बिहीबार, वैशाख १३, २०८१

विश्वकपको उपहार : घर-घरमा नयाँ र ठूला टीभी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- ललितपुर लुभुकी लक्ष्मी महर्जनले स्थानीय पसलमा नयाँ टीभी खरिद गर्न १५ दिन कुर्नुपर्‍यो । समयमै नआए स्टक सकिने पसलेको कुरा सुन्दा उनी अचम्ममा परिन् । महर्जनले नेपाल समयसँग भनिन्, 'विश्वकप पारेर टीभी किन्न खोजेको त्यो पनि पाउनै गाह्रो ।'

उनको परिवार नै विश्वकपको क्रेजी छ । परिवारका सदस्यहरूले आ-आफ्ना टिम छानेका छन्, कोही अर्जेन्टिनाका, कोही ब्राजिलका त कोही अरू नै मुलुकका । 'नयाँ र ठूलो टीभीमा खेल हेर्नुको मजा नै छुट्टै,' उनी भन्छिन् । 

रुसमा फुटबलको महाकुम्भ जारी रहँदा नेपालमा पनि त्यसको सरगर्मी उचाइमा छ । र, त्यसको प्रभाव बजारमा पनि देखिन्छ । फुटबलका पारखीहरू ठूलो स्क्रिनमा खेल हेर्न आतुर देखिन्छन् । एक्कासी बढेको माग पूरा गर्न टीभी कम्पनीहरूलाई हम्मे परेको छ । 

हरेक चार वर्षमा विश्वकपको ज्वरो यसरी चढ्छ कि बालबालिकादेखि वृद्धवृद्धासम्म आफूले रुचाएका टिमको जर्सी लगाएर सरगर्मीमा सहभागिता जनाउँछन् । आ-आफ्ना काम र जिम्मेवारी पूरा गर्दै सबै विश्वकपकै चर्चा गरिरहेका भेटिन्छन् । 

सामाजिक सञ्जालहरूका 'वाल' विश्वकपकै चर्चाले रंगिएका छन् । त्यससँगै सोरुमहरूमा टीभी खरिदकर्ताको भीड लागेको छ । 

यही मौकामा रेस्टुराँहरूले पनि ठूलो स्क्रिनमा विश्वकप हेर्ने सुविधा दिएर ग्राहक तानिरहेका छन् । नयाँ बानेश्वरको रेस्टुराँ 'वन्डरल्यान्ड' तिनैमध्येमा पर्छ । टीभी कम्पनी सामसुङले उक्त रेस्टुराँलाई प्रोजेक्टर नै उपलब्ध गराएको छ । यस्तै प्रोजेक्टर अरू टीभी कम्पनीले पनि रेस्टुराँहरूलाई दिएका छन् । 

घर-घरमा नयाँ टेलिभिजनको रौनक बेग्लै छ । परिवार बसेर विश्वकपमा रमाइरहेको दृष्य नौलो लाग्न छाडेको छ । युवामाझ विश्वकप 'नाइट स्टे' चर्चामा छ अहिले । त्यसमा पनि ठूला स्क्रिनका टीभी र प्रोजेक्टर लोकप्रिय छन् । 

लुभुकै निरज साउदले पनि विश्वकपअघि नै घरमा ४८ इन्चको सोनी टीभी खरिद गरेका छन् । साथीभाइ बोलाएर घरमै विश्वकपका खेलहरू हेरिरहेका छन् । 

ललितपुर सुन्धाराकी उर्मिला ताम्राकार ब्राजिलकी समर्थक हुन् । उनले ब्राजिलकै खेल हेर्न ४३ इन्चको टीभी खरिद गरेकी छन् । उनका पति डिपु दिनभरको थकान भुलेर राति विश्वकपमा रमाउँछन् । उनी भने पोर्चुगलका समर्थक हुन् । 

अघिल्लो विश्वकपमा धेरैको रोजाइ ३२ इन्चसम्मका स्क्रिन हुन्थे । यसपालिको कुरा फरक छ । पारखीहरूको रोजाइमा ४३, ४८ र ५५ इन्चका स्क्रिन परेका छन् ।

काठमाडौं न्युरोडमा विद्युतीय उपकरणका बिक्रेता सञ्जय महर्जनको पसलमा टेलिभिजनको स्टक सकिएको छ । ग्राहकलाई पर्खाएर उनी टीभी जिम्मा लगाइरहेका छन् । 

फुटबलका पारखीहरू ठूलो स्क्रिनमा खेल हेर्न आतुर देखिन्छन् । एक्कासी बढेको माग पूरा गर्न टीभी कम्पनीहरूलाई हम्मे परेको छ ।


थरिथरिका अफर

ललितपुर कुमारीपाटीमा एलजीको सोरुमका सञ्चालक आईआर शाक्यका अनुसार विश्वकपको रौनक हेरेर टेलिभिजन कम्पनीहरूले वारेन्टी अवधि पनि बढाएका छन् । 'विगतमा एक वर्षको वारेन्टी पाइन्थ्यो, अहिले बढेर चार वर्ष पुगेको छ,' उनी भन्छन् । 

शाक्यका अनुसार ३२ देखि ४३ इन्चसम्मका टेलिभिजनको बिक्री बढी छ । 'मूल्य भने बढेको छैन,' शाक्य भन्छन् । एलजीले लक्की ड्रबाट हरेक साता एक जनालाई टीभी पुरस्कार दिने व्यवस्था पनि छ । 

एलजीकै सेल्स प्रमुख किरण बस्नेत भन्छन्, 'विश्वकप भनेकै टेलिभिजन र जर्सीको व्यापार हो । सामान्य दिनमा भन्दा ३-४ गुणाले व्यापार बढेको छ ।' उनी आफैं भने कुनै देशका समर्थक होइनन् । जसले राम्रो प्रदर्शन गर्छ, उसैको जित होस् भन्ने चाहन्छन् । 

कुमारीपाटीकै सामसुङ सोरुमबाट दैनिक १५ थानसम्म टीभी बिक्री भइरहेको छ । सामसुङले पनि दुई वर्षको वारेन्टी दिएको छ । 

विश्वकपको अवसरमा सामसुङले हरेक टीभी खरिदमा २७ प्रतिशत 'डिस्काउन्ट' अफर दिएको छ । 'गिफ्ट भौचर' र 'लकी ड्र'मार्फत् विजेतालाई पुरस्कार दिने व्यवस्था पनि छ । उक्त सोरुमका सञ्चालक दीपक लाठ ब्राजिलका समर्थक हुन् । उनका छोरा भने अर्जेन्टिनाका फ्यान हुन् । 

काठमाडौं सोह्रखुट्टे नयाँबजारको 'फरएभर इलेक्ट्रोनिक्स' सोनी र स्काइवर्थको डिलर हो । त्यसका सञ्चालक नारायणप्रसाद आचार्यका अनुसार पहिलेको विश्वकपको तुलनामा टीभीका ग्राहक शत प्रतिशत बढेका छन् । अधिकांश ग्राहकको रोजाइमा ४३ र ४८ इन्चका टीभी रहेको आचार्यले बताए । सोनीले २० देखि २८ प्रतिशत 'क्यास डिस्काउन्ट' अफर दिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्