शुक्रबार, वैशाख १४, २०८१

यी पाँच प्राविधिक विषय, जो पूर्वमा मात्रै पढाइन्छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- प्रदेश-१ धेरै विद्यार्थी प्लस टु सकेर उच्च प्राविधिक शिक्षाका लागि राजधानी काठमाडौं जाने गर्छन् । तर, केही यस्ता प्राविधिक विषय छन्, जो प्रदेश-१ मा मात्र पढ्न पाइन्छ । 

नेपाल समयले त्यस्ता पाँच वटा प्राविधिक विषय र पढाइ हुने कलेजबारे खोजविन गरेको छ । 

(१) कृषि इन्जिनियरिङ

कृषि गणना २०६८ अनुसार नेपालको ७१ प्रतिशत जनसंख्या पूर्ण रूपमा कृषिमा निर्भर छ । तर, खाद्यान्न आयात बढ्दो क्रममा छ । अधिकांश युवा शक्तिको विदेश पलायन त्यसको एक मात्र कारण हो । 

खाद्य सुरक्षा प्रत्याभूति गर्ने एक मात्र विकल्प भनेको खेती प्रणालिमा आधुनिकीकरण र यान्त्रीकरण हो । र, त्यसमा आवश्यक जनशक्ति धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ कलेजले उत्पादन गर्छ । र, मुलुकभरमा यहाँ मात्र यो विषय पढाइ हुन्छ । 

उक्त कलेजमा ०५७ देखि कृषि इन्जिनियरिङको पढाइ भइरहेको छ । यो त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस हो । र, हालसम्म सात सय ६८ जना कृषि इन्जिनियर तयार पारिसकेको छ । 

उक्त विषयको प्रवेश परीक्षामा सहभागी हुन विज्ञान विषयमा प्लस टु उत्तीर्ण गर्दा कम्तिमा ५० प्रतिशत ल्याएको हुनुपर्छ । ४८ वटा कोटामध्ये १२ जनाले पूर्ण छात्रवृत्ति पाउँछन् । 

३६ जनाले भने चार वर्षे अध्ययनका क्रममा करिब तीन लाख रुपैयाँ तिर्नुपर्छ । तर, आठ वटै सेमेस्टर टप गरेमा सबै रकम फिर्ता पाउँछन् । 

अर्थात्, राम्रो गर्न सक्नेले बिनालगानी कृषि इन्जिनियरिङ पढ्न पाउँछ । प्लस टु मा गणित विषय लिएका तथा ओभरसियर तह उत्तीर्ण गरेकाहरूले पढ्न पाउँछन्, कृषि इन्जिनियरिङ । 

कलेजको कृषि इन्जिनियरिङ विभागका पूर्वप्रमुख यामकुमार राई भन्छन्, 'देशले अबका वर्षमा कृषिमा लगानी गर्न अर्बौंका योजना ल्याउँदैछ । त्यस्ता योजनामा कृषि इन्जिनियरले राम्रो काम पाउन सक्छन् ।'

कोर्ष : कृषि इन्जिनियरिङ

अवधि : चार वर्ष 

प्रवेश परीक्षाको योग्यता : प्लस टुमा गणित लिएर ५० प्रतिशत प्राप्तांक

कोटा : ४८ जना

लागत : १२ वटा नि:शुल्क छात्रवृत्ति, बाँकी ३६ जनाले ३/३ लाख

पढाइ हुने संस्था: पूर्वाञ्चल क्याम्पस, तीनकुने, धरान 

(२) पोषण विज्ञान

मानव शरीरलाई आवश्यक पौष्टिक तत्व तथा खाद्यान्नको क्यालोरीलगायत अध्ययन गरिने विज्ञानलाई बीएससी न्युट्रिसन भनिन्छ । धरानस्थित हात्तीसारस्थित केन्द्रीय प्रविधि क्याम्पसमा मात्रै पढाइ हुन्छ, यो विषय । हालसम्म पहिलो ब्याच मात्रै उत्पादन भएको छ । 

सन् २०११ बाट पढाइ शुरु भएको यो विषयका पहिलो ब्याचका सबै विद्यार्थीले जागिर पाएको पोषण विज्ञानका विभागीय प्रमुख डम्बरबहादुर खड्का बताउँछन् । 

विज्ञान विषयमा प्लस टु गर्दा कम्तिमा दोस्रो श्रेणी ल्याउनेले प्रवेश परीक्षा दिन पाउँछन् । यो विषयको प्रवेश परिक्षा भदौ/असोजमा हुने गर्छ । 

कुल २४ कोटा छन् । तीमध्येका टप थ्री विद्यार्थीले छात्रवृत्ति पाउँछन् । पूर्ण शुल्कमा पढ्नेले भने चार वर्षभित्र तीन लाख ५० हजार रुपैयाँ बुझाउनुपर्छ । 

कोर्ष : बीएस्सी न्युट्रिसन

अवधि : चार वर्ष

प्रवेश परीक्षाको योग्यता : प्लस टुमा बायोलोजी लिएर ५० प्रतिशत प्राप्तांक

कोटा : २४ जना

लागत : तीन जनालाई नि:शुल्क छात्रवृत्ति, तीन जनालाई अर्धशुल्क र बाँकीलाई साढे तीन लाख

पढाइ हुने संस्था: केन्द्रीय प्रविधि क्याम्पस, धरान

(३) खाद्य प्रविधि (बीटेक फुड)

सरकारीस्तरमा नेपालमै एक मात्र धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा खाद्य प्रविधी पढाइ हुन्छ । दुई दशकदेखि शुरु भएको हो, यसको पढाइ ।

