काठमाडौं- दैनिक काम थाती राखेर भए पनि विश्वकप, २०१८का खेल नछुटाई हेरिरहेका छन्, अंग्रेजीका प्राध्यापक तथा नाटककार डा. अभि सुवेदी । यो विश्वकपले नयाँ 'टेस्ट' दिइरहेको उनको बुझाइ छ ।
चार वर्षको अन्तरमा आउने विश्वकपले नयाँ खेलाडी अवश्य जन्माएको छ । र, नयाँ देशको सहभागिता पनि बढाएको छ । डा. सुवेदीलाई विश्वकपले आकर्षित् गर्नुका कारण पनि तिनै हुन् ।
राम्रा मानिएका खेलाडीहरूको मैदानको प्रस्तुती उत्कृष्ट बन्न नसकेको गुनासो व्यापक छ, प्रशंसकमाझ । डा. सुवेदीलाई भने अनौठो लागेको छैन । भन्छन्, 'क्लबहरूमा खेल्न थालेपछि खेलमा परिवर्तन आइहाल्छ ।'
चर्चित् खेलाडीहरू लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले गरेको 'पेनाल्टी मिस'ले धेरैलाई निराश बनाएको छ । अघिल्ला 'सेसन'का चमत्कारिक खेलका कारण उनीहरू समर्थकहरूको दिल र दिमागमा छाइरहेका थिए । यसपटक पनि त्यस्तै उत्कृष्ट प्रस्तुती रहने आशा दर्शकमा रहनु स्वाभाविकै हो ।
डा. सुवेदीको बुझाइ भने फरक छ । भन्छन्, 'हिरो मेकिङ साइक्लिङका कारण नयाँ खेलाडीमा ध्यान जान नसकेको हो ।'
दर्शकले मन परेको खेलाडीलाई हिरो बनाइदिन्छन् । अहिलेको खेलमा 'क्रिएटिभ पावर' देखिँदै आएको डा. सुवेदी बताउँछन् । भन्छन्, 'गेमको जिनियस नयाँ देखिएको छ ।'
चार वर्षको अन्तरमा राम्रा खेलाडी आएका छन् । पुराना खेलाडीको बर्चश्वलाई दर्शकले ध्यानमा राखे पनि नयाँ खेलाडीले समेत चमत्कारिक खेल खेलेका छन् । सुवेदी भन्छन्, 'गेममा नयाँ स्पिरिट देखिन्छ ।'
डा. सुवेदीले बेलायतमा अध्ययन गरेका हुन् । अंग्रेजी साहित्यसँग उनी धेरै नजिक छन् । बेलायती खेलाडीहरू प्रति उनको स्वाभाविक लगाव छ । भन्छन्, 'मेरो कुनै पूर्वाग्रह छैन, तैपनि बेलायतले जितेको हेर्ने रहर हो ।'
एसियाली मुलुकले जितेको हेर्न चाहने सुवेदीमा जापानी खेलाडीप्रति पनि आदर भाव छ । जापानले विश्वकप उपाधि हात पार्दा विश्व खेल जगतमा नयाँ इतिहास जोडिने उनी बताउँछन् ।
खेलप्रेमीहरू मन परेको खेलाडीका प्रशंसामा समय खर्चिरहेका छन् । टी-सर्ट लगाएर सम्बन्धित देशको पक्षमा 'हुर्रे' गरिरहेका छन् । यस किसिमको खेलमोह हैरानी मात्रै भएको डा. सुवेदीको ठम्याइ छ । समर्थकको अपेक्षाअनुसारको खेल नहुने उनी बताउँछन् । भन्छन्, 'अपेक्षा जे छ, त्यो पूरा हुन खेलको व्यवस्थापन सही ढंगले हुनुपर्छ ।'
खेल खेलाउने क्लब नै गिरोहजस्ता भए । खेलाडी क्लबमय भएर मैदानको प्रदर्शन कमजोर भइरहेको आशंका छ, डा. सुवेदीको । 'त्यसैले खेल पहिलेजस्तो छैन,' उनी भन्छन्, 'खेललाई संवेदनशील भएर हेर्नुपर्ने अवस्था आएको छ ।'
विश्वकपले संसारलाई एक ठाउँमा ल्याएको उनी बताउँछन् । अमेरिकाजस्तो महाशक्ति राष्ट्र छानिन नसक्नु र उसकै छिमेकी कोस्टारिका छनोटमा पर्नुलाई खेलले ल्याएको परिवर्तन ठान्छन्, डा. सुवेदी । विश्वकपको सुन्दर पक्ष उनी यसरी प्रस्ट्याउँछन्, 'विश्वकपले विश्व खेलप्रतिको मिथकलाई उठान गर्छ ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४