गुरुङसँग संगीत सिक्थे र गीत गाउँथे, वाम रुझानका ।

शुरुमा गुरुङ उनलाई सिकाउन अन्कनाएका रहेछन् । पछि गुरुङबाटै हारमोनियमका भन्दा हृदयका तारहरू चलाउन सिके । गुरुङप्रति नमन गर्दै भन्छन्, 'नेपाली आधुनिक संगीत अम्बर गुरुङकै कारण सार्थक भएको हो ।' 

पुरानै मेलोडीका आभास

नेपाली आधुनिक संगीतका प्रणेता अम्बर गुरुङ । मौलिक, उदार र प्रगतिशील थिए, उनी । त्यही आदर्शलाई आत्मसात गर्दै हिँडिरहे उनी । आफ्ना गीत/संगीतमा उनी पुरानै मेलोडी उठाउँछन् । भन्छन्, 'मेलोडी पुरानै भए पनि कम्पोजिसन नयाँ छ ।'

अहिलेका गीत/संगीतमा प्रयोग हुने बाजाहरू नयाँ छन् । तिनबाट नयाँ रसहरू भित्रिरहेका छन् । लय भने पुरानै मेलोडीमा कम्पोजिसन भइरहेको छ ।

पुरानो पुस्तासँग उनले आफ्नो स्वरको 'स्केल' चिन्न पाए । रागको भाषा बुझ्न पाए । र, अनुशासनको पाठ पढ्न पाए । त्यही पाठले संगीतमा आभास सुवासिला बने ।

त्यतिबेला रेडियो नेपालमा एउटा गीत गाउन वर्षमा एक पटक मौका आउँथ्यो । अम्बरका पालामा गाइने गीतहरू स्वान्त सुखायका लागि थियो । आनन्दका लागि गीत गाउनेहरूसँग संगत गरे, आभासले । 

भन्नेहरूले आभासलाई पुरानै शैलीका मेलोडी उठाए भन्छन् तर उनी त्यसलाई स्वीकार्दैनन् । भन्छन्, 'संगीत परिवर्तनशील हुन्छ । समयअनुसार संगीत नयाँ-नयाँ भएर जन्मिरहेको हुन्छ ।'

संगीतकार अम्बर गुरुङका शिष्य आभास संगीतमै चिन्तन गर्छन् । समाजले बुझ्ने संगीत सिर्जना गर्न चाहन्छन् । उनले सिकेको पाठ नै संगीतमा एकाग्र भएर लाग्नु थियो । त्यही एकाग्रमा उनी हराइरहेका हुन्छन् । 
 
संगीतकार आभास भन्छन्, 'कविता होस् कि संगीत, दुवैमा थिम हुनुपर्छ र पृथक हुनुपर्छ ।'

पला पला जिन्दगीको...

शब्दबिनाको धुन तयार गरेका थिए, आभासले । धुन हारमोनियमको तारमा जन्मिए पनि शब्द जन्मिन गाह्रो भएको थियो । धुनमा शब्द भर्नु आफैंमा जोखिम छ । धुनको भाव बुझेर गीत लेख्नुपर्ने हुन्छ । आभास भन्छन्, 'धुनपछि गीत लेख्नु जटिल काम हो ।'

१५ वर्षको उमेरमा निकालेको धुनबाट बामे सरेका थिए, संगीतमा आभासले । धुन सिर्जना गरेपछिको वर्षदिनसम्म उनले गीतका हरफहरू लेख्ने-मेट्ने गरे । शायद आफूलाई चित्त नबुझेपछि केर्ने-मेट्ने गरेका थिए । संगीतकार आभासले आफैंले लेखेका गीतका हरफहरूलाई केर्दै/मेट्दै गरेर जन्मिएको थियो, पला पला जिन्दगीको पात खस्दै गयो... ।

धुनको भावअनुसार गीत लेख्न सक्नुपर्‍यो । दुवैले बुझ्नु पर्‍यो भन्छन् उनी । धुनले एउटा कुरा भनिरहेको हुन्छ । शब्दले अर्को भनिदियो भने दर्शक/स्रोता हाँस्न सक्छन् । बुझ्ने मान्छेले त्यो थाहा पाउँछ । अहिलेका 'कमर्सियल' गीतको मेलोडी नै तालमेल नमिलेको लाग्छ, उनलाई । 

