काठमाडौं- राष्ट्रिय सभाका ५९ सांसदको कार्यकाल आज तय हुने भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आयोजना हुने गोलाप्रथामार्फत सांसदको कार्यकाल तय गर्न लागिएको हो ।
गोलाप्रथा बिहान ११ बजेपछि सुरु हुने संसद् सचिवालयले जनाएको छ । १९ सांसदको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल हुने गरी गोलाप्रथा गर्न लागिएको हो । प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सांसदको कार्यकाल सकिने संवैधानिक व्यवस्था छ ।
राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने, तर एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा सकिने संवैधानिक प्रावधान छ । संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाबाट गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार सोमबार गोलाप्रथा गर्न लागिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट तीनजना महिला, तीनजना खुला, एकजना दलित र एकजना अपांगता तथा अल्पसंख्यकबाट गरी आठजनाका दरले ५६ सांसदले प्रतिनिधित्व गरेका छन् ।
त्यसबाहेक तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिएका छन् । राष्ट्रिय सभाका सांसदको कार्यकाल पाँच समूहमा विभाजन गरी गोलाप्रथा गराउने नियमावलीमा व्यवस्था गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४