बुधबार, वैशाख ५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सधैं भ्रष्टाचार, यस्ता छन् बेथितिका शृंखला

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सधैं भ्रष्टाचार, यस्ता छन् बेथितिका शृंखला

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार बिहानदेखि रिले अनशन सुरु भएको छ। 
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

विराटनगर- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार बिहानदेखि रिले अनशन सुरु भएको छ। प्रतिष्ठानका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष तथा संयुक्त संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलको नेतृत्वमा रिले अनशन सुरु भएको हो। अनशनमा डा. पोखरेलसहित डा. पदम नेपाली, डा. अमृत जैसी, ज्योति बोगटी, सुवास बन्जाडे बसेका छन्।

triton college

दुई सातादेखि निरन्तर आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीले प्रतिष्ठानको आर्थिक, प्रशासनिक, शैक्षिक शुद्धीकरणको माग अघि सारेका छन्। आन्दोलनलाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले बेवास्ता गरेको संघर्ष समितिका सहसंयोजक पोखरेलले बताए। उपकुलपतिको शैक्षिक योग्यता सार्वजनिक गर्न आन्दोलनकारीले माग गरेपछि वार्ता अघि बढ्न नसकेको बताइएको छ। 

प्रतिष्ठानभित्रको बेथितिबारे लेख्दै–बोल्दै आएका वेलफेयर सोसाइटीका अध्यक्ष डा. पोखरेललाई उपकुलपतिले स्पष्टीकरण सोधेपछि त्यसको विरोधमा आन्दोलन सुरु भएको बताइएको छ ।

रिले अनशनअघि १३ दिनसम्म आन्दोलनकारीले प्रतिष्ठान र धरान नगरमा जुलुस प्रदर्शन गर्दै आएका थिए। प्रदर्शनलाई पदाधिकारीले बेवास्ता गरेको भन्दै आन्दोलनकारीले आइतबार पदाधिकारीले चढ्दै आएको गाडीको चाबी खोसेका थिए। माग पूरा नभएसम्म आन्दोलन निरन्तर हुने  जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले जानकारी दिए।

‘चिकित्सकहरू रहरले सडकमा आएका होइनन्। हामीलाई प्रतिष्ठानले सडकमा आउन बाध्य पारेको हो। केही दिनपहिले बीपीको नीतिगत भ्रष्टाचारको कुरा सामाजिक सञ्जालमा आएको थियो। हामीले त्यो पोस्ट गरेका थियौं। त्यसपछि हामीलाई स्पष्टीकरण सोधियो। आफैं गलत काम गर्ने, अनि आफैं स्पष्टीकरण सोध्ने?’ डा. पोखरेलले भने।

corrent noodles
Metro Mart

यसअघि आफूहरूले पटकपटक आन्दोलन गरेर प्रतिष्ठानका पदाधिकारीलाई सच्चिन आग्रह गर्दै आए पनि प्रतिष्ठानले त्यसको बेवास्ता गरेको उनको आरोप छ। उनले गत वर्ष प्रतिष्ठानलाई सच्चिन आफूहरूले १७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको र त्यसमा प्रतिष्ठानले हस्ताक्षर गरेको भए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै उनले दुखेसो पोखे।

‘कर्मचारीको बढुवादेखि नीतिगत भ्रष्टाचार अन्त्यसम्मका कुरा त्यो पत्रमा थिए। प्रतिष्ठानले लिखित जवाफ दिँदै माग पूरा गर्ने आश्वासन दिएको थियो। तर, भ्रष्टाचारमा लिप्त प्रशासनले किन माग पूरा गरोस्,’ उनले आक्रोश पोखे।

माग पूरा नभएपछि गत माघमा फेरि आफूहरु आन्दोलित बनेको उनले बताए। फेरि आफूहरूबीच फागुन ९ गते प्रमोशन गर्ने, कोभिड भत्ता वितरण गर्ने, बढेको तलब बक्यौता रकम उपलब्ध गराउने, इन्टरनेट र विद्युत् चोरी सम्बन्धी प्रतिवेदन अध्ययन गरी कार्यान्वयन गर्ने सहमति भएको भए पनि सहमति कार्यान्वयन नभएको उनको भनाइ छ।

उनले यो आन्दोलनलाई बीपीको नीतिगत भ्रष्टाचार शुद्धीकरण अभियानको संज्ञा दिएका छन्। उनले आफूहरू १४ दिनदेखि आन्दोलित हुँदा पनि मागमा प्रतिष्ठानले कुनै चासो नदिएको आरोप लगाए। उनले प्रतिष्ठानका कर्मचारीले प्रयोग गर्ने गाडीमा प्रतिष्ठानको नाम नलेखिएकाले त्यो चाँडै लेख्ने बताए। 

