बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • एमाले एकतामा विश्वस्त छैनन् नेपाल, भनिरहन्छन्- बालुवा पेलेर तेल निस्कने वाला छैन

एमाले एकतामा विश्वस्त छैनन् नेपाल, भनिरहन्छन्- बालुवा पेलेर तेल निस्कने वाला छैन

‘अझै पनि केही साथीहरूलाई लागेको छ– बालुवा पेलेर तेल निस्कन्छ कि भनेर। बालुवा पेलेर तेल निस्कने वाला छैन। म गलत साबित भइदिऊँ भन्ने पनि लागेको छ।
 |  आइतबार, असार १३, २०७८

बीपी अनमोल

बीपी अनमोल

आइतबार, असार १३, २०७८

काठमाडौं– नेकपा एमालेको असन्तुष्ट समूहको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपालले प्रायः भनिरहने वाक्य हो, बालुवा पेलेर तेल निस्कँदैन। पार्टीमा अन्तरसंघर्ष देखा पर्नेबित्तिकै नेता नेपालले तत्कालीन नेकपा हुँदादेखि भन्दै आएको वाक्य हो यो। 

triton college

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेकपा दुई खेमामा विभाजित बन्यो। नेता वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरे। गौतमले नेकपालाई एकजुट बनाउन पहल गर्ने प्रस्ताव गर्दा नेता नेपालले भनेका थिए, ‘बालुवा पेलेर तेल निस्कन्छ भने तपाईं प्रयास गर्नुस्, मलाई त तेल निस्कन्छ भन्ने लागेको छैन।’

पहिलो पटक संसद् विघटन भएपछि तत्कालीन नेकपाको दाहाल–नेपाल पक्षले गरेको विरोधसभा पनि नेता नेपाल यो वाक्य पटकपटक दोहोर्‍याउँथे। प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली सच्चिन नखोज्ने नेता भएको भन्दै नेपालले यो भनाइ बेलाबेला उठाइरहन्छन्। राजनीतिक रुपमा ओलीको विगत र वर्तमान राम्ररी बुझेका नेता नेपालको अभिव्यक्तिलाई कतिपयले निराशावादी पनि भन्ने गर्छन्।   

अहिले संकटबाट गुज्रिरहेको एमालेलाई एकताबद्व बनाउन दुवै तर्फका नेता सक्रिय छन्। नेता नेपाल नेताहरुले गरेको प्रयासबाट पनि बालुवा पेलेर तेल निस्केला भन्नेमा विश्वस्त देखिएका छैनन्। ‘अझै पनि केही साथीहरूलाई लागेको छ– बालुवा पेलेर तेल निस्कन्छ कि भनेर,’ राजनीतिक बिटमा कार्यरत पत्रकारहरुसँग शनिबारको कुराकानीमा नेता नेपालले भने, ‘बालुवा पेलेर तेल निस्कने वाला छैन। म गलत साबित भइदिऊँ भन्ने पनि लागेको छ। तर, धेरै पटकको धोका, चालबाजीले हामी वाक्कदिक्क भएर हैरान भइसकेका छौं।’ उनले अहिले त अरू राजनीतिक दल र सिंगो देश नै ओलीका कारणले हैरान भइसकेको बताए।

corrent noodles
Metro Mart

नेकपा एमाले स्थायी कमिटीकाे आइतबार बालुवाटारमा बसेकाे  बैठक। तस्बिर साैजन्य : राजन काफ्ले/प्रधानमन्त्रीकाे निजी सचिवालय

उसो त नेता नेपालले भनेजस्तै एमाले विवाद समाधानका लागि दोस्रो तहका केही नेता क्रियाशील भएर लागे पनि अहिलेसम्म ठोस निचोड निस्कन सकेको छैन। नेताहरुका आपसी इगो, टकराव र प्रतिष्ठाको दाउपेचका कारण एमालेको भविष्य अन्धकारमय बन्दै गएको गुनासो मध्यमार्गी नेताहरूको छ। 

‘अहिले ओलीलाई मात्र दोष दिने वा नेपाललाई मात्रै दोष दिने भन्ने होइन। दुवै नेताहरुको इगोले एमाले कमजोर बनिरहेको छ,’ एमालेभित्रका मध्यमार्गी एक नेता भन्छन्, ‘मुख्य रुपमा संस्थापन अर्थात् नेतृत्वका हिसाबले ओली नै जिम्मेवार हुनुपर्छ। तर, यो भनिरहँदा नेता नेपालका पछिल्ला गतिविधि एकताविरोधी छन्।’ 

