काठमाडौं– काठमाडौं महानगरपालिकाले बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका लागि राहतस्वरुप दुई करोड रुपैयाँ दिने प्रस्ताव गरेको छ। महानगरपालिकाको बिहीबार सुरु भएको नगर परिषद्मा मेयर विद्यासुन्दर शाक्यले मेलम्चीका बाढीपीडितलाई उक्त रकम सहयोग गर्ने प्रस्ताव गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।
प्रस्तावबारे छलफल भइरहेको छ। काठमाडौं महानगरपालिकाका बासिन्दाले मेलम्चीबाट ल्याइएको खानेपानी उपभोग गरिरहेका छन्। खानेपानीको मुहान हेलम्बु गाउँपालिकामा पर्दछ।
यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिकाको विपत् राहत कोषमा १० लाख र हेलम्बु गाउँपालिकाको विपत् राहत कोषमा १० रुपैयाँ जम्मा गर्ने निर्णय भएको प्रवक्ता राजाराम सुवेदीले जानकारी दिएका छन्। यसअघि गोकर्णेश्वर नगरपालिकाले पनि पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ।