काठमाडौं- नेपाली कांग्रेसको संगठन विभागले पार्टीको १४औं महाधिवेशन भदौमै हुने बताएको छ। विभागका प्रमुख गोपालमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै महाधिवेशन भदौमै हुने बताएका हुन्।
‘कांग्रेसको १४औं महाधिवेशन भदौ मसान्तसम्म गरिक्नुपर्ने संवैधानिक बाध्यता छ। यसअघि भदौ ७ देखि महाधिवेशन गर्ने कार्यतालिका रहेकोमा हालै बसेको पदाधिकारी बैठकले भदौ १६-१९ गते महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ।
पदाधिकारी बैठकको प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गर्ने छ। ‘पदाधिकारी बैठकले पार्टीको महाधिवेशन गर्ने प्रस्तावबमोजिम स्वास्थ्यका सबै मापदण्ड अपनाई तोकिएको समय सीमाभित्र स्थानीय, प्रदेश र केन्द्रको अधिवेशन गर्न पार्टीका सम्पूर्ण तह र तप्काका साथीहरु, भ्रातृ र शुभेच्छुक संस्था तथा विदेशस्थित जनसम्पर्क समितिका साथीहरुलाई हार्दिक आह्वान गर्दछु’, विज्ञप्तिमार्फत् श्रेष्ठले भनेका छन्।