ब्लग विचार

अमेरिकामा एसियालीमाथि रंगभेदी अपराध

1626517427.tara didi hiii.jpg

गत साता कार्यालयको काम सकेर पाँच जना सहकर्मी आपसमा गफगाफ गर्दै घर फर्कनका लागि रेल स्टेसनतर्फ लाग्दै थियौं। पाँचमध्ये म एसियाली, दुई  दक्षिण अमेरिकी तथा बाँकी दुई जना स्पेनिस र अफ्रिकी मूलका थिए। बाटोमा हिँड्दै गर्दा एकजना अधबैंसे चिनियाँ मूलकी महिलाले एक जना कालो वर्णका युवकलाई देखेपछि परैबाट तीन पटकसम्म थुथुथु गर्दै थुकिन्। हामी अक्क न बक्क भयौं। 

किन यसो गरेको भनेर मैले सोध्न खोज्दाखोज्दै उनले बाटो काटिन्। त्यसै बेला ट्राफिक लाइट बलेकोले रोकिनु पर्‍याे। उनी आफ्नो बाटोतिर छलिएर विलीन भइन्। मैले सम्बन्धित कालो वर्णका व्यक्तिलाई कानुनी उपचारका लागि पहल गरौं भन्ने प्रस्ताव गरें। तर उनले भने, ‘म कालै छु, धेरै मानिसले मलाई घृणा गर्छन्। यो देशको आप्रवासी भए पनि यहाँ यस्तो विभेद भइरहन्छ।' यस विषयलाई उनले खासै वास्ता गरेनन्। न्युयोर्क स्टेटको कानुनअनुसार कुनै व्यक्तिलाई घृणाले थुक्नु अपराध मानिन्छ। मनमा लागिरह्यो– उनले किन कतै उजुरी नगरेको होला?

अमेरिकामा रंगभेद (रेसिजम) को समस्या चर्को छ। पटकपटक म स्वयं पनि रंगभेदको सिकार भएकी छु। यहाँको समुदायमा काम गर्दा कतिपय सेवाग्राहीले मलाई ‘तुरुन्त आफ्नै देशमा फर्केर जा’ भन्ने सम्मको विभेद गरेका छन्।

यो प्रशासनमा उजुरी नगरिएको एउटा सानो घृणाजन्य अपराधको उदाहरण मात्र हो। अमेरिकामा यस्ता घटना दैनिक भइरहेका हुन्छन्। यसमा सामान्यदेखि भीडभाडमा गोली चलाएर ज्यानै लिनेसम्मका घटना हुन्छन्। न्युयोर्क प्रहरीको मुख्य अपराध शाखाको प्रतिवेदनअनुसार गत जनवरी एक तारिखदेखि मई ३१ तारिखसम्म एसियालीहरूविरुद्ध भएका कुल ८७ वटा घृणाजन्य अपराधका मुद्दा दर्ता भएका छन्। जबकि बितेको सन् २०२० मा २० वटा मात्र मुद्दा दर्ता भएका थिए। 

अमेरिकामा रंगभेद (रेसिजम) को समस्या चर्को छ। पटकपटक म स्वयं पनि रंगभेदको सिकार भएकी छु। यहाँको समुदायमा काम गर्दा कतिपय सेवाग्राहीले मलाई ‘तुरुन्त आफ्नै देशमा फर्केर जा’ भन्ने सम्मको विभेद गरेका छन्। आरम्भमा यसको प्रतिवाद कसरी गर्ने भन्ने कुरामा ज्यादै अलमल हुन्थ्यो। जसले गर्दा नयाँ आप्रवासनमा आत्मविश्वास मात्र गुम्दैनथ्यो, पूरै दिमाग खल्बलिन्थ्यो।   
  