धुनको भावअनुसार गीत लेख्नुपर्‍यो । 'इन्स्ट्रुमेन्टल म्युजिक' हो भने आफ्नो भाव हुन्छ । उनी भन्छन्, 'कहिले गीतकारले बुभ्mनु पर्‍यो, कहिले संगीतकारले ।'

शब्दले गम्भीरता बताइरहेको हुन्छ तर धुन हल्का भइदिन्छ । 'त्योचाहीं तालमेल नभएको हो,' उनी भन्छन्, 'नमिलेकाहरू पनि चलेका छन् बजारमा । त्यस्ता गीत धेरै दिन टिक्दैनन् ।'

जिन्दगीको घुम्तीमा फत्तेमान

आभासले फत्तेमानसँग काम गर्ने मौका पाए । र, फत्तेमानको जिन्दगीमा जम्मा एउटा एल्बम निकालियो, जसका सबै गीत आभासले नै 'कम्पोज' गरेका छन् ।

फत्तेमान उनलाई साँच्चैको गायक लाग्छन् । उनका आवाजमा मुग्ध हुन्छन् । उनको जीवनमा आभास आए एल्बम बनेर । ६ वर्षको संगतमा आठ वटा गीतहरूको एल्बम निकाले, 'फत्तेमानको सत्तरीमा' । 

नेपालयको 'पलेंटी 'आर सालामा'मा उनी धेरैपटक गुन्जिसकेका छन् । 'घिन्ताङमा घिन्ताङ' बोलको गीतमा पलेंटीमा आभासले हारमोनियम बजाएका छन् । धेरैले उनलाई फत्तेमानको 'फ्लेबर' समातेको आरोप पनि लगाउँछन् । तर, उनी त्यसलाई स्वीकार्दैनन् । 

'आर साला'मा फत्तेमानसँग उनी धेरैपटक झुल्केका छन् । भन्छन्, 'अघिल्ला पुस्ताको मेलोडी अहिलेको पुस्ताले उठाउनै सकिरहेको छैन ।' 

गम्भीर संगीत

हँसिला आभास गम्भीर छन् । त्यति नै गम्भीर संगीतमा पनि छन् । र, संगीतलाई माया गरिरहन्छन् । उनी भन्छन्, 'शब्दमा स्वाद हुनुपर्छ । रायम नमिले पनि हुन्छ । युगौं बाँचिरहने खालको गीत-संगीत जन्मिनुपर्छ ।'

आफ्नो स्वाद परेको शब्दलाई स्वीकार्छन् । लेखकका कविता कृतिहरूबाट पनि शब्द छान्छन् । 'अफ बिट' गीत मन पराउँछन् । श्रवण मुकारुङको 'जाडो' कवितालाई आभासले कम्पोज गरे । तीर्थ श्रेष्ठका छोटा कविता पनि कम्पोज गरेका छन् । 

आफूलाई मन पर्ने स्वादमा उनको बढी झुकाव हुन्छ । उनी भन्छन्, 'मान्छेपिच्छेको स्वाद अनेकलाई अनेक लाग्न सक्छ । मलाई स्वाद पर्‍यो भने कविता पनि कम्पोजिसन गर्छु ।'

तीन वर्षअघि आफूले सिर्जना गरेको लामो गम्भीर काव्य–संगीतलाई उनले 'क्यान्टाटा' शैली नाम दिए । यो कर्खाजस्तै लामो सिर्जना हो । उनी यस्ता सिर्जनालाई परम्परागतका साथै विश्व शैलीको मिश्रण ठान्छन् । यो एक प्रकारको कथा बोकेको सांगीतिक सिर्जना थियो, जसमा ५/६ वटा कविता पनि समाविष्ट छन् । खासमा, उनले यो गन्धर्वहरूको लोकलय र पश्चिमा शैलीबाट प्रभावित भएर सिर्जना गरेको नयाँ रचना थियो । 

गायिका शान्ति ठटाल र संगीतकार अम्बर गुरुङले पनि काव्य संगीत सिर्जना गरेका छन् । ती पुराना रचनाबाट आफू प्रभावित भएको आभास बताउँछन् । धेरै वाद्यवाधनहरू एकसाथ जमघट गरेर उनले नेपालयको आयोजनामा एक घण्टाको कन्सर्ट गरे । 

