काठमाडौं– ‘माइली ममी, मलाई चम्चा दिनु न । माइली ममी, मेरो खाना फुक्दिनु न । माइली ममी, मलाई गर्मी भयो ।’ उनको कानमा सधैं गुञ्जिन्छन्, यी लालित्य बोली ।
उनी अर्थात् बालमन्दिरकी माइली आमा । नाम हो, सानु माइली लामा । ४० वर्षदेखि नक्सालस्थित बालमन्दिरमा आश्रित बालबालिकाको स्याहारमा सक्रिय छिन् उनी । बालबालिकाले नै उनलाई नाम दिएका हुन्, माइली आमा।
परिवारले विवाहका लागि दबाब दिए, १५ वर्षमै आमाको ममता बाँड्न थालेकी सानु माइली लामालाई बाबु–आमाको आग्रहले पटक्कै छोएन ।
बच्चालाई लुगा लगाइदिने र खाना खुवाउने अनि सफा सुग्घर राख्ने उनको जिम्मेवारी नै हो । एक बालकले स्विटर लगाइरहेको देखिन्, भित्र सर्ट लगाएको देखेपछि स्विटर खोलिदिइन् । अर्का बालकको नाकमा झुण्डिएको सिंगान पुछ्न उनका हात लम्किए ।
बालबालिकाको लालनपालनमा हरदम तयार रहने उनका लागि उनीहरू सबै आफ्नै कोखबाट जन्म दिएका सन्तानभन्दा कत्ति पनि फरक लाग्दैनन् ।
१५ वर्षमै आमाकरिब १५ वर्षकी थिइन्, सिन्धुपाल्चोकबाट आफन्त भेट्न काठमाडौं आएकी थिइन् । उनका भिनाजुकी फुपूले उनलाई सोधिन्, ‘बालमन्दिरमा काम गर्ने हो ?’ उनले पनि ‘गर्छु’ भनिदिइन् ।
त्यही दिन उनको जीवनले नयाँ मोड लियो, जसलाई उनी बहुमूल्य ठान्छिन् । आमा र ममता अमूल्य शब्द हुन् भन्ने उनलाई त्यति सानो उमेरमा थाहा हुने कुरै भएन । तर, विस्तारै स–साना अवोध बच्चाका रुवाइ र मायाले उनलाई चुम्बकले फलामलाई तानेझैं तान्यो ।
उद्देश्यबिना काठमाडौं आएकी उनी त्यसपछि बालमन्दिरभन्दा पर पुग्न सकिनन् । शायद, बाल मन्दिरले उनको जीवनको गन्तव्यमा लक्ष्मण रेखा कोरिदियो ।
‘एक शोक, एक भोग,’ मुन्टो बटार्दै बेवास्ताको भाकामा उनले भनिन् । आफ्नो एक्लो ज्यान जे भए पनि आफैंलाई हुन्छ, अरूको चिन्ता हुँदैन ।
उमेर छँदा उनलाई विवाहको सोच पनि नआएको होइन । तर, त्यो क्षणिक मात्र रह्यो । बालबालिकाबीचमा रमाउने संसार नै उनका लागि काफी बन्यो ।
उद्देश्यबिनै बालमन्दिर पुगेकी उनलाई त्यसले जीवनको गन्तव्यमै लक्ष्मण रेखा कोरिदियो । र, ४० वर्षदेखि निरन्तर आमाको भूमिकामा छिन् ।
परिवारबाट विवाहको दबाब प्रशस्तै आयो । तर, उनलाई बाबु–आमाको आग्रहले तानेन । किनभने, उनी बालबालिकाको मायामा एकोहोरिइसकेकी थिइन् ।
जीवनको ४० वर्ष कुनै पेसामा निरन्तर रहँदा मानिस ओहोदामा पुग्छ । निजामति कर्मचारीको यात्रा मन्त्रालयको सचिवसम्म पुग्ला । इन्स्पेक्टरबाट शुरु भएको प्रहरीको उचाइ महानिरीक्षक (आईजीपी)सम्म पुग्छ, ३० वर्षभित्रै । शिक्षण पेसामा लागेको मानिस प्राध्यापक बनिसक्छ ।
सामान्य व्यापारी पनि साहु, महाजन बनिसक्छ । ‘माइली आमा’को ४० वर्षे यात्राले आमाकै रूपमा उचाइ चुमेको छ । आमा शब्दको कुनै ओहोदा हुँदैन । फरक यति छ, उनलाई आमा भनेर बोलाउनेहरू ठूलो संख्यामा छन् ।
भनिन्छ, जब एउटा बच्चाको जन्म हुन्छ, तब एउटी आमाको पनि जन्म हुन्छ । त्यसअघिसम्म उनी केवल महिला या श्रीमतीको भूमिकामा रहन्छिन् । माइली आमा प्राकृतिक रूपमा आमा बनिनन्। त्यसका लागि वैवाहिक यात्रा नै तय गरिनन् ।
