काठमाडौं- युरो कप २०२० बाट टर्की बाहिरिएको छ। समूह 'ए'मा रहेको टर्की समूह चरणको अन्तिम खेलमा स्विटजरल्यान्डसँग पराजित भएसँगै युरोकपबाट बाहिरिएको हो।
आइतबार राती भएको खेलमा स्वीट्जरल्यान्डविरुद्ध टर्कीले ३-१ गोलको हार व्यहोरेको हो। खेलमा स्विट्जरल्यान्डको लागि जयडन शचिउरीले दुई गोल गरे भने हरिस सेफेरोविचले एक गोल गरे। यता टर्कीका इरफान काभिजीले एक गोल फर्काएका थिए।
खेलको छैटौं मिनेटमै सेफेरोविचले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। शचिउरीले २६औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए।
यता दोस्रो हाफको ६२औं मिनेटमा टर्कीका काभिजीले गोल गरेपछि खेल २–१ भएको थियो। तर शचिउरीले ६८औं मिनेटमै दोस्रो गोल गर्दै खेललाई स्विट्जरल्यान्डलाई ३–१ गोलको अग्रता दिलाएका थिए।
यससँगै टर्कीले जारी युरो कपको तीन खेलमा पराजय व्यहोरेको छ। यता स्विट्जरल्यान्ड भने चार अंकका साथ समूहको तेस्रो स्थानमा छ। ऊ तेस्रो स्थानको उत्कृष्ट चार टिममा समावेश हुँदै अन्तिम १६ मा पुग्ने पर्खाइमा छ।
यता शीर्ष दुईमा रहेका इटाली र वेल्स अन्तिम १६ मा प्रवेश गरेका छन्।