बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पुस्तौंदेखि तुइनमा झुन्डिएको व्याँस : कहिले काटिन्छ, कहिले फुत्काइन्छ

पुस्तौंदेखि तुइनमा झुन्डिएको व्याँस : कहिले काटिन्छ, कहिले फुत्काइन्छ

एसएसबीले तुइन फुत्काएको देख्ने प्रत्यक्षदर्शीले प्रहरीसमक्ष एससएसबीले तुइन फुत्काएको बयान दिएका छन्। तर प्रहरीले गृह मन्त्रालयको टोली कुरिरहेको छ।
 |  बिहीबार, साउन २१, २०७८

अंगद सिंह

अंगद सिंह

बिहीबार, साउन २१, २०७८

काठमाडौं- भारतीय सीमा सुरक्षा बल (एसएसबी) का एक सुरक्षाकर्मीले तुइन काटिदिँदा साउन १५ गते ३५ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता भए। नदीको बीच भागमा पुगेका बेला तुइन काटियो। जयसिंह महाकालीमा खसे। उनीसँगै रहेका साथीहरुले तुइन नकाट्न हारगुहार गर्दा पनि एसएसबीबाट सुनुवाइ भएन।

triton college

परिवार पाल्न विदेश पुग्ने सपना सदरमुकाम पुग्न नपाउँदै महाकालीमा डुब्यो। जयसिहं धामी महाकालीमाथि तुइन चढ्दा उनका साथमा थिए कल्याणसिंह धामी। 'सदरमुकाम जान तुइनको सहारा लिएका थियौं। तर एसएसबीले उनको ज्यान लियो,' प्रत्यक्षदर्शी कल्याण भन्छन्, ‘तुइनमा मान्छे छ नफुकालिदिनुस् भनेर चिच्यायौं, इसारा गर्‍यौं। हात जोड्यौं। तुइन फुत्काएर एसएसबीले जानीजानी गम्भीर अपराध गर्‍यो।’  जयसिंह भारततर्फ पुग्न झन्डै ५-६ मिटर बाँकी रहँदा एसएसबीले तुइन चुँडाइदिएको कल्याण भनाइ छ। 

घटनापछि उनले व्याँसबासीमा झन् भय उत्पन्न भएको भन्दै भारतले गरेको ज्यादती रोक्न सरकारले पहल गर्नुपर्ने उनले बताए। ‘तुइन फुत्काएको आफ्नै आँखाले देखेका छौं। प्रमाण कहाँकहाँ दिनुपर्छ हामी तयार छौं। जानाजान कसैको ज्यान लिन पाइँदैन,’ उनले नेपाल समयसँग भने, ‘भारतीयले जानाजान ज्यान लिइरहेका छन्। अब त जान पनि डर लागिरहेको छ। सरकारले न पुल बनाउँछ न त बाटो, हाम्रा पीडा किन दबिन्छन्?’

उनले जिल्ला प्रहरी कार्यालयमा पनि तुइन काटेको देखेको बयान दिएका छन्। कल्याणले गृह मन्त्रालयको अध्ययन टोलीसँग पनि सत्यतथ्य कुरा बताउने बताए। विदेश जाने सपना बोकेर सदरमुकाम जान सँगै हिँडेको साथीलाई महाकालीमा खसालेको दृश्यले हरेक पल तर्साउने गरेको छ उनलाई।
जयसिंह अझै बेपत्ता छन्। परिवारले मृत्यु भएको ठानेर उनी खसेकै ठाउँमा कुशको शव बनाई अन्तिम संस्कार गरेका छन्। बेपत्ता भएका जयसिंहका साथमा रहेकामध्ये बहादुर धामी र अमरसिंह धामी तुइन चढेर महाकाली पारि पुगिसकेका थिए। मन्नाम सिंह धामी, अनिता सिंह धामी र विक्रमसिंह रंकोली नेपालतिरै भएको कल्याण बताउँछन्। 

