काठमाडौं- आज जुन २१ अर्थात अन्तर्राष्ट्रिय योग दिवश । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदैछ । सरकारी र गैरसरकारी स्तरबाट विभिन्न स्थानमा र्याली समेत निकालिएको छ ।
स्वास्थ्य सेवा विभाग टेकुबाट प्रभातभेरी गरेको छ । स्वास्थ्य जीवनको आधार योग तथा आयुर्वेद उपचार, आहार विहारमा ध्यान दिऔं, औषधीजन्य जडिबुटीको संरक्षण गरौं भन्ने नारा लेखिएको प्लेकार्ड सहित प्रभातफेरि गरिएको हो ।
बानी, खानपानका कारण नसर्ने रोग बढिरहेको भन्दै समयमै सुत्न, उठ्न र व्यवहार परिवर्तन गर्न योगको महत्व रहेको जनाइएको छ । यस्तै स्वास्थ्य मन्त्रालयमा पनि विशेष कार्यक्रमको आयेजना गरेको छ ।
योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसंघले ४ वर्षअघि हरेक वर्ष जुन २१ तारिखमा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो ।
वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो भन्ने शास्त्रमा पढ्न पाइन्छ ।
आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका छन् ।
नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४