धनगढी- २८ जेठ बिहान बर्दियाको ठाकुरद्वारामा एक कार्यक्रमका क्रममा एक फेसबुक स्ट्याटसले सबैको ध्यान खिच्यो । लेखिएको थियो, '१८ वर्षकी मेरी बहिनी पार्वती बुढाको सर्पको डसाइबाट निधन भएको छ । हामी दुःखित भएका छौं, उनको आत्माले चीरशान्ति पाओस् । हार्दिक श्रद्धाञ्जली ।'
घरको आँगनमा गाउँलेको बाक्लो उपस्थिति र बीचमा सुताइएको शवको तस्बिरसहित स्ट्याटस पोस्ट गरेकी थिइन्, प्रेमकला बुढाले ।
अछामको तुर्माखाँद गाउँपालिका-४ जुया गाउँको त्यस घटनाबारे समाचार लेख्दै गर्दा झल्याँस्स ध्यान गयो, कतै उनको मृत्यु छाउगोठमा सर्पले डसेर त भएको होइन ? तत्काल प्रेमकलाको मेसेन्जरमा जिज्ञासा राखियो । जवाफ आयो, 'हो, पार्वतीलाई
छाऊगोठमै सर्पले टोकेकोहो ।'
मेसेन्जरमै मोबाइल नम्बर मागेर घटनाबारे विस्तृत बुझियो । र, त्यो सामग्री आफू कार्यरत
'नेपालसमय डट कम'मा प्राथमिकतासाथ प्रकाशित भयो ।
समाचार प्रकाशित हुनुभन्दा दुई दिनअघिको थियो, घटना । त्यतिन्जेलसम्म मृतकको अन्तिम संस्कार भइसकेको थियो । तर, वडाध्यक्ष, गाउँपालिका उपाध्यक्षलगायत सबैले घरमै सुतेका बेला सर्पले डसेको दाबी गरेका थिए । प्रेमकलाबाहेक कसैले छाऊगोठमा मृत्यु भएको बताउने साहस जुटाएनन् ।
महिनावारी हुँदा महिलालाई गोठमा राख्ने कुरा चित्त बुझेको थिएन, प्रेमकलालाई । नातागोता, चिनजान र इष्टमित्र कसैलाई उनको अनुहार समेत हेर्ने अवसर नदिई गाउँलेले हतारमा अन्तिम संस्कार गरेकामा पनि उनलाई पीडाबोध थियो ।
- प्रेमकला बुढाको एक्लो प्रयासले बहिनी पार्वतीको शव चिहानबाट निकालेर ३० कोस टाढाको जिल्ला अस्पताल पुर्याई पोस्टमार्टम गर्न बाध्य भयो, प्रहरी ।
त्यति ठूलो घटना लुकाइएकामा उनी चुप बस्न सकिनन् । पार्वतीको शव पोस्टमार्टमसम्म नगरी खाल्डोमा पुरिएको थियो ।
समाचार प्रकाशित भएलगत्तै घटनाले तरंग ल्यायो । गाउँमै घटना हुँदा पनि थाहा नपाएझैं गरेको प्रहरी चिहानबाट शव निकालेर ३० कोस टाढाको जिल्ला अस्पताल पुर्याई पोस्टमार्टम गर्न बाध्य भयो ।
तर, त्यसको पीडा प्रेमकलाले नै भोग्नुपर्यो । उनकै कारण कुहिन लागेको शव बोकेर जिल्ला अस्पताल पुर्याउनु परेकामा गाउँलेले आक्रोस पोखे । तर, उनले हार मानिनन्, आगामी दिनमा त्यसरी छाऊ गोठमा कुनै किशोरी, युवती या महिलाले ज्यान गुमाउनु नपरोस् भन्दै आवाज उठाइन् ।
उनी आफैं पनि केही महिनादेखि महिनावारी भएका बेला घरमै बस्न थालेकी छन् । सिंगो गाउँ महिनावारी बार्नुपर्छ भन्ने सोचले ग्रस्त भएको समाजमा उनी एक्ली युवती हुन्, जो कसैलाई थाहा नदिई घरमै बस्छिन् ।
२३ वर्षीया प्रेमकला कुनै राजनीतिक दलकी सदस्य होइनन्, न त कुनै सामाजिक कार्यकर्ता नै । उनका बाबु-आमाले सामान्य किसानी गर्दै जीवन गुजारा गर्दै आएका छन् ।
कक्षा-१२ पढ्दै गर्दा उनका दाइको मृत्यु भयो । घरायसी समस्याका कारण उनले त्यसभन्दा माथि पढ्न पाइनन् । तर, उनमा स्कुले जीवनमै छाऊ प्रथाबारे नकारात्मक धारणा तयार भइसकेको थियो । त्यही धारणाको परिणाम हो, अहिले दुर्गम गाउँमा उक्त प्रथाविरुद्ध उनले दह्रो खुट्टा टेकेकी छन् ।
पहिलेदेखि नै उनमा गोठमा बस्ने प्रथाविरुद्ध लाग्नुपर्छ भन्ने लाग्थ्यो । एक फुपूसँग सल्लाह गरेर उनीहरू महिनावारीका बेला गोठमा नभई घरमै बस्न थाले ।
गाउँका अरू महिलाले प्रेमकलाको किन महिनावारी हुँदैन भन्दै कुरा काट्न थालिसकेका थिए । तर, कसैको कुरा सुनेनन्, प्रेमकला र उनकी फुपूले । छाऊ गोठमा बस्न बाध्य पारिएकी पार्वतीको त ज्यान गयो । तर, उनको घटनाले अछाम जिल्लाभर छाऊविरुद्ध भावना पैदा गराएको छ । र, धेरै महिलामा छाऊ गोठमा नबस्ने धारणाको विकास भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४