नमेटिने ज्यादती पीडा

दार्चुला व्याँस गाउँपालिका–४ मड्गाउँका वीरसिंह धामीलाई कहिलेदेखि तुइनमार्फत नदी वारपार गर्न थालेको ठ्याक्कै सम्झना छैन। उनका बाबुबाजेका पालादेखिकै निरन्तरता तुइनमा यात्रा हो। अब त उनलाई लाग्छ, व्याँसीहरूको जीवनशैलीको एक अभिन्न अंग हो तुइन। 


वीरसिंह बुझ्ने भएपछि पहिलोपटक महाकाली नदी तर्दाको सम्झना ताजा छ। ७-८ वर्षको हुँदा तुइन चढेर महाकाली पार गर्दा उनलाई डर लागेको थियो। उर्लंदो महाकाली नदीमाथि डिब्बाको सहारामा महाकाली नदीको बीचमा पुगेपछि डरले आत्तिएर रोएका पनि थिए। सानो छँदा नदीदेखि डराएका वीरसिंहको त्रास अझै गएको छैन। फरक यही हो सानो छँदा महाकालीको पानी, वेग र गहिराइदेखि उनलाई डर लाग्थ्यो, ठूलो भएपछि तुइन चुँडिने र पारिपट्टिका मानिसले दिने दु:खदेखि डर लाग्छ। 

वर्षौंदेखि तुइनमा झुन्डिएका जीवन देख्दा धामीलाई लाग्छ व्याँसबासीको त जीवन सधैं जोखिममा छ। ‘व्याँसबासीको जीवन तुइनमा झुन्डिएको छ। त्यही पनि कहिले काटिन्छ, कहिले फुत्काइन्छ,' धामी भन्छन्, ‘किन सुनिँदैनन् व्याँसीका पीडा?’

नेपालतर्फ बाटो नहुँदा भारतकै भर पर्नुपरेको छ व्याँसीहरूलाई। नेपालबाट महाकाली नदीमाथिको तुइन तरेर भारतको बाटो हुँदै दार्चुला सदरमुकाम आउजाउ गर्नु बाध्यता हो व्याँसीको। 

थोरै समयका लागि नै किन नहोस् सबै व्याँसीको जीवन तुइनमा झुन्डिन्छ, झुन्डिन्छ,' उनले भने, ‘त्यसै त तुइनमा झुन्डिँदा जिन्दगीको आस हुन्न। तुइन काट्दा/चुँडाल्दा त कसरी बाँच्नु? यस्तो अपराध कसैमाथि नहोस्।' 

मड्गाउँबाट दार्चुला सदरमुकाम पुग्न तुइनबाट महाकाली तरे चार–पाँच घण्टाको बाटो छोटो पनि छ। तर आफ्नै देशको बाटो भएर सदरमुकाम पुग्न पाए उनीहरूलाई छोटो बाटोको लोभ छैन। 'कम्तीमा जिल्ला सदरमुकाम पुग्नका लागि आफ्नै भूमिको बाटो हिँड्न पाए छोटो बाटो भनेर भारतको बाटो प्रयोग नगर्न सकिन्थ्यो। थोरै समयका लागि नै किन नहोस् सबै व्याँसीको जीवन तुइनमा झुन्डिन्छ, झुन्डिन्छ,' उनले भने, ‘त्यसै त तुइनमा झुन्डिँदा जिन्दगीको आस हुन्न। तुइन काट्दा/चुँडाल्दा त कसरी बाँच्नु? यस्तो अपराध कसैमाथि नहोस्।' 

corrent noodles
Metro Mart

वीरसिंहले तुइन तर्दा र भारतको बाटो प्रयोग गर्दा कैयौँपटक धेरै दुःख पाएका छन्। कहिले आफूले कहाँदेखि दुःख गरेर ल्याएका सिमेन्टका बोरा महाकालीमा बगाइएका छन्। भने कहिले थप्पड खाएका छन्। एसएसबीले दिने सास्ती हप्कीदप्कीमा मात्र सीमित छैन, हातपातसमेत गर्छन्।