र, पश्चिमा संगीत शैलीको 'क्यान्टाटा' लाई नाम दिए, 'निर चरीको कोरस' । लामो-लामो कर्खा पनि गरे । परम्परागत गीतमा आए पनि उनी त्यसलाई पश्चिमा सिर्जनशीलता ठान्छन् । 

पश्चिमा संगीतमा उनले कथा बनाए । ५/६ वटा कवितासहित गीत बनाए । गन्धर्वहरूको लोक लयबाट प्रभावित भएर नयाँ सिर्जना गरे । कतिले उनलाई झलकमान गन्धर्वको मेलोडी 'कपि-पेस्ट' गरे पनि भने । तर, उनी ती कुनै आरोप स्वीकार्दैनन् । 

क्यान्टाटालाई काव्य संगीतको रूपमा पनि हेर्छन् । डीभीए कलेजको हलमा कन्सर्ट भएको थियो । १५ जनाले गाएका थिए । अनि, २० जनाले बाजा बजाएका थिए । एउटा चरो थियो, जसले माथि हेरिरहेको थियो । गम्भीर 'थिम'मा तयार भएको काव्य संगीतमा कविता पनि बाचन हुन्थ्यो । त्यसले थप नयाँपन दिएको थियो । 

टिमलाई नेपालयले जुटाएको थियो । त्यसका लागि उनलाई गाह्रो परेन । यस्तो संगीत नेपाली फिल्ममा किन आइरहेको छैन भन्ने उनलाई चिन्ता छ र चिन्तन गरिरहेका पनि छन् । 

एउटा कवि । कविता पनि बाचन गर्छन् । गायनमा मेलोडी भरे । चराहरू झैं संगीतमा बाजा उडाए । हाम्रो लोक शैलीअनुसार तयार पारेर 'इलेमेन्ट'को रूपमा उनले विश्वव्यापी बाजाहरू पनि बजाए । पश्चिमा संगीतमा 'इलिमेन्ट्स' हालेर नेपाली धुन पनि तयार पारेका छन् । 
'लोकगीत मेरो पनि होइन, तिम्रो पनि होइन । हामी सबैको हो । साझा चिजको सदुपयोग गरिनुपर्छ ।'

संगीतमा कवि आभास

साहित्यको विद्यार्थी पनि हुन्, आभास । कविता कोर्छन् । कविता बाचन र श्रवणदेखि पुस्तक विमोचनसम्म उनको उपस्थिति पाइन्छ । 

कविता रुचाउने भएकाले एक पब्लिकेसनसँग नजिक छन् । नेपालयले आफूलाई चाहिएका साहित्य बुझ्ने संगीतकार भेट्यो, आभासलाई । अचेल उनी नेपालयका बैठकहरूमा धुन र कविताका कुरा गरिरहेका भेटिन्छन् ।

डायरी र कलम हारमोनियममा राखेर तारमा हात राख्दै उनी शब्द फुराउँछन् । कविता योजना बनाएर लेख्न मन पराउँछन् । कहिले भने कविताले नै योजना बनाएर उनलाई बोलाउँछ । र, आधा रातमा पनि उनी कविता लेखिदिन्छन् । 

त्यसरी लेख्दा उनी रमाउँछन् । संगीतमा रियाजले मात्रै धान्दैन भन्छन् । कविता रचेर मात्रै चित्त बुझ्दैन उनलाई । भन्छन्, 'कविता होस् कि संगीत दुवैमा थिम हुनुपर्छ र पृथक हुनुपर्छ ।'

उनी दुवै विधामा उत्तिकै लगावका साथ हिँडिरहेका छन् । अहिले उनी बालबालिकालाई संगीतबाट पढाउने गीत सार्वजनिक गर्ने तरखरमा छन् । बाल गीत अहिलेका केटाकेटीको माग हो । र, पढाउने उत्तम विधि पनि । त्यसमा कार्टुन भिडियोसहितको म्युजिक छ । आभास भन्छन्, 'यसले शिक्षालाई थप सहयोग गरेको महशुस हुनेछ ।'

