काठमाडाैं- संयुक्त राष्ट्रसंघले नेपालबाट थप ७ सय शान्ति सेना थप्ने तयारी गरेको छ । नेपाली सुरक्षाकर्मीका काम गर्ने शैलीलाई रुचाएको राष्ट्रसंघले थप ७ सय नेपाली फौज शान्ति सेनामा थप गर्ने तयारी गरेको हो ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उप महासचिव पिएरे ल्याक्रोइक्सले नेपालबाट शान्ति सेना थप गर्ने तयारी भएको जानकारी गराएका हुन् ।
उनले द हिमालय टाइम्ससंगको अन्तरवार्तामा शान्ति सेना थपबारे चाडै निर्णय हुने बताए । उनले शान्ति सेनामा महिलाको सहभागिता बढाउने विषयमा पनि संयुक्त राष्ट्रसंघले काम थालेको जानकारी दिए ।
हाल नेपालबाट ५ हजार ५ सय ११ जना सुरक्षाकर्मी शान्ति सेनामा कार्यरत छन् । जसमो ४ हजार ६ सय ६९ नेपाली सेना छन् भने ६ सय ८८ जना नेपाल प्रहरी छन् । यस्तै १०० जना स्टाफ अफिसर छन् भने ५४ जना सैन्य विज्ञ रहेका छन् ।
नयाँ थनिने करिब ७ सय जनालाई सेन्ट्रल अफ्रिकन रिपब्लिकमा खटाइने उपमहासचिव ल्याक्रोइक्सले जनाएका छन् । नेपालबाट गएका शान्ति सेनाहरु हाल १४ देशमा खटिएका छन् । नेपाल संयुक्त राष्ट्रसंघका लागि शान्ति सेना उपलब्ध गराउने छैँटौ ठूलाे देश हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४