काठमाडौं- युरो कपअन्तर्गत भर्खरै सम्पन्न खेलबाट हार व्यहोरे पनि समूह 'ए'को दोस्रो स्थानमा रहँदै वेल्स अन्तिम १६ मा प्रवेश गरेको छ। रोमस्थित ओलम्पिको रंगशालामा भर्खरै सम्पन्न खेलमा वेल्सले घरेलु टिम इटालीसँग १–० गोलको हार व्यहोरे पनि वेल्सले अन्तिम १६ को यात्रा निश्चित गरेको हो।
इटालीको जितका लागि माथ्यु पेसिनाले निर्णायक गोल गरेका थिए। पेसिनाको गोलसँगै पहिलो हाफमा इटाली गोल गोलले अघि रह्यो। तर दोस्रो हाफमा उसले कुनै गोल थप्न नसकेपछि पेसिनाको गोल नै खेलको निर्णायक बन्यो।
यता खेलको ५५औं मिनेटमा इथन एम्बडूले इटालीका फ्रेडेरिको बेनार्डिस्कीलाई खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए।
यससँगै १० खेलाडीमा समेटिएको वेल्सले गोल गर्न सफल भएन। उसले थप गोलको चुनौती पनि टारेको थियो। यो खेलमा हारे पनि वेल्स दोस्रो स्थानमा रहन सफल भएको छ।
समूह 'ए'का तीन खेलमा जित निकाल्दै इटालीले ९ अंक बनाएको छ। इटाली ३० अन्तर्राष्ट्रिय खेलमा अपराजित छ भने पछिल्ला १० खेलमा कुनै गोलको सामना गरेको छैन।
यता वेल्सले समूहमा चार अंक बनाएको छ। समान चार अंक बनाएको स्विट्जरल्यान्ड गोलअन्तरमा पछि पर्दै समूहको तेस्रो स्थानमा छ भने अंकविहीन भएर पुछारमा पुगेको टर्की प्रतियोतिाबाट बाहिरिएको छ।
समूह ए का खेल:
इटाली ३–० टर्की
टर्की ०-२ वेल्स
वेल्स १–१ स्विट्जरल्यान्ड
इटाली ३–० स्विट्जरल्यान्ड
इटाली १–० वेल्स
स्विट्जरल्यान्ड ३–१ टर्की