उनले त अनाथ बालबालिकाका लागि ममताको पछ्यौरीले अभिभावकत्वको आभास दिलाइन् । ती सबैका लागि उनी भगवान्भन्दा पनि श्रेष्ठ छिन् । ५५ वर्षको उमेरमा अब उनी ‘माइली आमा’बाट अर्कै परिचयको गोरेटो पछ्याउने मनस्थितिमा पनि छैनन् । र, मायाको जालोबाट फुत्किन प्रयास गर्ने सोच पनि छैन, उनको ।
बच्चासँग बच्चाजस्तैकहिलेकाहीं राति निन्द्रा लाग्दैन रे, उनलाई । मनमा अनेक तर्कनाले पौडी खेल्छन् । बच्चाहरू कहिलेकाहीं झगडा पनि गर्छन् । उनीहरूलाई सम्हाल्दा सम्हाल्दै उनमा बच्चाकै जस्तो व्यवहार प्रकट हुन्छ ।
त्यतिबेला उनलाई साह्रै चित्त दुख्छ रे । आफ्नै सन्तान भएको भए कस्तो हुन्थ्यो होला ? उनीहरूलाई कसरी हेरचाह गर्थें होला ? उनीहरूलाई राम्रो भविष्य दिन्थें होला ? आफ्नो पनि एउटा छुट्टै संसार हुन्थ्यो होला ।
एक्लै बस्दा कहिलेकाहीं यस्ता सोचहरूको बादलले उनको मस्तिष्कलाई ढपक्क ढाकिदिन्छ ।
‘ओई, चप्पल लाऊ,’ केही टाढा खेलिरहेको बच्चालाई खाली खुट्टा हिँडेको देख्नेबित्तिकै उनी कराइन् । कुराकानीका क्रममा पनि उनको ध्यान आसपास खेलिरहेका बालबालिकातिरै बढी थियो । उनको मातृ वात्सल्य छताछुल्ल पोखिएको थियो, बाल मन्दिरभरि ।
प्राकृतिक रूपमा आमा बनेकाहरू सीमित बालबालिकाका आमा बनेका हुन्छन् । माइली आमालाई भने धेरै सन्तानकी आमा बन्ने सौभाग्य दिएको छ । बाल मन्दिरले उनलाई एक सामान्य किशोरीबाट जिम्मेवार आमाको अनुभव दिएको छ ।
बाल मन्दिरमा आश्रित बालबालिकाले कहिलेकाहीं आफ्नो परिचय खोज्छन्, आफ्ना बाबुआमा खोज्छन् । त्यतिबेला उनको मनको बह पोखिन्छ, बलिन्द्र धारा आँशुको रूपमा ।
बालबालिकालाई भेट्न कुनै बेला आफन्तहरू आइपुग्छन् । आफन्तको मायाको संसार अनुभूत गर्न नपाएका उनीहरू फन्किन्छन् र भेट्दिनँ भन्छन् । त्यतिबेला उनीहरूलाई फकाउने पनि माइली आमा नै हुन्छिन् ।
कुनै रात बच्चाहरू रुन्छन् । त्यतिबेला कतिबेला सुत्न पाइन्छ भन्ने निश्चित हुँदैन । जीवनका धेरै रात उनले आफ्नो निन्द्रालाई अवोध बालबालिकाका लागि समर्पित् गरेकी छन् ।
नाम याद छैन बाबुकोसिन्धुपाल्चोक मेलम्चीको सामान्य किसान परिवारमा जन्मिएकी हुन्, उनी । बाबुआमाकी कान्छी सन्तान उनका एक दाजु र एक दिदी छन् ।
धेरै प्रयत्न गर्दा पनि पिताको नाम याद गर्न सकिनन् । आमाको नाम भने फ्याट्ट भनिन्, पेम्बा लामा । ‘उहाँहरू दुवैको स्वर्गवास भइसक्यो,’ उनी भन्छिन् । बेला–बेलामा दाजु र दिदीलाई भेट्न जान्छिन् ।
बाल्यकालको सम्झना खासै रहेनछ । घरको सम्झना नआउने होइन । कान्छी छोरी भएकाले प्रशस्त माया पाएकी थिइन् । उकाली–ओराली, हिमालको काखमा हुर्केकी, घाँसपात गरेको, ल्होसारमा आफन्त र साथीभाइमाझ रमाइलो गरेको सम्झना ताजै छ, दिमागमा ।
उनी जन्मेको समय नै त्यस्तो थियो, छोरी मान्छेले पढ्नु हुँदैन भन्थे । त्यसैले उनले पनि कक्षाकोठाको दैलो टेकिनन् ।
छोराछोरीहरूकी तीर्थमाता तीर्थका दिन धेरैको गन्तव्य हुने गर्छ, मन्दिर । दिवंगत आमाको सम्झनामा पूजा अर्चना गर्न । आमा जीवित भएकाहरू एक दिन भए पनि उनकै लागि समर्पित् गर्छन् ।
माइली आमाले हुर्काएका सन्तानहरूको कुरा बेग्लै हुन्छ । भक्तपुर बस्दै आएकी रेखा खड्का उनीहरूमध्येकी हुन्, जो विहान नुहाइधुवाइ गरेर पहिले बाल बन्दिर पुग्छिन् । र, माइली आमाको दर्शन गर्छिन् । उनका लागि माइली आमा कुनै भगवानभन्दा कम छैनन् ।