तर म अचेल जवाफ फर्काउँछु, तर्क गर्छु र झगडा नै गर्नुपर्यो भने पनि तयार हुन्छु। यस्ता कुराले अचेल मेरो दैनिक जीवनमा कुनै फरक पार्दैन। मेरो नाम थाहा नपाउनेहरुले कैयौं पटक ‘इन्डियन लेडी’ भनेर बोलाउने गर्छन्। मेरो आफ्नो देशको सीमासमेत मिच्ने हेपाहा भारतको नागरिक भनिदिँदा मलाई मनमा पीडाबोध हुन्छ। हुन त बाल्यकालमा नेपालको पूर्वी जिल्लाको गाउँमा हुँदा पनि साथीहरुले बाहुनी भन्थे। कलेज पढ्न झापामा आएपछि तराईका मानिसले पहाडिया वा पाखे भन्थे। फेरि काठमाडौं आएपछि अर्को त्यस्तै परिचय थपियो। र, अहिले अमेरिका आएपछि ‘इन्डियन’ भएकी छु। 

मलाई प्रारम्भमा अमेरिका संसारकै सबैभन्दा बढी मानव अधिकारको सम्मान गर्ने मुलुक हो भन्ने लाग्थ्यो। अनि यहाँका सबै मानिस सभ्य, शिक्षित र उच्च संस्कार बोकेका हुन्छन् भन्ने ठान्थें। बाटोघाटो तथा भौतिक संरचना हेर्दा अन्य क्षेत्र पनि त्यस्तै विकसित होला भन्ने लाग्थ्यो।

संसारका जुनसुकै समाजमा पनि धनी र गरिब, कालो र गोरो, होचो र अग्लो, शिक्षित र अशिक्षित, असल र कमसल, धर्मी र अधर्मी आदि विभिन्न प्रकृतिका मानिस हुन्छन्। समतामूलक समाज कहीं पनि छैन र भेटिन्न। मलाई प्रारम्भमा अमेरिका संसारकै सबैभन्दा बढी मानव अधिकारको सम्मान गर्ने मुलुक हो भन्ने लाग्थ्यो। अनि यहाँका सबै मानिस सभ्य, शिक्षित र उच्च संस्कार बोकेका हुन्छन् भन्ने ठान्थें। बाटोघाटो तथा भौतिक संरचना हेर्दा अन्य क्षेत्र पनि त्यस्तै विकसित होला भन्ने लाग्थ्यो। संसारका अधिकांश मानिस अमेरिकालाई ‘ड्रिमल्यान्ड’ मान्ने र यहाँ आउन मरिहत्ते गर्ने कारणले पनि मेरो त्यस्तो सोच बन्नु स्वाभाविक थियो। 

तर यहाँको स्थिति बिल्कुलै फरक रहेछ। काला र गोराहरुले एकअर्काको  अस्तित्व नै पटक्कै स्वीकार गर्दा रहेनछन्। दिनभर अफिसमा हुने झगडामध्ये ६० प्रतिशत झगडा कालो र गोरो अनि चिनियाँ र स्पेनिसका नाममा हुन्छन्। एकअर्काले पहिरन, खानपान, संस्कार, हिँडाइ, बोलाइ आदि विषयलाई लिएर प्रहार गरिरहेका हुन्छन्। धेरै झगडा एकैछिनमा आफैं साम्य हुन्छन्। केही झगडा मध्यस्थता गरेर मिलाउनुपर्ने हुन्छ। कहिलेकाहीं भने हात हालाहाल हुन्छ र प्रहरी बोलाउनुपर्छ। 

अमेरिकामा काला र गोराबीचको रंगभेद निकै गहिरो छ। गोरा जाति आफूलाई शिक्षित, सभ्य र उच्चकोटीको नागरिक दाबी गर्न रुचाउँछन्। कालाहरूलाई इतिहासमा दास बनाएर हेपेको विगत सम्झन्छन्। यसका ऐतिहासिक जराहरु धेरै गहिरो गरी अमेरिकी समाजमा फैलिएका छन्।

अमेरिका एउटा जवान मुलुक भएकाले आफ्नै संस्कार, रीतिरिवाज र परम्परा पनि छैन। कानुनतः भाषिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतालाई सम्मान गरिएको छ। तर यहाँ मानिसले स्वतन्त्रताको गलत फाइदा उठाउन खोज्ने प्रवृत्ति पनि छ।

