काठमाडौं– नेपाल र चीनबीच उच्चस्तरीय भ्रमण आदानप्रदान शुरु भएका ६२ वर्षको शृंखला असन्तुलित देखिएको छ । सन् १९५६ अर्थात् विसं २०१३ यता नेपालबाट २६ पटक भ्रमण भइसकेको छ भने चीनबाट जम्मा नौ पटक ।
विसं २०१३ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले चीनको औपचारिक भ्रमण गरेका थिए । त्यसको चार वर्षपछि ०१७ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला चीन भ्रमणमा गएका थिए ।
१ पुस ०१७ को ‘कु’ गरेलगत्तै तत्कालीन राजा महेन्द्र चीन भ्रमणमा निस्केका थिए । त्यसपछि पञ्चायतकालमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले सन् १९७२ र १९७८ मा दुई पटक चीन भ्रमण गरे ।
तत्कालीन राजा वीरेन्द्रले सन् १९७३, १९८२, १९८७, १९९३, १९९६ र २००१ मा गरी ६ पटक चीनको राजकीय भ्रमण गरेका थिए । सन् १९९२ र १९९३ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि चीन भ्रमण गरे । त्यसपछि सन् १९९५ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्दा शेरबहादुर देउवा पनि चीन भ्रमणमा गएका थिए ।
राजगद्दी सम्हालेपछि पूर्वराजा ज्ञानेन्द्रले पनि सन् २००२ र २००५ मा चीनको राजकीय भ्रमण गरे ।
२०६२÷०६३ को परिवर्तन र पहिलो संविधानसभाको निर्वाचनलगत्तै प्रधानमन्त्री बनेका तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलम्पिकको समापन समारोहमा भाग लिन बेइजिङ पुगे । त्यतिबेला प्रचण्डले प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जाने परम्परा तोडेका थिए, जसमा भारतीय पक्षबाट तीव्र असन्तुष्टी व्यक्त भएको थियो ।
दाहाल दोस्रो पटक प्रधानमन्त्री बन्दा अक्टोबर २०१६ मा भारतको तटीय शहर गोवामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ‘साइड लाइन’ वार्ता गरेका थिए । त्यतिबेला प्रचण्ड, चिनियाँ राष्ट्रपति सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको एकसाथ अनौपचारिक भेटघाटले व्यापक चर्चा पाएको थियो । उनीहरू ब्रिक्स–बिमस्टेक शिखर सम्मेलनमा भाग लिन गोवा पुगेका थिए । मार्च २०१७ मा पनि प्रचण्ड बोआओ फोरममा भाग लिएका थिए । र, त्यतिबेला पनि चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पनि सन् २००९ मा चीनको औपचारिक भ्रमण गरेका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सन् २०१४ मा दोस्रो चीन–दक्षिण एसिया एक्स्पोजिसन तथा चीन कुन्मिङ आयात–निर्यात कमोडिटिजमा भाग लिएका थिए, चीन पुगेर । इन्डोनेसियाको जाकार्तामा आयोजित ‘कमेमोरेटिभ कन्फरेन्स अफ दी सिक्स्टिथ एनिभर्सरी अफ अफ्रो–एसियन समिट’मा भाग लिन गएका कोइरालाले चिनियाँ राष्ट्रपति सीसँग ‘साइड लाइन’ वार्ता गरेका थिए ।
प्रथम राष्ट्रपति डा. रामवरण यादवले सन् २०१० मा सांघाई एक्स्पोको सामापन समारोह तथा सन् २०१५ मा बोआओ फोरममा सभागिता जनाएका थिए । नेपालमा नयाँ संविधान जारी भएलगत्तै भारतले नाकाबन्दी गरेको बेला तत्कालीन प्रधानमन्त्री केपी ओलीले सन् २०१६ मा चीनको भ्रमण गरेर ऐतिहासिक सम्झौता÷समझदारी गरेका थिए ।
यस्तै, प्रथम उपराष्ट्रपति परमानन्द झा सन् २०१३ मा पहिलो चीन–दक्षिण एसिया एक्स्पो तथा सन् २०१५ मा छैटौं ‘युरो–एसिया फोरम अफ दी एससीओ’मा भाग लिन चीन पुगेका थिए । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले सन् २०१६ मा चौथो चीन–दक्षिण एसिया एक्स्पो र ‘चीन कुन्मिङ आयात–निर्यात एक्स्पोमा भाग लिएका थिए ।
चीनको तर्फबाट सन् १९५७ र १९६० मा तत्कालीन प्रधानमन्त्री चाउ एनलाईले नेपाल भ्रमण गरेका थिए । उपप्रधानमन्त्रीको हैसियतमा देङ सियाओ पिङले सन् १९७८ मा नेपाल भ्रमण गरेका थिए । सन् १९८१ मा तत्कालीन प्रधानमन्त्री चाउ जियाङ पनि नेपाल भ्रमणमा आएका थिए ।
नेपाल भ्रमणमा आउने पहिलो चिनियाँ राष्ट्रपति थिए, ली सियानियान । उनले सन् १९८४ मा नेपाल भ्रमण गरेका थिए । सन् १९८९ मा तत्कालीन प्रधानमन्त्री ली पेङ पनि नेपाल भ्रमणमा आए । त्यसको सात वर्षपछि तत्कालीन राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरे, सन् १९९६ मा । त्यसयता चिनियाँ राष्ट्रप्रमुख नेपाल भ्रमणमा आएका छैनन् ।
सन् २००१ मा तत्कालीन प्रधानमन्त्री झु रोङ्जीले नेपालको औपचारिक भ्रमण गरे । सन् २०१२ मा आएका प्रधानमन्त्री वेन जियाबाओले भने काठमाडौंमा जम्मा पाँच घण्टा बिताएका थिए । तिब्बती शरणार्थीको आन्दोलन जारी रहेको समयमा चिनियाँ प्रधानमन्त्रीको छोटो भ्रमणलाई अर्थपूर्ण रूपमा लिएको थियो । त्यसयताका ६ वर्षमा चिनियाँ सरकार प्रमुख पनि नेपाल आएका छैनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४