त्यसदिन माइली आमाको दिनचर्या एकाएक व्यस्त हुन्छ । आफूले हुर्काएका छोराछोरीलाई आशिर्वाद दिन उनलाई भ्याइनभ्याइ हुन्छ ।
‘उनीहरूलाई देख्दा अर्कै खुशी लाग्छ । खोइ के हुन्छ, मन नै फुरूंग हुन्छ । उनीहरूको अनुहार हेर्न पाउँदा आँखाभरि आँशु छचल्किन्छ,’ उनी भन्छिन्, ‘गिफ्ट या लुगाकपडा ल्याइदिन्छन् । नल्याऊ भन्दा पनि मान्दैनन् ।’
त्यसदिन आमा र सन्तानहरूको पुनर्मिलन हुन्छ । उनीसँग दिनभर बसेर कुरा गर्छन् । माइली आमाबाट पाएको ममता, चकचक गर्दा खाएको गाली र पिटाइको स्मरण गर्छन् । जीवनको सबैभन्दा ठूलो उपलब्धि यही लाग्छ, उनलाई ।
उनको सम्झनामा छन्, राजा वीरेन्द्र, रानी ऐश्वर्य र युवराज दीपेन्द्र । बाल दिवस र युवराज दीपेन्द्रको जन्मोत्सव (असार १३)मा बाल मन्दिर परिसर झकिझकाउ बनाएर सजाइन्थ्यो ।
राजा–रानीलाई सबैले प्रत्यक्ष भेट्न र साक्षात्कार गर्न पाउँथे । राजा वीरेन्द्रको वंश नै विनास गरेको दरबार हत्याकाण्डपछिका धेरै दिन बाल मन्दिरमा सन्नाटा छाएको थियो ।
नरमाइला पल बच्चाहरूलाई धर्मपुत्र, धर्मपुत्री बनाएर विदेश लैजाने बेलामा माइली आमाका आँखा लामो समय ओभाउँदैनन् । आफ्नो रेखदेखमा हुर्किएका सन्तानको भविष्यको चिन्ताले उनलाई पिरोल्छ । मन त्यसै–त्यसै अमिलो भएर आउँछ ।
जब उनीहरू हात हल्लाउँदै बाल मन्दिर परिसरबाट बाहिरिन्छन्, उनलाई धेरै दिन शून्य लाग्छ आफ्नो संसार ।
उनीहरू कमै फर्किएर आउँछन् । हलक्क बढेर खाइलाग्दो ज्यान बनाएका आफ्ना सन्तानको अनुहार देख्नु माइली आमाका लागि दुर्लभ बन्छ ।
१२ वैशाख ०७२ को विनासकारी भूकम्पको क्षण उनलाई सबैभन्दा कहालीलाग्दो लाग्छ । त्यतिबेला उनी बालबालिकासहित भवनभित्रै थिइन् । सबै जनामा एकाएक रुवाबासी चलेको थियो ।
बाल मन्दिरकै ठूलो खाली चौरमा टेन्ट गाडियो । लगातारका पराकम्पनमा अवोध बालबालिकाले आफूलाई समाउँदै रोएको अहिलेजस्तो लाग्छ, उनलाई ।
साँच्ची तपाईं कति तलब पाउनु हुन्छ ? संवाददाताको प्रश्नमा उनले जवाफ दिइन्, ‘आठ हजार आठ सय ।’ त्यही तलब हो, उनको एक्लो ज्यानको सहारा ।
अब उमेर ढल्किँदै गएको छ । बलियो बांगो हुञ्जेल त उनलाई केही चिन्ता थिएन, हातखुट्टा बसेपछि के गर्ने होला ? उनको मनमा यही चिन्ता छ, अहिले ।
बाल मन्दिरले नै उनीहरूको आवास र भैपरी आउने व्यवस्था मिलाएको उपसचिव बालकृष्ण डंगोल बताउँछन् । उनका अनुसार उपदानवापतको पैसा हुञ्जेल त्यसैबाट बेहोरिने र त्यसपछि बाल मन्दिरले आर्थिक सहयोग गर्नेछ ।
माइली आमाबाट माया पाउनेहरू उनले लालनपालन गरेर हुर्काएका सन्तान मात्र छैनन्, उनीभन्दा कम उमेरका आमाहरू पनि छन् । १७ वर्ष बाल मन्दिरमा बिताइसकेकी निर्मला भन्छिन्, ‘उहाँ साँच्चै आमाको स्वरूपमा हुनु हुन्छ ।’
कुराकानी बिट मार्दै गर्दा अपरान्हको दुई बज्दै थियो । उनले बिट मार्ने औपचारिकता पूरा गर्न पाइनन् । भोकाएका बालबालिका अर्थात् उनका सन्तान उनको वरिपरि देखा परे । उनी हतारिएर डाइनिङ टेबलतिर दौडिइन् । भित्रबाट आवाज आइरहेको थियो, ‘माइली आमा, मलाई चम्चा दिनु न ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४