अहिले स्वतन्त्र भनिएका धेरैजसो राष्ट्रहरू इतिहासको कुनै कालखण्डमा बेलायत, फ्रान्स, स्पेन आदि युरोपेली मुलुकका उपनिवेश थिए। उनीहरुको औपनिवेशीकरणले राजनीतिक सत्तामाथि मात्र नियन्त्रण गरेको थिएन। अपितु भाषा, संस्कृति, जीवनशैली आदिमा समेत अतिक्रमण गरेको थियो। तिनै मुलुकबाट आप्रवासी बनेर विभिन्न बहानामा मानिस अमेरिका आएका हुन्।

अमेरिका एउटा जवान मुलुक भएकाले आफ्नै संस्कार, रीतिरिवाज र परम्परा पनि छैन। कानुनतः भाषिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतालाई सम्मान गरिएको छ। तर यहाँ मानिसले स्वतन्त्रताको गलत फाइदा उठाउन खोज्ने प्रवृत्ति पनि छ। दासताले पीडित भएको ठान्ने अर्को समूह पनि छ। र, यसलाई थप मलजल गरेर हुर्काउने निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। 

स्मरण रहोस्, जुलाई १५ सन् २०१९ मा कांग्रेसका चार जना महिलालाई डोनाल्ड ट्रम्पले ‘तिमीलाई अमेरिका मन पर्दैन भने जहाँबाट आएका हौ– त्यहीं फिर्ता जान सक्छौ, बाटो खुला छ’ भनेपछि देश–विदेशमा तहल्का मच्चिएको थियो। उनले कुल बजेटमा ‘फुड स्ट्याम्प’ का लागि भनेर छुट्याइएको एक प्रतिशत रकम कटौती गरेर ‘बसिखाने’ भनिएका विशेष गरी काला जातिलाई ठूलो धोका दिएका थिए। 

डोनाल्ड ट्रम्पले हिंसा भड्काउने खालका रंगभेदी भाषण र ट्विट पनि गरे। गत जनवरीमा ह्वाइट हाउसभित्र आक्रमण गर्न उक्साएपछि अहिले उनलाई सामाजिक सञ्जालबाट वञ्चित गराइएको छ। संयोगले गत वर्ष जर्ज फ्लोइडको मृत्युमार्फत रंगभेदविरुद्ध लाखौं मानिस सड़कमा उत्रिए। त्यसलाई साम्य पार्न ट्रम्पलाई हम्मेहम्मे परेको थियो। 

यहाँ बिहानदेखि बेलुकासम्म विविध प्रकारका दुर्व्यवहार सामान्य थियो। तर कोभिड–१९ को सुरुदेखि चाँहि एसियाली मूलका अमेरिकी नागरिकमाथि अलि बढी ज्यादती हुन थाल्यो। चीनमा कोरोना भाइरसको उत्पत्तिको अफवाह फैलिएपछि चिनियाँ मूलका नागरिकप्रति निकै ज्यादती बढ्यो। केही महिनासम्म गोलो अनुहार र थेप्चो नाक भएका मंगोलियन अनुहारलाई सार्वजनिक स्थलमा देखिनसमेत निकै मुस्किल पर्यो। पूर्वराष्ट्रपति ट्रम्प आफैंले कोभिड–१९ लाई चिनियाँ भाइरस भनिदिएपछि चिनियाँ मूलका नागरिक गुप्तवास नै बस्नुपरेको थियो।

एसियाली मूलका अमेरिकीको संख्या १८.६ मिलियन छ। यो संख्या अमेरिकाको कुल जनसंख्याको ६ प्रतिशत हो। यसमा पहिलो पंक्तिमा चिनियाँ र ताइवानी पर्छन् भने दोस्रो पंक्तिमा भारतीय। अनि क्रमशः फिलिपिनी, भियतनामी र कोरियन पर्छन।