‘तुइन तर्दा कतिपटक थप्पड खाएँ। कतिपटक सामान जफत भयो। व्याँसीका दुःख कसैले सुन्दैनन्। न राज्यलाई दुख्छ, न शासकलाई,’ उनले गुनासो गरे। 

एकपटक धामीले घर बनाउन १०–१२ बोरा सिमेन्ट लैजान खोजेका थिए। एसएसबीले सबै सिमेन्टका बोरा महाकालीमा फालिदियो। एससएसबीले उनीमाथि हातपात पनि गरे। सबै सहेर बस्नुपर्‍यो उनले। तर सम्हालिए, कारण फेरि भारतकै बाटो प्रयोग गर्नु थियो, त्यही तुइनकै भरमा जीवनभर सदरमुकामसम्म जानु थियो। 

व्याँस गाउँपालिका-३ सिनाका सुरेन्द्र धामीले आफूहरू आफ्नै जिल्ला सदरमुका जाँदा पनि बारम्बार एसएसबीको धम्की खेप्नुपरेको बताए। ‘एसएसबीले अब त ज्यानसमेत लिन थाले,' उनी भन्छन्, ‘व्याँसीहरू जिन्दगीको कुनै मूल्य छैन। महाकालीको भन्दा एसएसबीको डरले बढी तर्साउन थालेको छ।’

000

पूर्वगृहसचिव श्रीकान्त रेग्मी हरेक नागरिकको जिउ ज्यानको ख्याल गर्ने दायित्व सरकारको भएकाले सरकारले तुरुन्त घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताउँछन्। ‘वर्षौदेखि व्याँसमा पुल नहुनु आफैंमा अपराध हो। सरकारले व्याँसीको जीवनमाथि खेलाँची गरेको छ,‘ रेग्मीले भने, ‘व्याँसमा पुल छैन भन्नु लज्जाजनक छ। सरकारले स्थानीयमाथि गम्भीर अपराध गरेको छ।’

सरकाले वर्षैपिच्छे तुइन विस्थापन गर्ने योजना लिए पनि नारामा मात्रै सीमित भएको उनी बताउँछन्। ‘राज्यले नागरिकको रक्षाका लागि सम्भव भएससम्म सबै उपाय अपनाउनुपर्छ, विदेशीले नागरिकले आफ्नो देशका नागरिकको ज्यान लिनु सामान्य कुरा होइन,' उनी भन्छन्, ‘राज्यले सीमावासीका समस्या समाधान गर्नुपर्छ।’

दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट घटनाको अध्ययनअनुसन्धान भइरहेकाले अहिले नै बोल्न नमिल्ने बताउँछिन्। एसएसबीले तुइन फुत्काउँदा जयसिंह धामी महाकालीमा खसर बेपत्ता भएको कुरा पुष्टि भइनसकेकाले गृह मन्त्रालयले पठाएको टोलीले अध्ययन प्रतिवेदन नआउँदासम्म केही भन्न नसकिने उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा घटनास्थलमा नेपाल प्रहरी पठाए पनि प्रहरीले मुचुल्का उठाएको छैन। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर भट्टले घटनास्थल भारतमा पर्ने भएकाले मुचुल्का उठाउन समस्या भएको बताए।

‘अहिले नै कसैलाई दोषी भन्न मिल्ने अवस्था छैन। गृहको अध्ययन प्रतिवेदन आएपछि सबै कुरा प्रस्ट हुन्छ,’ भट्टले भनिन्। जिल्ला प्रशासन कार्यालयको समन्वयमा घटनास्थलमा नेपाल प्रहरी पठाए पनि प्रहरीले मुचुल्का उठाएको छैन। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर भट्टले घटनास्थल भारतमा पर्ने भएकाले मुचुल्का उठाउन समस्या भएको बताए।

‘तुइन फुत्काइएको स्थान भारततर्फ परेकाले मुचुल्का उठाउन समस्या भएको छ। गृह मन्त्रालयको टोली आएपछि त्यसैको प्रतिवेदन अनुसार काम कारबाही अगाडि बढ्ला,’ उनले भने।

