शनिबार, वैशाख ८, २०८१

पोस्ट कोभिड सिन्ड्रोम– देखिँदैछन् यस्ता समस्या

कोरोना संक्रमणमुक्त भएका मानिस आफूलाई धेरै थकान हुने र काम गर्नै नसक्ने, छाती दुख्ने, सास फेर्न सहज नहुने, टाउको दुख्ने लगायत समस्या लिएर अस्पताल पुग्ने गरेका छन्।
 |  सोमबार, असार ७, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, असार ७, २०७८

केस–१

triton college

नेपालमा कोरोना संक्रमणको पहिलो लहरको मध्य समय चल्दै थियो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनलाई एक महिलाको फोन आयो। फोनमा उनले भनिन्, ‘डा. साब! म आजकल काम गर्नै सक्दिनँ, एकैछिनमा गल्छु, छाती दुखिरहन्छ, एकदमै थकित हुन्छु, मुटुको धड्कन छिट्छिटो चल्छ। के भएको हो?’ 

डा. पुनले उनको स्वास्थ्य अवस्था बुझिहाले। उनलाई ५–६ हप्ता अगाडि कोरोना संक्रमण भएको रहेछ। केही दिन अस्पताल बसेर निको भएपछि घर फर्किएकी रहिछन्। कोरोनाकै असर हो भन्ने डा. पुनले बुझे र उनलाई आवश्यक परामर्श दिए। 

केस–२

नुवाकोटका कृष्ण तिवारीलाई गत वैशाखमा कोरोना संक्रमण पुष्टि भयो। स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुगेका उनी करिब २० दिन बसे। स्वास्थ्यमा केही राम्रो भएपछि उनी घर फर्किए। नेगेटिभ रिपोर्ट आएको डेढ महिना भइसक्दा पनि कृष्णलाई सहज महसुस भएको छैन। एकैछिन हिँड्दा पनि सास फेर्न गाह्रो हुने, छाती दुख्ने, थकान बढी हुने, कमजोर महसुस हुने समस्या भइरहेको छ। ४० वर्षका पौडेल अहिले पनि कार्यालयमा सहज तरिकाले काम गर्न नसकिरहेको बताउँछन्। 

corrent noodles
Metro Mart

केस ३

काठमाडौंकी ३० वर्षीया एक महिला गत बिहीबार शरीर दुख्ने, थकान हुने आदि समस्या लिएर अस्पताल पुगिन्। उनलाई ८ महिना अगाडि कोरोना संक्रमण भएको थियो। करिब १० दिनको अस्पताल बसाइपछि कोरोनामुक्त भएर उनी घर फर्किएकी थिइन्। तर घर गएपछि पनि उनलाई स्वास्थ्यमा समस्या देखिइरह्यो। विस्तारै निको होला भन्दै घरमै बसिन्। ७ महिनासम्म थकान हुने, जिउ दुख्ने, टाउको दुख्ने आदि समस्या भइरह्यो। केही नलागेपछि उनी अस्पताल पुगिन्। 

‘कोरोना निको भएको भने पनि मलाई कहिल्यै स्वास्थ्यमा सहज भएन । घरको आँगनबाट छतमा पुग्न पनि बीचमा बस्दै जानुपर्ने अवस्था छ। एकैछिनमा स्वाँस्वाँ हुन्छ। कानमा पनि अर्कैअर्कै आवाज आएको जस्तो हुन्छ। बाहिरबाट हेर्दा सामान्य देखिएकाले परिवारले पनि समस्यालाई त्यति ध्यान दिएनन्। मलाई त आजकल निकै डर लाग्छ, केही गर्नै सक्दिन जस्तो लाग्छ। म निकै कमजोर भइसकेको छु,’ उनले सुनाइन्।

०००

पछिल्ला केही साता यस्ता समस्या लिएर अस्पताल पुग्ने तथा चिकित्सकलाई फोन आउने क्रम बढिरहेको छ। कोरोना संक्रमणमुक्त भएका मानिस आफूलाई धेरै थकान हुने र काम गर्नै नसक्ने, छाती दुख्ने, सास फेर्न सहज नहुने, टाउको दुख्ने लगायत समस्या लिएर अस्पताल पुग्ने गरेका छन्।

नेपालमा पहिलोभन्दा दोस्रो लहरमा कोरोना संक्रमितको संख्या दोब्बर भयो। मृत्युदर पनि झण्डै पाँच गुणाले बढ्यो। अहिले भने संक्रमण र मृत्यु घट्दो क्रममा छ। तर, कोरोना निको भइसकेका व्यक्तिहरुमा पोस्ट कोभिड समस्या बढ्दो छ। यो चिन्ताको विषय भएको सम्बद्ध चिकित्सकहरु बताउँछन्। 

के हो पोस्ट कोभिड समस्या? 

