काठमाडौं- विपक्षी गठबन्धनका शीर्ष नेताहरूले सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन्। सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले बिहीबार दिउँसो दुई बजे संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा सम्पादकहरूसँग अन्तरक्रिया गर्ने जनाएका हुन्।
उनीहरूले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सम्पादकसँग अन्तर्क्रिया गर्न लागेका हुन्। कांग्रेस सभापति देउवा निवासमा बुधबार साँझ बसेको पाँच दलीय गठबन्धनको बैठकले सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध नागरिक समाज, बुद्धिजीवीलगायतसँग अन्तरक्रिया गर्ने निर्णय गरेको थियो।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सम्पादकहरूसँगको अन्तरक्रियामा सहभागी हुने छन्।