हाल ११ वटा निजी कलेजमा पनि यो विषय पढाइ हुन्छ । पूर्व क्षेत्रमा मात्रै चार वटा निजी कलेजमा खाद्य प्रविधि पढाइ हुन्छ । 

केन्द्रीय प्रविधि क्यापसमा खाद्य प्रविधि अध्ययन गर्न प्लस टुमा जीवविज्ञान लिएर कम्तिमा दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनु पर्छ । 

२४ वटा कोटामा १६ जनाले प्रतिस्पर्धाबाट राम्रो प्राप्तांक ल्याएर नि:शुल्क पढ्न पाउँछन् । चार जनाको भने अर्धशुल्क लिने व्यवस्था छ, जसमा चार वर्षको एक लाख रुपैयाँ लाग्छ । 

बाँकी चार जनाका लागि सार्क कोटा छ, जसमा नेपालबाहेक सात वटा सार्क मुलुकका विद्यार्थीले तीन लाख रुपैयाँ तिरेर चार वर्षे कोर्स पूरा गर्न पाउँछन् । 

'दुग्ध उद्योग, बेकरी कारखाना, जडीबुटी प्रशोधनलगायत क्षेत्रमा आफैं उद्यमी बन्न पनि खाद्य प्रविधिको पढाइ सहायक हुन्छ,' सहायक प्राध्यापक वसन्तकुमार राई भन्छन्, 'जागिर खान र दिन दुवै पक्षमा यो अध्ययन सही र सान्दर्भिक छ ।'

कोर्स : खाद्य प्रविधि (बीटेक फुड)

अवधि : चार वर्ष

प्रवेश परीक्षा योग्यता : प्लस टुमा गणित लिएर ५० प्रतिशत प्राप्तांक

कोटा : २४ जना

लागत : १६ वटा नि:शुल्क छात्रवृत्ति, तीन जनाले एक लाख, सार्क मुलुकका चार जनालाई तीन लाख

पढाइ हुने संस्था : केन्द्रीय प्रविधि क्याम्पस, धरान

(४) चिया विज्ञान (बीएस्सी टी साइन्स)

२०६९ सालदेखि झापा भद्रपुरको मेची बहुमुखी क्याम्पसमा यो विषय पढाइ भइरहेको छ । हालसम्म पहिलो ब्याच उत्पादन भएको छ । 

उक्त ब्याचका सबैले जागिर पाएको सहायक क्याम्पस प्रमुख लक्ष्मी निरौलाले बताए । पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुममा चियाको व्यावसायिक खेती हुन्छ । चिया बगानहरूको व्यवस्थापनमा उक्त विषयका विद्यार्थीले जागिर पाउँछन् । 

पहिलो ब्याचकी कुसुम भण्डारीले अन्तिम सेमेस्टर पढ्दापढ्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा लोकसेवा उत्तीर्ण गरेर जागिर पाइन् । जागिरको सिलसिलामा इलाममा रहेकी उनी भन्छिन्, 'आफैंले चिया र कफी उद्योग खोल्छु भन्नेलाई पनि यो पढाइ सहयोगी हुन्छ ।'

यस विषयमा ३२ जनाको कोटा छ । उत्कृष्ट अंक ल्याउनलेलाई पूर्ण छात्रवृत्तिको व्यवस्था छ । शुल्क तिरेर पढ्न चाहनेहरूले दुई लाख १० हजारमा चार वर्षे कोर्स लिन सक्छन् । 

स्नातक उत्तीर्णहरूले बोटानी विषयमा स्नातकोत्तर गर्न पाउँछन् । 
 
कोर्स : चिया विज्ञान (बीएस्सी टी साइन्स)

अवधि : चार वर्ष

प्रवेश परीक्षाको योग्यता : प्लस टुमा बायोलोजी लिएको

कोटा : ३२ जना

लागत : टपरहरूको नि:शुल्क र बाँकीको दुई लाख १० हजार

पढाइ हुने संस्था : मेची बहुमुखी क्याम्पस, भद्रपुर

(५) वागवानी विज्ञान (बीएस्सी हर्टिकल्चर एन्ड फ्लोरिकल्चर)

नेपालमा करोडभन्दा बढीको फूल तिहारमा मात्र आयात र खपत हुन्छ । जबकि, नेपालमै फूलखेती हुने प्रशस्त ठाउँ छन् । 

इलामको महेन्द्ररत्न बुहमुखी क्याम्पसमा तीन वर्षदेखि हर्टिकल्चर र फ्लोरिकल्चर विषय पढाइभइरहेको छ । 

कुल २९ जनाको कोटा छ । चार वर्षे अध्ययनका लागि तीन लाख ३२ हजार रुपैयाँ लाग्छ । प्रवेश परीक्षामा उच्च अंक ल्याउनेले नि:शुल्क पढ्न पाउँछन् । 

प्लस टुमा विज्ञान विषय अध्ययन गरेका विद्यार्थीले प्रवेश परीक्षामा सामेल हुन पाउँछन् । 

वागवानी विज्ञानका विभागीय प्रमुख मनोज बस्नेत भन्छन्, 'स्वरोजगार र रोगजारदाता हुन दुवै पक्षमा यो पढाइको ठूलो महत्व छ । अझ नेपालमा यसका दक्ष जनशक्ति नभएकाले अवसर बग्रेल्ती छन् ।'

कोर्स : वागवानी

अवधि : चार वर्ष

प्रवेश परीक्षाको योग्यता : प्लस टुमा बायोलोजीमा ५० प्रतिशत

कोटा : २९ जना 

लागत : चार वर्षका लागि तीन लाख ३२ हजार । टपरलाई नि:शुल्क ।

पढाइ हुने संस्था : महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।