सरुवा रोग विशेषज्ञ डा. पुन भन्छन्, ‘पोस्ट कोभिड समस्या भनेको कोरोना संक्रमण पुष्टि भई निको भइसकेपछि पीसीआरको नतिजा नेगेटिभ आइसकेपछि पुनः लक्षणहरु देखिनु वा स्वास्थ्यमा अन्य समस्याहरु देखिनु हो। कतिपयमा यस्तो समस्या जटिल पनि हुन सक्छ।’ उनका अनुसार कोरोनामुक्त भएका जोसुकैमा पोस्ट कोभिड समस्या देखा पर्न सक्छ। लामो समय अस्पताल बसेका वा संक्रमण पुष्टि भए पनि त्यति धेरै असर नगरेका व्यक्तिमा पनि पोस्ट कोभिडको समस्या देखिएको चिकित्सकहरु बताउँछन्। 

त्रिवि शिक्षण अस्पतालका कोभिड युनिट संयोजक डा. सन्तकुमार दासका अनुसार कोरोना संक्रमण पुष्टि भएर निको भएका व्यक्तिहरुमा विभिन्न समस्याहरु देखिन थालेको छ। धेरैजसो बिरामीमा थकान महसुस हुने, थोरै हिँड्दा पनि स्वाँस्वाँ हुने, सास फेर्न गाह्रो हुने, खोकी लागिरहने आदि  समस्या देखिएका छन्। 

शेरबहादुर पुन, सरुवा राेग विशेषज्ञ

यस्तो समस्या किन देखिँदै छ त? डा. दास भन्छन्, ‘कोरोना संक्रमित बिरामीलाई संक्रमण हुँदाको समयमा अक्सिजन धेरै चाहिने, ढिला अस्पताल पुग्ने, समयमै अक्सिजन तथा भेन्टिलेटर नपाउँदा उनीहरुको फोक्सोमा धेरै असर गरिसकेको हुन्छ। जसले गर्दा निको हुन धेरै समय लाग्ने भएकाले पोस्ट कोभिड समस्या देखिएको हो।’ उनका अनुसार पोस्ट कोभिडको समस्या भएका सबैभन्दा धेरै मानिसमा थकान महसुस भएको देखिएको छ। त्यसका साथै छाती दुख्ने, स्वाँस्वाँ हुने, जोर्नी दुख्ने, मुटुको धड्कन बढ्ने, निन्द्रा नलाग्ने, कान कराउने, बिर्सने आदि समस्या धेरै देखिएका छन्। 

‘अहिले मानिसहरु आत्तिएर अस्पताल आउन थालेका छन्,’ टेकु अस्पतालका डा. पुनले भने, ‘उनीहरुलाई परामर्शको आवश्यकता छ। कहाँ जाने, आफूलाई भएको समस्या कुन चिकित्सकलाई देखाउने भन्ने नै अलमलमा परेका छन् मानिसहरु।’

कतिपयले कोरोना लागेको समयभन्दा गाह्रो भएको बताउने गरेको डा. पुनले सुनाए। ‘मलाई त मर्छुजस्तै लाग्छ। कोरोना संक्रमण हुँदा पनि यति गाह्रो भएन। संक्रमण हुँदा डाक्टरको निगरानीमा भइयो। तर अहिले घरमा हुँदा यस्ता समस्या देखिँदा मानसिक रुपमा झनै तनाव हुँदो रहेछ,’ बिरामीको भनाइ उद्धृत गर्दै डा. पुनले भने।  

कोरोना भएर लामो समय अस्पताल बसेर फर्किएकामा पुनः संक्रमण हुने हो कि भन्ने तनाव बढी भएको देखिएको उनले सुनाए। ‘कोरोना संक्रमणबाट मुक्त भएको लामो समयसम्म पनि बिरामीहरु अस्पताल आउँछन्। पोस्ट कोभिड किन र कहिलेसम्म हुन्छ भन्नेबारेमा अध्ययन हुन बाँकी छ। यसको अध्ययन जरुरी छ,’ डा. पुनले भने।

पोस्ट कोभिड ओपीडीको तयारी 

कोभिड युनिफाइड अस्पतालका प्रशासकीय प्रमुख डा. जागेश्वर गौतमका अनुसार पहिलो लहरमा पनि कोरोना संक्रमणपछि पोस्ट कोभिड समस्या लिएर अस्पताल पुग्नेहरु केही मात्रामा देखिएका थिए। अहिले त्यो संख्या बढेको छ। डा. गौतम भन्छन्, ‘विशेषगरी कोरोना संक्रमण भएर अस्पतालमा लामो समय उपचारमा रहेका मानिसलाई पोस्ट कोभिड समस्या धेरै देखिएको छ। पहिलो लहरको तुलनामा दोस्रो लहरमा अस्पतालमा भर्ना हुनेको संख्या धेरै छ। त्यसैले पोस्ट कोभिडका समस्या देखिने क्रम पनि बढ्दै गएको छ।’

उनका अनुसार कोभिड युनिफाइड अस्पतालले पोस्ट कोभिड समस्याको उपचारका लागि ओपीडी सञ्चालन गर्ने तयारी गरेको छ। ‘नेगेटिभ रिपोर्ट आएर घर फर्किएकाहरुमा लामो समयसम्म स्वास्थ्यमा समस्या देखिएमा विशेषज्ञको सल्लाह लिनुपर्छ। पोस्ट कोभिड हो भने समयमै निर्क्योल गरेर उपचार गर्नुपर्छ,’ डा. गौतमले भने। 

नेपालमा कोरोना संक्रमितमध्ये कतिलाई पोस्ट कोभिड समस्या भएको छ भन्नेबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग यकिन तथ्यांक नभएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी बताउँछन्। यद्यपि, कोरोनाले फोक्सो बिगारिसकेको हुने भएकाले पोस्ट कोभिडपछि निमोनिया वा अन्य भाइरसले संक्रमण गर्ने जोखिम धेरै हुने उनको भनाइ छ। पोस्ट कोभिड समस्याबाट जोगिन पोषणयुक्त खानपानमा ध्यान दिन, मानसिक रुपमा पनि बलियो भइराख्न र चिकित्सकको निरन्तर परामर्शमा रहन विज्ञहरु सुझाव दिन्छन्।

प्रकाशित: Jun 21, 2021| 02:07 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्