यस्तै उपाध्यक्ष डा. नेपालीले इन्टरनेट शुल्कलगायत क्षेत्रमा नीतिगत भ्रष्टाचार भइरहेको आरोप लगाए। ‘म बीपीमा आएको दुई वर्ष भयो। बाहिर इन्टरनेट १५ सय तिरेर चार–पाँच जनाले चलाउन मिल्छ। तर, यहाँ एक जनाले हजार रुपैयाँ तिरेर चलाउन मिल्ने सिंगल युजर पोलिसी अवलम्बन गरिएको छ। त्यो पनि एकदमै सुस्त। एउटा मेल पठाउन पनि गाह्रो हुन्छ,’ उनले भने। वर्ल्डलिंकको इन्टरनेट मात्रै प्रयोग भइरहेको र पाँच हजारभन्दा बढी मानिसमा उसकै एकाधिकार भएकाले मनोपोली भएको उनको आरोप छ।

‘अफिसियल प्रयोजनका लागि ५० एमबीपीएसको डेडिकेटेड लिज लाइन खरिद गरिएको छ। एक एमबीपीएसकाे १३ हजार ३ सय ३३ रुपैयाँमा खरिद हुँदै आएकाे छ। ५० एमबीपीएसको मासिक ६ लाख ६६ हजार ६ सय ५० हुन आउँछ। यसको वार्षिक शुल्क ७९ लाख ९९ हजार ८ सय हुन्छ। यसको बजार भाउ एक हजारदेखि दुई हजार मात्रै छ। एक एमबीपीएसमा २५ सयमात्रै बच्यो भने पनि ठूलो रकम बच्छ। तर, यहाँ कमिसनका लागि त्यो गरिँदैन,’ नेपालीले भने।

सबै क्षेत्रमा यसैगरी भ्रष्टाचार व्यापक रहेको आरोप उनले लगाए। उनले यो मोनोपोली भंग गर्न वैशाख २० मा सहमति भएको भए पनि अहिलेसम्म कार्यान्वयन नभएको आरोप लगाए। उनले कमिसनको लोभमा खरिद गरिएका कमसल रेडियोलोजी र  एमआरआईका मेसिन बिग्रेर तीन वर्षदेखि सञ्चालनमा नआएको बताए। 

‘अस्पतालको आन्तरिक फार्मेसी छैन। आफ्नो फार्मेसी नभएकै कारण अस्पतालले मासिक एक करोड घाटा बेहोर्नु परिरहेको छ,’ उनले भने। कमिसनको लोभमा महँगोमा मेसिन ल्याइने र त्यो बिग्रे सप्रिँदै नसप्रिने गरेको आरोप उनले लगाए। यन्त्र उपकरण अभावमा बिरामीलाई गुणस्तरीय उपचार सेवा दिन नसकिएको डा. नेपालीको तर्क छ। यन्त्र उपकरणकै अभावमा विद्यार्थीले समेत गुणस्तरीय शिक्षा पाउन नसकिरहेको उनको आरोप छ। आफूहरूको आन्दोलन व्यक्तिगत लाभका लागि नभएर प्रतिष्ठानकै लाभका लागि भएकाले चाँडो माग पूरा गर्नुपर्ने उनको भनाइ छ।

प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीसँग यस विषयमा बुझ्न खोज्दा आफू मिटिङमा रहेको भन्दै बोल्न मानेन्। उनी काठमाडौंमा रहेको स्रोतले बताएको छ।

प्रतिष्ठानका शिक्षाध्यक्ष गुरु खनालले आन्दोलनकारीसँग यसअघि नै दुई चरणमा कुरा भएको बताए। उनले आन्दोलनकारीका केही माग पूरा भएको दाबी गर्दै केही माग कोरोनाका कारण पूरा गर्न ढिलो भएको बताए। आफू शिक्षाध्यक्ष भएकाले बढुवाका कुरा गर्न नसकिएको उनी स्वीकार्छन्।

कोरोनालगायत कारणले समयमै बढुव गर्न नसकिएको उनले बताए। ‘आर्थिक पाटोमा म जोडिँदैन। तैपनि कुरा उठिसकेपछि बोल्नुपर्छ। विश्वविद्यालय पारदर्शी ढंगले चल्नुपर्छ भन्ने हाम्रो पनि माग हो। हावा चलिसकेपछि त्यसको छानबिन हुनुपर्छ। सत्यतथ्य बाहिर आउनुपर्छ,’ उनले नेपाल समयसँग भने। उनले आफूहरू आन्दोलनकारीको सही मागको पक्षमा रहेको बताए। ‘सबै मिलेर बेथितिहरुलाई निर्मूल पार्नुपर्छ,’ उनले भने।

प्रकाशित: Jun 28, 2021| 08:56 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।