नेपाल पक्षका एमालेका नेता जगन्नाथ खतिवडा अध्यक्ष केपी ओलीले गरेका गल्तीका कारण अहिलेको स्थिति उत्पन्न भएको बताउँछन्।
‘कमरेड ओलीले फागुन २८ मा जुन निर्णय गर्नुभयो त्यसपछि समानान्तर कमिटी लगायतका गतिविधि भएका हुन्,’ उनले भने, ‘यस्तो अवस्थामा तिमीहरु दुवैले गल्ती गरेको भन्दा पहिलो गल्ती ढाकछोप हुन्छ।’ खतिवडाले ओली सच्चिएर आएमा स्वाभाविक रुपमा नै अर्को पक्ष सच्चिने बताए। 

जेठ २३ मा ओलीले पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए। त्यसको उत्तर पनि माधव–झलनाथ पक्षले पनि ६ बुँदामै दियो। असन्तुष्ट पक्ष २०७५ जेठ २ मा पार्टीलाई फर्काउनुपर्ने र प्रतिगमन सच्चाउनुपर्ने अडानमा छ। तर ओली पक्ष त्यसमा सहमत भएको छैन। दुवै पक्षका दोस्रो तहका नेताहरु आफ्नो तहबाट एमालेभित्रको विवाद समाधानका लागि निरन्तर संवाद र छलफलमा छन्। तर, ठोस सहमतिमा उनीहरु पुग्न सकेका छैनन्। 

प्लोर क्रस गर्दा पनि कारबाहीको विषय बन्दैन भने यो मुलुकमा दलीय प्रणाली टिक्छ? हाम्रो चिन्ता मुलुकको दलीय प्रणालीसँग सम्बन्धित हो। अहिले एमालेलाई परेको समस्यामा खुचिङ नगर्न अरु दललाई हामी आग्रह गर्न चाहन्छौं। -प्रदीप ज्ञवाली, प्रवक्ता एमाले

जेठ २७ मा नेपाल पक्षले अघि सार्दै आएको मागअनुसार नै अदालतले पनि दसौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिएन। यसविरुद्ध संस्थापन पक्ष पुनरवलोकनका लागि सर्वोच्च अदालत गयो।  त्यसबाट पनि एमालेको एकताका लागि भइरहेका प्रयासमा केही संशय पैदा गरेको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवाली भने प्रणाली रक्षाका लागि भ्याकेटमा गएको भन्दै यसले एकतामा कुनै असर नपार्ने बताउँछन्।

‘प्लोर क्रस गर्दा पनि कारबाहीको विषय बन्दैन भने यो मुलुकमा दलीय प्रणाली टिक्छ? हाम्रो चिन्ता मुलुकको दलीय प्रणालीसँग सम्बन्धित हो,’ उनी भन्छन्, ‘अहिले एमालेलाई परेको समस्यामा खुचिङ नगर्न अरु दललाई हामी आग्रह गर्न चाहन्छौं।’

पछिल्लो समय एमालेको संस्थापन पक्ष पनि हदैसम्म लचक भएर प्रस्तुत हुने मनस्थितिमा पुगेको छ। यसका लागि महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बोलाइएको छ। बैठकले एकताका लागि अन्तिम पटक आह्वान गर्ने बताइएको छ। 

‘नेपालसहितका केही नेता अब एमालेमै रहलान् भनेर उनीहरुका पछिल्ला गतिविधिले आँकलन त गर्न नसक्ने स्थितिमा हामी पुगिसकेकै हौं,’ ओली निकट एक नेता भन्छन्, ‘तर, पनि एमाले एकताले नै सबैको हित गर्ने भएकाले अन्तिम प्रयासस्वरुप आयोजक कमिटीको बैठकले केही न केही सकारात्मकै निर्णय लिन्छ।’ नेता नेपालका गतिविधि एकपछि अर्काे पार्टी एकताविरुद्ध भएको उनी बताउँछन्। 

आइतबार बसेको स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले पनि नेता नेपाललाई अर्का अध्यक्ष बनाएर भए पनि एमाले एकताबद्ध हुन्छ भने त्यसतर्फ विचार गर्नुपर्ने प्रस्ताव राखेका थिए। यद्यपियसमा अध्यक्ष ओलीसहित अन्य नेताहरुले भने कुनै प्रतिक्रिया दिएनन्। 

सम्भवतः असार १६ गते बोलाइएको महाधिवेशन आयोजक कमिटी  बैठकले पार्टीलाई २०७५ जेठ २ बाट नै अगाडि बढाउने निर्णय गर्दै अघि बढ्ने बताइएको छ। एमाले स्रोतका अनुसार ओली महाधिवेशन आयोजक कमिटी भंग गरेर पुरानै संरचनाअनुसार अघि बढ्न खोजेको संकेत देखिएको छ। 

अब एमालेमा ‘महाधिवेशन आयोजक कमिटी नामक अस्थायी संरचना रहँदैन। साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसैले अघि बढाउँछ। पार्टी एकताका लागि यस विकल्प सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ।’ 

नेता विष्णु रिजालले ट्विट गर्दै भनेका छन्, ‘अब एमालेमा ‘महाधिवेशन आयोजक कमिटी नामक अस्थायी संरचना रहँदैन। साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसैले अघि बढाउँछ। पार्टी एकताका लागि यस विकल्प सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ।’ 

