धनगढी- सुदूरपश्चिम प्रदेशमा ९८ प्रतिशत बढी कोरोना संक्रमणमुक्त भएका छन्। प्रदेशमा हालसम्म ४३ हजार ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ४२ हजार ६६१ जना संक्रमणमुक्त भएका छन्।
सुदूरपश्चिममा हालसम्म २ लाख ६० हजार १६० जनाको ऐन्टीजेन र पीसीआर बिधिबाट कोरोना जाँच भएको छ। पछिल्लो समय सुदूरपश्चिममा कोरोनाका नयाँ संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढी भएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा २४ जना कोरोनाका नयाँ संक्रमित थपिएकोमा ३० जना डिस्चार्ज भएका छन्। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९८.०९ प्रतिशत पुगेको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ५७० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुदूरपश्चिममा पछिल्लो चार दिनयता कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।
सुदूरपश्चिमका विभिन्न अस्पतालमा हाल ४१ जनाको उपचार भइरहेको छ। सोमध्ये ९ जनाको आईसीयू र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। प्रदेशका विभिन्न १२ वटा सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेकोमा ८ वटा अस्पतालमा उपचार गराउनेको संख्या शून्य भएको छ ।
निर्देशनालयका अनुसार गोकुलेश्वर, अछाम, बझाङ र बैतडी अस्पतालमा उपचाररत सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्।
बयलपाटा अस्पताल र जिल्ला अस्पताल डोटीमा एक/एक जना कोरोना संक्रमितको उपचार भइरहेको छ।
सबैभन्दा बढी सेती प्रादेशिक अस्पतालमा १८ जनाको उपचार भइरहेको छ। सोमध्ये एक जनाको भेन्टिलेटर र ६ जनाको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ। महाकाली र टिकापुर अस्पतालमा ६/६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। सोमध्ये टिकापुर अस्पतालमा एक जनाको भेन्टिलेटर र एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ। डडेल्धुरा अस्पतालमा ५ जनाको उपचार भइरहेकोमा दुई जनाको आइसियु र एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
जिल्ला अस्पताल दार्चुला र जिल्ला अस्पताल बाजुरामा दुई/दुई जना कोरोना संक्रमितको उपचार भइरहेको छ।