एसएसबीले तुइन फुत्काएको देख्ने प्रत्यक्षदर्शीले प्रहरी समक्ष एससएसबीले तुइन फुत्काएको बयान दिएका छन्। तर प्रहरीले गृह मन्त्रालयको टोली कुरिरहेको छ।


सीमाविद् बुद्धिनारायण श्रेष्ठ सरकारले कूटनीतिक पहलबाट समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउँछन्। ‘नागरिकको जिउज्यान क्षा गर्ने दायित्व सरकारको भएकाले सरकारले कूटनीतिक  पहलमार्फत संवाद गर्नुपर्छ,' सीमाविद् श्रेष्ठ भन्छन्, ‘यस्ता अमानवीय घटना वर्षैपिच्छे हुने गरेका छन्। यसको दीर्घकालीन समाधानका लागि सरकारले कूटनीतिक छलफल गर्नुपर्छ।’

दार्चुलाबाट प्रतिनिधित्व गर्ने एमालेका सांसद गणेशसिंह ठगुन्नाले घटनाको छानबिनको लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।  ‘घटनाको औपचारिक रूपमा भारतसमक्ष विरोध जनाइयोस् र दोषीलाई कारबाही गर्न पहिल गरियोस्। धामीका परिवारलाई सरकारले क्षतिपूर्ति दिलाइयोस्,’ उनले संसदमा भनेका छन्।

व्याँस गाउँपालिकाले आपसी सद्भाव, भाइचारा, बन्धुत्व, मैत्रीपूर्ण सम्बन्ध र बाँच्न पाउने अधिकारसमेत ख्याल नगरी भारतले तुइन तरिरहेको अवस्थामा निर्दोष व्यक्तिको हत्या गरेर अन्तराष्ट्रिय फौजदारी अपराध गरेको  उल्लेख गरेको छ। 

प्रत्यक्षदर्शीले एसएसबीविरुद्ध भारतीय थानामा गएर किटानी जाहेरी दिइसकेको जानकारी दिँदै सांसद ठगुन्नाले नेपालको प्रशासन भने भ्रम नफैलाउन विज्ञप्ति निकालेर बसेको मात्र आरोप लगाए। सरकारले भारत सरकारसँग औपचारिक विरोध जनाई दोषी एसएसबीलाई मानव हत्या गरेको अभियोगमा कारबाही गरिनुपर्ने ठगुन्नाको भनाइ छ।

वर्षैपिच्छे अमानवीय घटना भइरहेको र यसको दोष भारतलाई मात्रै दिएर नपुग्ने उनको भनाइ छ। डडेल्धुराबाट प्रतिनिधित्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउबाले दार्चुलाको पीडा बुझ्ने उनको विश्वास छ। ‘दार्चुलाको घटनाको पीडाले पक्कै डडेल्धुरालाई अवश्य दुख्नेछ,’ उनले भनेका छन्।

व्याँस गाउँपालिकाले भारतीय एसएसबीले अमानवीय काम गरेको भन्दै घटनाको भर्त्सना गरेको छ। व्याँस गाउँपालिकाले सूचना जारी गरी आपसी सद्भाव, भाइचारा, बन्धुत्व, मैत्रीपूर्ण सम्बन्ध र बाँच्न पाउने अधिकारसमेत ख्याल नगरी भारतले तुइन तरिरहेको अवस्थामा निर्दोष व्यक्तिको हत्या गरेर अन्तराष्ट्रिय फौजदारी अपराध गरेको उल्लेख गरेको छ। 

व्याँसका स्थानीय वीरसिंह धामीका अनुसार व्याँस क्षेत्रका दुम्लिङ, रिठानघाट, मालघाट, बर्तिघाट, मलघट्टे, डोकट, नाबिघाट र धौलाकोटमा तुइनकै माध्यमबाट महाकाली तर्न बाध्य छन्।

प्रकाशित: Aug 05, 2021| 06:15 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।