अमेरिकाको पछिल्लो जनगणनाअनुसार एसियाली मूलका अमेरिकीको संख्या १८.६ मिलियन छ। यो संख्या अमेरिकाको कुल जनसंख्याको ६ प्रतिशत हो। यसमा पहिलो पंक्तिमा चिनियाँ र ताइवानी पर्छन् भने दोस्रो पंक्तिमा भारतीय। अनि क्रमशः फिलिपिनी, भियतनामी र कोरियन पर्छन। जोसुकै होस्, सबै थेप्चो नाक हुने मंगोलियन अनुहारलाई यहाँ चिनियाँ भन्ठान्छन्।

सन् १८५० मा एकजना ‘साउथ चाइना’ का जवानलाई ‘कन्ट्रयाक्ट–लेबर’ का रुपमा काम गर्न क्यालिफोर्नियामा बोलाएपछि एसियालीले अमेरिकामा पहिलो पाइला टेकेको मानिन्छ। यहाँको विकास निर्माणमा एसियालीहरुले महत्त्वपूर्ण योगदान गर्दै आएका छन्। भवन, खानी, रेलवे, कृषि, माछापालन आदि क्षेत्रमा चिनियाँहरुले २० प्रतिशत योगदान गरेका छन्। तर सन् १८७६ को आर्थिक मन्दीमा चिनियाँ मूलका नागरिकका जागिर मात्र खोसिएन, ‘चाइनिज मस्ट गो’ भन्ने अभियान चलाइयो।अझ १८८५ मा कांग्रेसले ‘चाइनिज एक्सक्लुजन एक्ट’ पास गरेपछि चिनियाँलाई श्रमिकको रुपमा भित्रिन निषेध गरियो।

एकातिर, अमेरिकामा मजस्ता महिला आप्रवासीले समेत कुनै त्रास नराखीकन आत्मसम्मानका साथ काम गरेर बाँच्न पाइने वातावरण छ। अर्कोतिर, मानवअधिकारको उच्च वकालत गर्ने अमेरिकामा नै जाति, वर्ण, लिंग, भाषा, धर्म, राजनीतिक विचार, राष्ट्रियता, सम्पत्ति, सामाजिक मर्यादा आदिका आधारमा उत्तिकै भेदभाव छ। जबकि कानुनतः प्रत्येक व्यक्तिलाई उल्लिखित सबै कुरामा समानता, स्वतन्त्रता र अधिकारको प्रत्याभूति गरिएको छ। तर व्यवहारमा कार्यान्वयन हुन सकिरहेको छैन। 

गत मईमा एसियाली अमेरिकीहरुमाथि लगातार घृणाजन्य अपराध बढ्न थालेपछि यहाँको कांग्रेसले ‘एन्टी एसियन हेट–क्राइम बिल’ पास गरेको छ। वर्तमान राष्ट्रपति जो बाइडेनले उक्त बिललाई बहुमतले पास गर्न हाउसमा रहेका कानुन निर्मातालाई आह्वान गरेका थिए। तर कानुन पारित भए पनि एसियाली मूलका नागरिकमाथि भइरहेको घृणाजन्य अपराध नघट्ने कुरा विज्ञहरुले बताएका छन्।

सन् २०२० को राष्ट्रपतीय निर्वाचन शिविरमा पूर्वराष्ट्रपति ट्रम्पले मेक्सिकनहरुलाई ‘रेपिस्ट’सम्म भनेको कुरालाई उदाहरण दिँदै विज्ञहरुले समाजमा भएको रंगभेदको जरो पहिल्याएर काम गर्नुपर्ने तथ्यलाई औँल्याएका छन्। कानुनअनुसार सजायको भागीदार हुने वा पक्राउ पर्ने डरले मात्र मानिसले अपराध गर्न छोड्दैनन्। कानुनसँगै बहुआयामिक पक्षबाट यसको समाधान खोजिनुपर्छ भन्ने विज्ञहरुको रायमा विमति जनाउनुपर्ने कारण छैन। 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
ताजा अपडेट