उनको यो भनाइले पनि ओलीले आयोजक कमिटी भंग गरेर पुरानै संरचनाअनुसार अघि बढ्न खोजेको पुष्टि गर्छ। यद्यपि असार १६ बैठक बसेपछि मात्रै यसको आधिकारिक निर्णय हुनेछ।  नेता खतिवडा गत फागुन २८ पछाडि धेरै कुरा परिवर्तन भइसकेकाले जेठ २ मा फर्किनेबित्तिकै पनि एमालेभित्रको समस्या समाधान नहुने तर्क राख्छन्। ‘जेठ २ मा गइसकेपछि के गर्ने, त्यसपछि बनेका कमिटी, प्रतिगमन सच्चाउने कुरा, नेताकार्यकर्तालाई समानतापूर्वक व्यवहार र पार्टी विधिविधानबाट चलाउन के गर्ने भन्ने लगायतका विषयमा समग्र कुराको प्याकेजमा नै सहमति नगरीकन विवाद समाधान हुँदैन,’ उनले भने। 

उनी केपी ओली र माधव नेपाल मात्रै मिलेर पनि एमालेभित्रको अहिले देखिएको विवाद समाधान नहुने बताउँछन्। ‘समस्या उहाँहरु दुईजनाको टाउँको जोडेर मात्रै हुने होइन,’ उनले भने, ‘नीतिगत प्रस्टता र संगठनात्मक द्वन्द्व व्यवस्थापन भएपछि मात्र मिल्ने कुरा हो।’ 
व्यवहारमा टालटुल गरेर माधव नेपाललाई प्रधानमन्त्री वा अध्यक्ष दिएर मिलाउन सकिन्छ कि भनेर केहीले कोसिस गरिरहेको भन्दै उनले विचारको प्रश्न छोडेर समस्या समाधान नदिने बताए। 

एमालेलाई एकताबद्व बनाउन ओली पक्षीय नेता सुबास नेम्बाङ, विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्टले निरन्तर संवाद गरिरहेका हुन्। संवादमा रहेका नेता आचार्य एकता भाँड्न विभिन्न तहबाट प्रयास भए पनि आफूहरुको कोसिस एकताका लागि जारी रहेको बताउँछन्।  

‘विभिन्न विभाजनकारी गतिविधि भइरहेका छन्। तर, पनि हामी कसरी मिलाउन सकिन्छ भनेर लागिरहेका छौं,’ उनले भने, ‘एकदुई दिनमा केही निष्कर्षमा पुग्छौं।’ उनले आफूहरु एकता जोगाउन विभिन्न विकल्पमा रहेर छलफल र संवाद गरिरहेको बताए।  एमाले प्रवक्ता प्रदीप ज्ञवाली पनि एकताका लागि आफूहरूको तर्फबाट हरसम्भव प्रयत्न भइरहेको बताउँछन्।

‘औपचारिक र अनौपचारिक विभिन्न तहबाट कुराकानी भइरहेको छ। पार्टी नेतृत्वका तर्फबाट एमालेको एकतालाई सुदृढ गरेर मात्र लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न सकिन्छ भन्ने नै हो। एमाले कमजोर हुँदा सबै कुरा संकटमा पर्छ भनेर हरसम्भव प्रयत्न जारी छ।’

‘औपचारिक र अनौपचारिक विभिन्न तहबाट कुराकानी भइरहेको छ। पार्टी नेतृत्वका तर्फबाट एमालेको एकतालाई सुदृढ गरेर मात्र लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न सकिन्छ भन्ने नै हो। एमाले कमजोर हुँदा सबै कुरा संकटमा पर्छ भनेर हरसम्भव प्रयत्न जारी छ,’ उनले भने, ‘कतिपय नेताहरुका व्यवहार एकतासँग मेल खाने छैनन्। एमालेलाई एकताबद्ध नभई विभाजित गर्ने काम भएको छ।’ सर्वोच्च अदालतको जेठ २७ को फैसलाको परिप्रेक्ष्यमा असार १६ गते बोलाइएको महाधिवेशन आयोजक कमिटीले केही निर्णय गर्न सक्ने उनले बताए। २०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपाको एकीकरण अवैध भन्दै एमाले र माओवादी केन्द्रलाई पूवर्वत रुपमा नै फर्काइदिएको थियो। 

त्यसपछि एमाले अदालतको आदेशअनुसार अघि बढ्न नसकेपछि विवादले तीव्र रुपले अघि बढ्दै विभाजनकै अवस्थामा आइपुगेको हो। कानुनी रुपमा एक रहे पनि एमाले राजनीतिक रुपमा छुट्टाछुट्टै गतिविधि गर्दै आइरहेको छ। 

प्रकाशित: Jun 27, 2021| 15:07 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।