शब्द तब जीवन्त लाग्छन्, जब हृदयले पढ्छ । त्यही हृदयमा गुन्जने शब्दलाई उनी लय र बाजाहरूमा भर्छन् । त्यस्ता गीत जुग बाँच्नु पर्छ भन्ने उनको जिकिर हो । सिर्जना दिगो हुन्छ । र, ऐतिहासिक बनाउन आफूले कुनै कसर नछोड्ने उनको सोच छ । भन्छन्, 'लिभिङ आर्ट हो संगीत ।' 

संगीत पनि जहिल्यै फेरिइरहन्छ । मित्रसेनदेखि अहिलेसम्म हेर्दा परिवर्तन भइरहेको छ । जीवन जगतजस्तै संगीत पनि फेरिइरहन्छ । 

करोडको व्यापार चाहन्छन्, फिल्मकर्मीहरू । यस्तो संगीतलाई फिल्ममा लगाउन लगानी ठूलो लाग्छ । त्यस किसिमका काम हुन सोचेर मात्रै भएन, व्यावसायिक सफलता पनि पाउनुपर्‍यो । संगीत सम्पन्नतासँग पनि जोडिन्छ । व्यक्तिगत सम्पन्नता र देशको सम्पन्नतासँग पनि संगीत जोडिएको हुन्छ । गरिबीमा पनि सिर्जना फुर्छ । 

चोरी कि सिर्जनशीलता ?

'पैसाका कमाउनका लागि संगीतमा लागेको होइन म,' आभासको गम्भीरता प्रकट भयो मुखारविन्दबाट । सिर्जनशील संगीत कम र 'कमर्सियल' संगीत हाबी भएको बजारतिर नियाल्छन्, उनी । व्यावसायिकताले कलाकारलाई व्यापारीजस्तो बनायो । पुरानै मेलोडीहरूलाई भाँचेर चलिरहेको छ, पछिल्लो सांगीतिक व्यापार । 

गम्भीर जमात प्रायः लुप्त हुन्छन्, बजारमा ती सुषुप्त पनि छन् । पैसा कमाउनुपर्‍यो, दर्शक/स्रोता बढाउनुपर्‍यो । यस्ता कुराले कलाकार 'कमर्सियल' भएका छन् । उनी भन्छन्, 'म आफैं क्रिएटर हुँ । तर, मलाई चित्तचाहीं बुझ्दैन । सिर्जनशीलता छ भने आफैं सिर्जना गरौं ।'

सबै जातजातिको आफ्नै किसिमको परम्परागत संगीत छ । सिर्जना गर्न प्रतिभा चाहिन्छ । सँगसँगै प्रतिभालाई विकास गर्न अध्ययन गर्नुपर्छ । अध्ययन गरेर कम्पोज गर्नुपर्‍यो । शिक्षकहरूले सिकाइरहेका छन् । 

विद्यार्थी जन्मिरहेका छन् । निरन्तर सिर्जना गर्न मान्छेको 'नेचर' पढ्नुपर्‍यो । 'नयाँ समुदाय पढ्नुपर्छ,' उनी भन्छन्, 'संगीतको क्यारेक्टर पनि पढ्नुपर्छ ।'

आभासलाई सुन्ने जमात बढिरहेको छ । यसमा सामाजिक कारण देख्छन्, उनी । सुन्ने जमात सानो छ त के भो, यो विविधताले भरिएको छ । गीतहरू पनि विभिन्न भाषामा आइरहेका छन् । समाजले संगीतलाई सोच्दैन । 

लोक संगीतलाई साझा र सिर्जनशील मान्छन्, आभास । तर, त्यसलाई भाँचभुच गर्न नहुने ठान्छन् । 

गीत नक्कल गर्नुलाई सिर्जनशीलता मान्दैनन् । 'लोकगीत मेरो पनि होइन, तिम्रो पनि होइन । हामी सबैको हो,' उनी भन्छन्, 'साझा चिजको सदुपयोग गरिनुपर्छ ।' कपि-पेस्ट उनलाई गलत लाग्छ । अध्ययन कम भएकाहरूले त्यसो गरिरहेको मान्छन् । आफूलाई समालोचक ठान्दैनन्, आलोचक पनि हुन चाहँदैनन् । तर, उनलाई कपि-पेस्ट मन पर्दैन । कत्ति पनि मन पर्दैन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।