शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • धितोपत्र बोर्डको 'चलखेल सूची'ले बजारमा कस्तो असर पर्ला? विज्ञ भन्छन्- नियामकको अपरिपक्व काम

धितोपत्र बोर्डको 'चलखेल सूची'ले बजारमा कस्तो असर पर्ला? विज्ञ भन्छन्- नियामकको अपरिपक्व काम

स्टक मार्केटजस्तो संवेदनशील क्षेत्रमा विज्ञप्ति निकालेर कम्पनीहरुको नाम किटान गर्न नहुने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्।चलखेल भएका ५१ कम्पनीको सूची सार्वजनिक गर्नु बोर्डको 'अपरिपक्वता',
 |  बुधबार, असार २, २०७८

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, असार २, २०७८

काठमाडौं– नेपाल धितोपत्र बोर्डले मंगलबार सेयर बजार कारोबार सकिएपछि एउटा विज्ञप्ति जारी गर्‍यो। विज्ञप्तिमा ५१ वटा कम्पनीको अस्वाभाविक रुपमा सेयर मूल्य बढाइएको भन्दै ती कम्पनीहरुको नाम सार्वजनिक गरियो।

triton college

अप्राकृतिक रुपमा सेयर मूल्य बढेको भनिएका कम्पनीहरुमा राम्रा कम्पनी पनि छन्। जस्तै– नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, सिवम् सिमेन्ट, नागरिक लगानी कोष आदि।

केही समय अघिमात्र आईपीओ जारी गरी नेपाल स्टक एक्सचेन्जमा कारोबारको लागि सूचीकृत भएका कम्पनी चन्द्रागिरी हिल्सदेखि सरकारी स्वामित्वका कम्पनीहरु विशालबजार र साल्ट ट्रेडिङ पनि यो सूचीमा छन्। धेरैजसो भने जलविद्युत् कम्पनी छन्।

चाखलाग्दो कुरा त के छ भने करिब ६ महिनादेखि कारोबारमा नै नरहेको घोडाघोडी लघुवित्त वित्तीय संस्थाको सेयरको पनि अप्राकृतिक तवरले मूल्यवृद्धि भएको बोर्डले जनाएको छ। 

स्टक मार्केटजस्तो संवेदनशील क्षेत्रमा विज्ञप्ति निकालेर कम्पनीहरुको नाम किटान गर्न नहुने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्। उनले भने, ‘नेपाल धितोपत्र बोर्डले मूल्य उचारचढाव हुने खालका सूचना चुहाउन हुँदैन। यस्तो काम गर्नेलाई कारबाही गर्नुपर्ने बोर्ड आफैंले कम्पनीको नाम नै तोकेर मूल्यमा चलखेल भएको विज्ञप्ति निकाल्दा ती ५१ वटा कम्पनीमा लगानी गरेका लगानीकर्ताको लगानीको सुरक्षा कसले लिन्छ? यो गम्भीर विषय हो।’

corrent noodles
Metro Mart

यी हुन् ५१ कम्पनी जसको सेयर मूल्यमा चलखेल भयो [सूचीसहित]

मंगलबार सेयर बजार बन्द भएपछि जारी भएको विज्ञप्तिले बुधबारको कारोबारमा असर देखिने रौनियारले बताए। ‘ती ५१ वटा कम्पनीको सेयर मूल्य ह्वात्तै घट्ने र लगानीकर्ता डुब्ने सम्भावना छ,’ उनले भने, ‘नियामक निकायको हिसावले बोर्डले छानबिन गर्न र कारबाही समेत गर्न सक्छ तर, कम्पनी नै तोकेर मूल्यमा चलखेल भएको भनिदिनु भनेको ती कम्पनीको सेयर नकिन्न भन्नु हो। यस्तो सूचनाले लगानीकर्ताहरु आत्तिएर ती कम्पनीको सेयर बेच्न थाल्छन्।’

रौनियारका अनुसार नियामक निकायको काम लगानीकर्ताको लगानी सुरक्षित गर्ने हो। तर धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिले लगानी डुबाउने देखिएको छ। 

धितोपत्र बोर्डले भने ती कम्पनीको सेयर मूल्यमा अप्राकृतिक रुपमा मूल्यवृद्धि भएको ६ वटा आधार पेश गरेको छ। बोर्डका प्रवक्ता निरज गिरी भने बोर्डले प्रकाशित गरेको विज्ञप्ति गलत नभएको बरु त्यसको व्याख्या गलत भएको बताउँछन्। 

उनले भने, ‘बोर्डले ५१ वटा कम्पनीमा लगानी गर्न हुँदैन भनेको छैन। बोर्डले बनाएको ६ वटा मापदण्डको आधारमा हेर्दा ती कम्पनीहरुको लगानीमा जोखिम देखिएको छ मात्र भनेको हो।’ बोर्डले लगानीकर्तालाई कम्पनीको अवस्था हेरेर लगानी गर्नमात्र भनेको प्रवक्ता गिरीको भनाइ छ। 

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सेयरमा लगानी जोखिम भएको विज्ञप्ति निकालेर गल्ती गरेको बताए। बोर्डले ती कम्पनीमा भएको सेयर लगानी जोखिममा रहेको र मूल्य बढ्नुको पछाडि कर्नरिङ तथा इन्साइडर ट्रेडिङलाई प्रमुख आधार मानेको छ। तर साउद भने यदि कर्नरिङ तथा इन्साइडर ट्रेडिङ भएको भेटिए पनि संस्थाको नाम नै तोक्न भने नहुने तर्क गर्छन्। 

‘नियामक निकाय भएकोले बोर्डले सिधै कारबाही गर्न सक्छ तर ती कम्पनी खराव छन् भनेर विज्ञप्ति निकालेर लगानीकर्ताको लगानी डुवाउने खालको काम गर्नु हुँदैन,’ साउदले भने। कुनै पनि कम्पनीको सेयर किन्ने र बेच्ने अधिकार लगानीकर्ताको भएकोले यो गर वा नगर भन्न नियामक निकायले नमिल्ने साउदको भनाइ छ। 

पूर्व बैंकर तथा सेयर बजार विश्लेषक पर्शुराम कुँवर क्षत्री धितोपत्र बोर्डले जस्तै राष्ट्र बैकले पनि विज्ञप्ति निकालेर ‘यी ५–७ वटा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम बढी छ, हामी छानबिन गर्दैछौं, निक्षेप राख्न होसियार हुनु’ भन्यो भने  के होला भनेर प्रश्न गर्छन्। उनले नियामक निकाय धितोपत्र बोर्डको नियतमा शंका नगर्न लगानीकर्तालाई आग्रह गर्दै कम्पनीहरुको नाम नै तोकेर विज्ञप्ति निकाल्ने तरिका बोर्डको अपरिपक्व काम भएको बताए। 

लगानीकर्ताहरुले भने सो विज्ञप्ति बोर्डले गल्ती स्वीकार्दै फिर्ता लिनुपर्ने माग गरिरहेका छन्। बजारमा लगानी गर्नेहरुले जोखिम पनि हेरेर लगानी गर्ने भएकाले लगानी डुबाउने वा उकास्ने जिम्मा लगानीकर्ताको नै हातमा छोड्नुपर्ने लगानीकर्ताका संघसंस्थाहरु बताउँछन्।

प्रकाशित: Jun 16, 2021| 00:28 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्