जनकपुरधाम- धनुषा जिल्लाको रमदैया भवाडीस्थित एकमात्र मेडिकल कलेजको अहिले दुरावस्था छ ।
सदरमुकाम जनकपुर भन्दा करिब ४ किलोमिटरको दुरीमा रहेको जानकी मेडिकल कलेजका व्यवस्थापन पक्ष फरार भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरुको भविष्य नै अन्यौलमा परेको छ ।
व्यवस्थापनले कार्यरत कर्मचारीहरुको तलब नदिएपछि आन्दोलनमा उत्रिएका उनीहरुले २३ वैशाखदेखि कामकाज ठप्प पारेका छन् । कर्मचारीहरु आन्दोलनमा उत्रेपछि पैसा दिन तलब नदिएर व्यवस्थापन पक्ष फरार भएको बताइएको छ ।
पठनपाठन ठप्प भएर भविष्य नै अन्यौलमा परेपछि मेडिकल कलेजका विद्यार्थीहरु पनि आन्दोलनमा उत्रिएका छन् । पठन पाठन सुचारु गर्न र तलब उपलब्ध गराउन माग राख्दै कलेजका विद्यार्थी र कर्मचारीहरुले बुधबार संयुक्त रुपमा एक घण्टा जनकपुर–ढल्केबर सडक खण्ड अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।
व्यवस्थापन पक्ष कर्मचारीहरुको तलब र विद्यार्थीहरुको पठनपाठन नगराई फरार भएपनि सरोकारबला निकायले चासो नदिएको भन्दै सडक अवरुद्ध गरेर प्रदर्शन गरेको उनीहरुले बताएका छन् । सम्बन्धीत निकाय यथाशीघ्र समस्या समाधान गर्नतर्फ पहल नगरे कडा आन्दोलन गर्ने कर्मचारी संघर्ष समितिका अध्यक्ष उमेश यादवले चेतावनी दिए ।
कलेजमा अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरुले पठनपाठन सुचारुको माग गर्दै व्यवस्थापनको विरोध गर्दै कलेजको बसमा तोडफोड समेत गरेका थिए । व्यवस्थापन पक्ष नहुँदा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत ६५ विद्यार्थी प्रयोगात्मक परीक्षाबाट समेत बञ्चित भएका छन् ।
८ वैशाखमा हुने परीक्षा कर्मचारीहरुको आन्दोलनका कारण अनिश्चित समयको लागि स्थगित भएको छ । जानकी मेडिकल कलेज व्यवस्थापनले कार्यरत साढे ४ सय कर्मचारीलाई १४ महिनाको तलबभत्ता दिएको छैन् ।
जानकी मेडिकल कलेजमा पटक पटक व्यवस्थापन परिवर्तन भएपनि अवस्थामा सुधार आउन नसकेको कार्यरत कर्मचारीहरुको भनाई छ । तलब र पठनपाठनको विषयलाई लिएर पटक पटक कलेजमा अवरोध उत्पन्न हुने गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४