काठमाडौं- लियोनेल मेस्सीले गोल गरेर अग्रता बनाए पनि कोपा अमेरिकामा अर्जेन्टिना बराबरीमा रोकिएको छ। मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीसँग १–१ गोलको बराबरी खेलेको हो।
खेलको ३३ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा अर्जेन्टिना एक गोलले अघि रह्यो।
तर, दोस्रो हाफको ५७ औं मिनेटमा चिलीका एडवर्डो वर्गासले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ब्राजिलको मैदानमा निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा चिलीको तुलनामा अर्जेन्टिनाले अधिक आक्रमण बनाउन सफल भएको थियो।
यो बराबरीसँगै समूह बी मा रहेका अर्जेन्टिना र चिलीले एक/एक अंक बाँडेका छन्। सोही समूहको दोस्रो खेलमा अहिले बोलिभिया र पराग्वे प्रतिस्पर्धा गरिरहेका छन्।