इटहरी- सशस्त्र प्रहरीका एक इन्स्पेक्टर तस्करसंगै पक्राउ परेका छन् । इन्स्पेक्टर सुमन रानाभाटलाई प्रहरीले सुनसरीको कोसी गाउँपालिकाबाट पक्राउ गरेको हो ।
जाँच छलेर अघि बढेको भारतीय कारलाई नियन्त्रणमा लिने क्रममा इन्स्पेक्टर रानाभाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कोसी गाउँपालिका– ८ हरिपुरका ३० वर्षीय चन्दन यादवसँगै रानाभाट पक्राउ परेका हुन् । नेपाल–भारत सीमामा सेटिङ मिलाएर यादव लामो समयदेखि तस्करीमा सक्रिय रहँदै आएको प्रहरीको दावी छ ।
श्रीपुरमा खटिएको प्रहरी टोलीले बीआर ३८ पी १९४८ नम्बरको कार रोक्न खोज्दा नरोकिई भागेको थियो । प्रहरीलाई पेलेर भागेको कारलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डीएसपी नारायण चिमरिया नेतृत्वको टोलीसमेत खटिएको थियो ।
कोसी गाउँपालिका–८ हरिपुरका ३० वर्षीय चन्दन यादवसँगै रानाभाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवलाई कारसहित कोसी गाउँपालिका– ६ कटानबाट नियन्त्रणमा लिइएको हो ।
यादवसँग सशस्त्रका चार जवान पनि एउटै गाडीमा सवार थिए । चार जवानलाई नियन्त्रणमा लिएको विषयमा भने प्रहरीले केहि खुलाएको छैन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४