बिहीबार, वैशाख ६, २०८१

साहित्यमा 'जाँड-रक्सी'जस्तो प्रेम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- पछिल्लो लेखनमा प्रेम 'मिस युज' भइरहेको छ । प्रेमको दुरूपयोग बढ्यो । नेपाली साहित्यमा पनि प्रेमको साटो मायावी लेखिँदैछ ।

प्रेम र मायाबीच फरक अवश्य छ । मायामा भेटघाट आवश्यक छ, प्रेममा छैन । नेपाली लेखनमा भने प्रेममा माया हाबी भयो । माया छल हो र यसको अर्थ मोह । शब्दकोषमै उल्लेख छन्, कपट र भ्रम । यही भ्रममा हामी प्रेम खोजिरहेका छौं ।

समुद्र मन्थन भयो । सजीव र निर्जीव अनेक वस्तु निस्किए । । विष पनि निस्कियो र अमृत पनि । अमृत राक्षसहरूलाई पनि बाँड्नुपथ्र्यो । तर, देवताहरूले राक्षसहरूलाई छल गरे । भगवान विष्णुले युवतीको रूप धारण गरेर अमृत देवताहरूलाई मात्रै खुवाए ।

यस्तै मायावी रूप धारण गरिरहेका छन्, लेखन र लेखकले ।

पुतलीले बत्तिलाई मन पराउनु पनि माया हो । पुतली बत्तिका लागि मर्छ । बाँसुरीको धुनमा मृग भुल्छ । अनि, शिकारीले मृगलाई मार्न सक्छ ।

माया भनेको कमजोरी हो । कमजोरी भएपछि हरेक कुरा आफ्नो बनाउन मन लाग्छ । माया प्राप्ति पनि हो । प्रेममा विछोड हुँदैन र धोका पनि ।


गौतम बुद्धलाई प्रेम गरिन्छ र ओशोलाई पनि । हामीलाई ती प्राप्त गर्ने रहर हुँदैन, न त गुमाउने नै ।

आफू कस्तो देखिन्छु भन्ने थाहा पाउन हामी ऐना हेर्छौं । आफूलाई सकेसम्म राम्रो देख्ने कोशिस गर्छौं । अहिलेको लेखन पनि मलाई यस्तै लाग्छ ।

जस्तो ः फेसबुकमा आफ्नो तस्बिरले पाएको लाइक र कमेन्ट घरिघरि हेर्छौं । अरूको तस्बिर एकछिन हेरेर छाडिदिन्छौं । आफ्नो तस्बिर अनेक कोणबाट हेर्छौं । हाम्रो दृष्टि पनि एकनासको छैन । किनभने, हामी आफैंलाई चिनिरहेका छैनौं ।

 

- १८ पुराण र चार वटा वेद लेख्दा नामको लोभ थिएन, वेदव्यासलाई । अहिलेका लेखकलाई भने आम्दानी, पद र प्रसिद्धिको लोभ छ ।


आफूलाई चिन्नकै लागि बारम्बार हेर्नु नै माया हो । र, यही मोह पनि । लेखनमा पनि यस्तै मायामोह आइदियो । अक्षरहरू मायारूपी भइदिए ।

प्रेममा मोह हुँदैन । प्रेमले कुनै प्राप्ति चाहँदैन । प्रेम त जहिल्यै स्पष्ट हुन्छ । किनकि, प्रेमले स्वार्थ राख्दैन । तर, मायामा अन्धता हुन्छ । साधनासँग भक्ति जोडिएझैं मायासँग मोह जोडिएको हुन्छ ।

प्रेमभन्दा माथि भक्ति हुन्छ । भक्तिभन्दा माथि भक्त हुन्छन् । त्यो प्रेम होइन, स्वार्थ हो । स्वार्थकै लागि बनेको हो माया । मायाका नानाभाँती वाचा-कसममा हामी प्रेमलाई दुरुपयोग गरिरहेका छौं ।

साधना भनेको आफूलाई खोज्नु हो । र, आफूलाई चिन्ने माध्यम पनि । हृदयलाई अनुहारबाट चिन्न सक्छौं । र, हृदयबाटै प्रेम खुल्छ । प्रेमले मान्छेलाई चिन्न सहयोग गर्छ ।

तर, अहिले प्रेमलाई यौन, माया, सम्पत्ति र अनेक भौतिक सुखसँग जोडिदिएका छौं । प्रेम तड्पिँदैन, छट्पटिँदैन ।

माया भनेको शरीर हो, जसमा सम्झना मात्रै गरिन्छ । र, त्यो जीवितसँग मात्र गरिन्छ । तर, प्रेम मरेको मान्छेलाई पनि गरिन्छ । जस्तै ः बीपी कोइरालालाई म प्रेम गर्छु । किनकि, उनको लेखनलाई प्रेम गर्छु । उनीसँग मलाई भेट्ने चाह छैन ।

बीपीसँग सेल्फी हान्ने रहर छैन । बाल योगेश्वरलाई प्रेम गर्छु । उदय प्रकाशको लेखनलाई प्रेम गर्छु । तर, उनीसँग भेट्न कुनै रहर छैन ।
 

