बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख वासुदेव घिमिरेले बुधबार दशौं नगरसभाको पहिलो बैठकमा ‘समृद्ध नगर : खुसी नगरवासी’ लक्ष्य रहेको स्थानीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
नीति तथा कार्यक्रममा बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण, युवाअवस्थामा सीप, उद्यमशीलता र रोजगारी; जीवनको उत्तरार्धमा जेष्ठ नागरिकलाई सम्मान, संरक्षण र महिलालाई समतामूलक अवसर सिर्जनामा केन्द्रित रहेको नगर प्रमुख घिमिरेले बताए।
दोस्रो लहरको कोरोना महामारीले आर्थिक तथा सामाजिक क्षेत्र प्रभावित भैरहँदा ल्याइएको नीति तथा कार्यक्रममा तिलोत्तमाले सबै नगरवासीलाई छिटोभन्दा छिटो कोरोना खोपको पहुँचमा पुर्याउन कोरोना खोप अनुदान कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ।
सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, सुविधासम्पन्न बनाउँदै ७० वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुको आधारभूत स्वास्थ्य सेवा घरमै प्रदान गर्ने व्यवस्था मिलाउने घोषणा तिलोत्तमाले नीति तथा कार्यक्रममार्फत् गरेको छ।
तिलोत्तमाले शिक्षा क्षेत्रका चालू आर्थिक वर्षका प्रायः कार्यक्रमलाई निरन्तरता दिँदै सामुदायिक विद्यालयमा स्वच्छ खानेपानी, इन्टरनेट सेवाको व्यवस्था मिलाउने, कोभिड–१९ को संक्रमणबाट निधन भएका व्यक्तिका छोराछोरीलाई मावि तहसम्मको अध्ययनको लागि विशेष छात्रवृत्तिको व्यवस्था मिलाउने घोषणा गरेको छ।
सामुदायिक विद्यालयहरुको साझेदारीमा थप ३ वटा विद्यालयलाई बस खरिदको लागि प्रतिविद्यालय १० लाख विशेष अनुदान उपलब्ध गराउने नीति लिएको तिलोत्तमाले ‘ग’ वर्गको पहेलो कार्ड प्राप्त गरेका तर कुनै सरकारी सुविधा प्राप्त नगरेका अपाङ्गता भएकाहरुलाई प्रोत्साहनस्वरुप वार्षिक ६ हजार सामाजिक सुरक्षाभत्ता दिने घोषाणा गरेको छ।
यस्तै अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको उद्योग–व्यवसायमा लाग्ने करमा शतप्रतिशत छुट दिने, एकल महिलाको नाममा संचालित व्यवसाय र एकीकृत सम्पत्ति करमा ५० प्रतिशत छुट दिने नीति समेत नगरपालिकाले लिएको छ।
‘युवा तथा महिलासँग उपमेयर कार्यक्रम’ सञ्चालन गरी युवा तथा महिलाहरुलाई उद्यम, व्यवसाय, सीपसँग जोड्दै सहुलियतपूर्ण कर्जा व्यवस्था गर्ने नीति लिएको छ।
तिलोत्तमाले ‘मेयर नगर आवास कार्यक्रम’ सञ्चालन गरी आगामी आर्थिक वर्षमा मापदण्डको आधारमा अतिविपन्न निश्चित वर्ग/समुदायका ५० परिवारलाई घर बनाउन प्रतिघर रु २ लाख अनुदान उपलब्ध गराइने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षमा नयाँ सडक कालोपत्रे गर्ने कार्यलाई भन्दा पुराना जीर्ण अवस्थामा रहेका पक्की सडकको मर्मत सम्भारलाई प्राथमिकता दिइने, घर नक्सा पासलाई अनलाइन प्रविधिबाट डिजिटलाइज गर्ने, विपद्मा छिटो छरितो उद्धार तथा व्यवस्थापन गर्न दक्ष जनशक्तिसहितको विपद् व्यवस्थापन केन्द्र निर्माण गरिने तिलोत्तमाको नीति तथा कार्यक्रममा उल्लेख छ।
सबै वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थालगायतका नगरपालिका मातहतका कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउनको लागि नगरपालिकाको आफ्नै अप्टिकल फाइबर सञ्जाल विस्तार गरिने पनि नगरपालिकाले जनाएको छ। नगरसभाको अर्को बैठक यही असार ८ गते बस्नेछ। स्थानीय सरकारको यो बजेट अधिवेशन हो।