सुर्खेत– एमालेका तीन जना मन्त्री प्रदेश सभामा प्रतिपक्षीको कुर्सीमा बस्ने भएका छन्।
प्रदेशसभा सचिवालयले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई प्रमुख प्रतिपक्षीको लहरमा बसाल्ने निर्णय गरेको हो।
‘सर्वोच्च अदालतको निर्णयपछि पुनर्वहाली भएर आएपछि जुन दलबाट प्रतिनिधित्व गर्छन्, हामीले त्यही दलमा राख्ने निर्णय गरेका छौँ,’ सभामुख राजबहादुर शाहीले भने, ‘भोलिदेखि मन्त्रीहरुलाई पनि प्रमुख प्रतिपक्षीकै सिटमा बस्ने व्यवस्था मिलाइएको छ।’ यद्यपि, आफू कहाँ बस्ने निर्णय भने मन्त्रीहरुमै निर्भर हुने सभामुख शाहीले बताए।
‘प्रदेशसभाले दललाई चिन्ने हो, मन्त्रीहरु जुन दलमा हुनुहुन्छ, त्यही दलको सिटमा बस्नुहुन्छ,’ उनले भने, ‘बाँकी कुरा त उहाँहरुले नै जान्ने कुरा भयो।’