- माया छल हो र यसको अर्थ मोह । शब्दकोषमै उल्लेख छन्, कपट र भ्रम । यही भ्रममा हामी प्रेम खोजिरहेका छौं ।


जब रहरहरू गौण भइदिन्छन्, निःस्वार्थ हुन्छन् । त्यहाँ प्रेम पलाएको हुन्छ । तर, भेट्ने रहर पलाउनु माया हो । आकांक्षा र अपेक्षाहरू बढ्दै जानु हो । र, मोह बढ्न थाल्नु हो । त्यसैले, प्रेमलाई खाने धमिरो बन्दै गएको छ, माया ।

कोही मायामा झुण्डेर, हाम फालेर मर्छन् । आफ्नै शरीरका नसा काट्छन् । कोही विष खान्छन् । यी सबै मानसिक समस्या हुन् । र, केवल 'हार्मोन'का उपज हुन् ।

हाम्रो समाज, संस्कृति र रहनसहनबाट यी सबै सिर्जना हुने हुन् । मंगोलियन समाजमा मामाकी छोरी देखेर 'फिलिङ्स' आउँछ । थारू समुदायमा भाउजू देखेर देवरलाई 'फिलिङस्' आउँछ । र, हिमाली भेगमा भाउजू ल्याउनेबित्तिकै हक जमाउन थाल्छन् ।

समाजले माया सिर्जना गर्छ । समुदायअनुसार त्यो सिर्जित् हुन्छ । समाजअनुसार मान्छेले मायाको भाषा बुझ्न थाल्छ । र, त्यसैलाई पछ्याइरहन्छ ।

आफूभित्रको अभावको क्षतिपूर्ति गर्छ मान्छेले, कुनै न कुनै रूपमा । जब मान्छे शक्तिशाली हुन्छ, उसको अनुहारमा चमक हुन्छ । पारिजात रोगी र झमक घिमिरे अपांग नभएको भए, उनीहरूको साहित्य यति धेरै प्रस्फुटित हुने थिएन कि !

शायद बिहे हुन्थ्यो, सन्तान जन्मिथे र चाहेजस्तो साहित्य लेख्न पाउने थिएनन् । सोचेजस्तो जीवनयापन हुँदैनथ्यो । त्यसैले, आफूभित्रको कमजोरीको क्षतिपूर्ति पनि मोह र माया हुन सक्छ ।

क्षतिपूर्ति गराउँदै र नष्ट हुँदै जान्छ माया । माया भनेको चन्द्रमाजस्तो हो । घट्दै जान्छ र बढ्दै पनि । बादल पनि माया हो । र, आकाश आत्माजस्तो हो । सूर्य भनेको प्रेम हो ।

सुकरातको उज्यालो अहिलेसम्म आइरहेको छ । प्लेटो, बुद्ध, विवेकानन्द, वाल्मिकी र वेदव्यासको पनि उज्यालो आइरहेको छ । उनीहरूबाट हामीले पाएको प्रेम हो, जहाँ प्राप्तिको आशा छैन ।

प्रेमले वास्ता गर्दैन तर त्यसमा गहिरो दख्खल हुन्छ । कृतिको गहनताका आधारमा उनीहरूलाई हामी प्रेम गर्छौं ।

माया सौन्दर्य, बोली र शारीरिक संरचनाबाट पलाउन सक्छ । 'तिमीबिना जिन्दगी नै चल्दैन' भन्नेहरू समेत पाइन्छन् । केही वर्षपछि फेरि 'मेरो जिन्दगीमा भइस् भने म बाँच्दिनँ' भन्न थाल्छन् । माया कम हुँदै जान्छ । अनि, विस्तारै छुटिन्छौं । मायाको 'लेबल' सधैं एकनासको हुँदैन ।

कहिलेकाहीं मायामा हुरुक्कै भइन्छ । संसार यही भएजस्तो लाग्छ । सबै निलिदिऊँजस्तो जाग्छ । कहिलेकाहीं चुम्बन गर्दा पनि घिन लाग्ने हुन्छ ।

बादलजस्तो हो माया, जुन छिट्टै फेरिन्छ । सुन्दर र कुरूप दुवै हुन्छ । मायामा मान्छे रुन्छ । बादल पनि रुन्छ । मायामा विजुली चम्किन्छ । बादलमा बिजुली पनि चम्किन्छ ।

मायामा चट्याङ पर्छ । बादलमा पनि चट्याङ पर्छ । पिटापिट हुन्छ, हाँसो पनि हुन्छ, आँशु पनि ।

 

- जाँड साहित्यमा किराहरू बढ्छन् । रक्सी साहित्यको भने थप गुणस्तर बढिरहेको छ ।


'भ्यालेन्टाइन डे'मा लेखेको थिएँ, 'मायाको आकाशबाट आँशु बर्सिन्छ । प्रेमको आकाशबाट अमृत बर्सिन्छ । प्रेमले अमृत पिउने भएकाले प्रेम कहिल्यै विछोड हुँदैन । तर, आँशु पिउने भएकाले मायामा विछोड हुन्छ ।'

