धनगढी- प्रतिपक्ष दलका सांसद अनुपस्थित भएपछि मंगलबारका लागि बोलाइएको प्रदेस ७ को प्रदेश सभा बैठक स्थगित भएको छ ।
मंगलबार दिउँसो ४ बजे बस्ने भनिएको बैठक प्रदेशसभा सचिवालयले सूचना टाँसेर स्थगित भएको जनाएको छ ।
सूचनामा सभामुखको आदेश अनुसार बैठक बुधबार ४ बजे सम्मका लागि स्थगित गरिएको उल्लेख गरिएको छ । सवा ४ बजे सम्म सत्तापक्षका अधिकांश सांसद प्रदेशसभा हलभित्र प्रवेश गरिसकेका भए पनि प्रतिपक्ष दलका एक जना सांसद पनि प्रवेश भएका थिएनन् । लगत्तै संसद सचिवालयले बुधबार दिउँसो ४ बजे सम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको थियो ।
मंगलबारको बैठकमा सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको छलफललाई निरन्तरता दिने कार्यसूची रहेको थियो । यसअघि सोमबार बसेको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले संसद अवरुद्ध गरेपछि रोकिएको थियो । यता सरकार पक्ष प्रतिपक्षीलाई मनाउने तयारीमा रहेको छ ।
दुवै पक्षबीच सहमतिका लागि वार्ता भइरहेको छ । प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले आफ्ना मागका बारेमा प्रदेश सरकार केही गम्भीर देखिएको र वार्ता जारी रहेको बताए । उनले बजेट संशोधन नगरुन्जेल विरोध जारी रहने र यदि बहुमतमा बजेट पास गर्न खोजे सडकमा जाने समेत बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४