काठमाडौं- विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार तीन वटा खेल हुँदैछन् ।
पहिलो खेलमा समुह एफ मा रहेको युरोपेली मुलुक स्विडेन र एसियाली मुलुक दक्षिण कोरिया भिड्दैछन् । खेल निजहनी नोभगोरोड रंगशालामा नेपाली समयअनुसार साझ पौने ६ बजे हुनेछ ।
दुबै टोली आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा छन् । यो समुहबाट जर्मनीलाई पराजित गर्दै मेक्सिकोले ३ अंक बटुली सकेको छ ।
११ पटक विश्वकप खेलेको स्वीडेनलाई १०औं पटक विश्वकप खेल्न लागेको दक्षिण कोरिया जसरी हुन्छ रोक्ने रणनीतिमा छ । स्वीडेन विश्वकपमा एक पटक उपविजेता बनेको छ भने दक्षिण कोरियाले अहिलेसम्म सेमिफाइनलसम्मको यात्रा मात्रै तय गरेको छ ।
अहिलेसम्म स्वीडेन र दक्षिण कोरिया ३ पटक आमुनेसामुने भएका छन् । जसमा एक पटक स्विडेन विजयी भएको छ भने बाँकी दुई खेल बराबरीमा सकिएको छ ।
यस्तै आजै हुने दोस्रो खेलमा युरोपेली मुलुक बेल्जियमविरुद्ध दक्षिण अमेरिकी मुलुक पानामा मैदानमा उत्रिदैछ ।
समुह जी मा रहेका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राती पौने ९ बजे हुनेछ । आफ्नो पहिलो खेलमा यी दुबै टोली जितको खोजीमा हुनेछन् ।
दुबै देश अहिलेसम्म विश्वकपको सेमिफाइनलसम्म पुग्न सकेका छैनन् । यसपटक यी दुबै टोली लयमा देखिएका छन् ।
विश्वकप फुटबलको अन्तर्गत आज हुने तेस्रो तथा अन्तिम खेलमा एकपटक विश्व विजेता बनिसकेको इङ्ल्यान्डविरुद्ध ट्युनिसिया मैदानमा उत्रिदैछ ।
२० बर्षपछि पुन विश्वकपमा एकै समुहमा परेका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राती पौने १२ बजे हुनेछ ।
इंग्ल्याण्ड रसिया विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्दै सुखद शुरुवात गर्ने तयारीमा छ भने ट्युनिसियाको इंग्ल्याण्डलाई रोक्ने रणनीति छ ।
अहलेसम्म ट्युनिसिया र इंग्ल्याण्डको २ खेलमा भेट भएको छ । जसमा एक खेल बराबरी भएको छ भने एक खेल इंग्ल्याण्डले जितेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४