हाम्रो लेखन पनि सतही छ । हामीलाई शब्दको अर्थै थाहा छैन । पुस्तकको 'कभर' पनि 'थिम'भन्दा बाहिर जान थालेको छ । जस्तो हावा चल्यो, त्यसकै पछि दौडिने गर्छन् । लेखनमा इमानदारिता हुनुपर्‍यो । अनावश्यक बठ्याइँ गरिरहेका छौं, हामी ।

कति कृत्रिम छ, हाम्रो लेखनी । व्यावसायिक प्रकाशकहरूले निकालेका किताबहरू टिकाउभन्दा बिकाउको पछि दौडिएको पाइन्छ ।

पाँच गीत र पाँच फाइट । व्यावसायिक भनिएका फिल्महरूको आम प्रवृत्ति हो यो । साहित्य पनि फिल्मतिरै दौडिइरहेझैं लाग्छ ।

'भ्युअर्स'को कसीमा आफ्नो सिर्जनालाई मूल्यांकन गर्न थालिएको छ । हामी सबै भ्रममा छौं । लाइक, कमेन्ट र फ्यान फलोइङमा मख्ख परेका छौं । गहिरो साहित्य भने 'हिडन' छ ।

एडलरको मनोवैज्ञानिक व्याख्याअनुसार सुन्दरीहरू प्रायः अबोधित हुन्छन् । माग र पूर्तिका आधारमा कुनै वस्तुको मूल्य निर्धारण हुन्छ । यस्तै, हाम्रो जिन्दगीमा पनि मान्छे सन्तुलित हुन चाहन्छ । त्यसभन्दा तल भयो भने सन्तुलनमा उतारचढाव आउँछ । लेखनको मायामा पनि उतारचढाव देखिन थालेको छ । लेखकहरूले शब्दको दुरूपयोग गरिरहेका छन् ।

आत्माको आवाज हुँदैन, जुन कहिल्यै दुख्दैन । बुढो हुँदैन र बच्चा पनि । आत्मा बोल्दैन ।

आत्माजस्तो हो, प्रेम । आत्मालाई छुनेखालका लेखन दुर्लभ बनेका छन् । प्राणतत्व कम, गहनामा बढी केन्द्रित छन् लेखनी ।

'पल्लोघरको झ्याल'को जस्तो सुक्ष्म मनोविज्ञान आएन । बीपीको 'सुम्निमा'ले सम्बन्धमा प्रेम र संभोगलाई गहिरो दर्शन दिएको छ । अहिलेका किताबमा हामी 'मेटाफर'मा दौडिरहेका छौं ।

ओठको रङ अहिले थाहा हुँदैन, लिपिस्टिकले लपक्कै छोपिदिएको छ । यसरी नै अहिलेका पुस्तकलाई पनि आलंकारिकताले छोपिदिएको छ । शायद, यो माया हो । हुन त, सृष्टि नै माया हो । संसार मायाले नै चलेको छ ।

माया आफैंबाट शुरु हुन्छ । लोभ भनेकै मायाको एक अंग हो । प्रशंसाको लोभ छ, हामीलाई । १८ पुराण र चार वटा वेद लेख्दा नामको लोभ थिएन, वेदव्यासलाई । अहिलेका लेखकलाई भने आम्दानी, पद र प्रसिद्धिको लोभ छ ।

यो सृष्टि सबै माया हो । पृथ्वीले सिर्जना गरेका हामी पनि माया हौं । र, हामीले सिर्जना गरेको साहित्य पनि माया हो । माया मिठो छ र शक्तिशाली अनि बलियो पनि । यो मिठो भ्रम हो । भ्रमजस्तो आनन्द अरू केमा प्राप्त होला र !

नवजात शिशुलाई आफू धनी या गरिब भन्ने थाहा हुँदैन । दुवै वर्गका बच्चा उत्तिकै खुशी र आनन्दित हुन्छन् । जब बढ्दै जान्छन्, धनीको सन्तानमा अहम् बढ्दै जान्छ । त्यो धनी समाजले सिर्जना गरेको मायावी घमण्ड हो । बच्चालाई समाजले जे सिकाउँछ, त्यही सिक्दै जान्छन् ।

अहिलेको साहित्यलाई जाँड र रक्सीसँग तुलना गर्न सकिन्छ । जाँड साहित्यमा किराहरू बढ्छन् । रक्सी साहित्यको भने थप गुणस्तर बढिरहेको छ ।

समाजभित्र छिर्नुपर्छ । आञ्चलिकता टिप्नुपर्छ । सम्बन्धित समुदाय थाहा हुनुपर्छ । त्यो उचित पनि हो । तर, त्यसो सबै लेखकले गरिदिएनन् र च्याऊझैं कथा, उपन्यास आए । साहित्यचाहीं आफैंमा प्रेम हो । त्यसको विषयवस्तु भने माया हुनसक्छ ।

प्रस्तुती : राज सरगम

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।