मोरङ- मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ४ मा छोराले कुटपिट गरी गम्भीर घाइते बनाएका बाबुको आइतबार बिहान मृत्यु भएको छ। अस्पताल पुगे पनि खर्च अभावका कारण उपचार हुन नसकेपछि सुनवर्षी–४ का ६८ वर्षीय टिनताल ताजपुरियाको घरमै ज्यान गएको हो। छोरा दयालु ताजपुरियाको ढुंगा प्रहारबाट गम्भीर घाइते भएका टिनताललाई कोसी अस्पतालले अन्यत्रै रिफर गरे पनि खर्च अभावका कारण उनलाई घरमा लगिएको थियो।
कसरी भयो घटना?
पछिल्लो समय टिनलालका छोरा ४० वर्षीय दयालुले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गर्न थालेका थिए। केही महिनायता उनले दिनहुँजसो मादक पदार्थ सेवन गर्ने र घरमा झगडा गर्ने गरेको पाइएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए। उनका अनुसार शुक्रबार राति पनि दयालुले मादक पदार्थ सेवन गरेका थिए। मापसे गरेपछि यसै विययमा ताजपुरियाको घरमा पारिवारिक विवाद भयो। बेलुका विवाद भए पनि मदिराको मातमा उनी केही समयपछि सुतेका थिए। अत्यधिक सेवन गरेका कारण मदिराले बिहानसम्म पनि छोडिसकेको थिएन।
राति परिवारमा विवाद केही मत्थर भए पनि टिनलाल बरन्डामा सुतेका थिए। निरीक्षक खड्काका अनुसार भित्रबाट बाहिर पुगेका छारा दयालुले बाबु सुतिरहेकै अवस्थामा ढुंगा प्रहार गरेका थिए। उनले घरमा भेटिएका सामग्रीले बाबुमाथि प्रहार गर्न थाले। टिनलालमाथि ढुंगा प्रहार भएको प्रारम्भिक अनुसन्धानले देखाएको निरीक्षक खड्काको भनाइ छ।
'शुक्रबार राति नै परिवारमा विवाद भएको देखिएको छ। तर दयालुले शनिबार बिहान बाबुमाथि ढुंगा प्रहार गरेको देखिएको छ,' प्रहरी निरीक्षक अनमोल खड्काले भने, 'घरको बरन्डामा सुतिरहेका बाबुलाई दयालुले टाउकोमा ढुंगा प्रहार गरेका थिए।'
'शुक्रबार राति नै परिवारमा विवाद भएको देखिएको छ। तर दयालुले शनिबार बिहान बाबुमाथि ढुंगा प्रहार गरेको देखिएको छ,' निरीक्षक खड्काले भने, 'घरको बरन्डामा सुतिरहेका बाबुलाई दयालुले टाउकोमा ढुंगा प्रहार गरेका थिए।'
आफूमाथि छोरा दयालुले ढुंगा प्रहार गरेपछि टिनलाल चिच्याएका थिए। हजुरबुबा (टिनलाल) चिच्याएको सुनेपछि उनकी नातिनी (दयालुकी छोरी) घरभित्रबाट बरन्डामा निस्किएकी थिइन्।
छोरीलाई देखेपछि बाबुमाथि हिर्काउँदै गरेका दयालुले ढुंगा फालेका थिए। 'बाबुमाथि ढुंगा प्रहार गर्दै गरेका दयालुले छोरीलाई देखेपछि ढुंगा फालेर छोरीमाथि नै आक्रमण गर्न झम्टिएको देखिएको छ,' उनले भने। बाबुमाथि ढुंगा प्रहार गर्दै गरेका उनी र छोरीबीच देखादेख भएपछि दयालुले हात धोएको देखिएको प्रहरीको भनाइ छ। आफूमाथि आक्रमण गर्न बाबु दयालु झम्टिए पनि छोरी भाग्न सफल भइन्। उनी भागेर गएर गाउँघरमा हल्लाखल्ला गरिन्। यसपछि आफन्त र छरछिमेकी टिनलालको घरमा पुगेका थिए।
खर्च अभावले अस्पतालबाट फिर्ता
आफन्त र छरछिमेकी घटनास्थल पुग्दा टिनलालको अवस्था गम्भीर थियो। उनीहरूले तुरुन्तै कोसी अस्पताल विराटनगर पुर्याएका थिए। अस्पतालले परीक्षण गर्यो। तर कोसी अस्पतालमा उनलाई चाहिने उपचार गर्न सम्भव नभएकाले तुरुन्तै अन्य अस्पताल लैजानका लागि रिफर गरिदिएको थियो।
पारिवारिक आर्थिक अवस्था कमजोर भएको ताजपुरिया परिवारले टिनलाललाई निजी अस्पतालमा लगेर उपचार गर्न नसकिने निष्कर्ष निकाल्यो। उनीहरूले गम्भीर घाइते भएका टिनलाललाई सुनवर्षीस्थित आफ्नै घर लैजाने निर्णय गरे। उनीहरूले शनिबारै टिनलाललाई घर पुर्याएका थिए।
'कोसी अस्पतालमा उपचार हुन नसक्ने भएपछि त्यहाँबाट रिफर गरिएको थियो। तर आफन्तले टिनलाललाई अन्य अस्तपाल नलगी घरै ल्याउनुभयो। आर्थिक अवस्था कमजोर भएका कारण सुविधासम्पन्न अस्पताल नलगी घरमा ल्याइएको हो,' स्थानीय सञ्चारकर्मी वीरेन्द्र साहले भने। उपचार गर्न खर्च अभावका कारण घर फर्काइएका टिनलालको आइतबार बिहान ५ बजे घरमा नै मृत्यु भएको निरीक्षक खड्काको भनाइ छ।
दयालु पक्राउ
बुबाको हत्या गरेको आरोपमा दयालु पक्राउ परेका छन्। शनिबार बिहान ६ बजेतिर ओछ्यानमा सुतिरहेको बेला वृद्ध बुवालाई ढुंगाले हानेर गम्भीर घाइते बनाएको र पछि उनको मृत्यु भएपछि दयालुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए।
आरोपित विरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको उनको भनाइ छ। अनुसन्धानअनुसार मापसेबाहेक अन्य कारण नदेखिएको उनले बताए। डीएसपी मुकारुङका अनुसार मृतक टिनलालको शवको पोस्टमार्टम रिपोर्ट पनि आइसेकेको छ। कोसी अस्पतालमा पोस्टमार्टम गरी टिनलालको शव आफन्तलाई जिम्मा लगाइसकिएको उनले जानकारी दिए।