काठमाडौं- विश्वकप फुटबल अन्तर्गत समुह 'डी'को दोस्रो खेलमा क्रोएशिया विजयी भएको छ । आत्माघाति गोलको उपहार पाएको क्रोएशियाले नाइजेरियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
कालिनिग्राद स्टेडियममा भएको खेलको ३२ औं मिनेटमा नाइजेरियाका एटेबोले आत्माघाति गोल गरेका थिए । क्रोएशियाको मोजुकिचले गरेको हेडिङलाई बचाउन खोज्दा एटेबोले बललाई आफ्नै गोलपोष्टमा छिराएका हुन् ।
यस्तै खेलको ७१ औं मिनेटमा क्रोएशिया लुका मोड्रिचले पेनाल्टीमार्फत गोल गरे । नाइजेरियाका खेलाडी विलियम इकोकले डिवक्सभित्र लुकालाई लडाएपछि रेफ्रिले पेनाल्टि दिएका थिए । जसलाई सलुपयोग गर्दै क्रोयशिया २-० ले विजयी भयो ।
खेलमा ४७ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेको नाइजेरियाले १४ पटकसम्म गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन ।
जितसंगै क्रोएशियाले महत्वपूर्ण तीन अंक जोडेको छ । आइसल्यान्डसंग अर्जेन्टिनाले बराबरी खेलेर एक एक अंक बाड्दा क्रोयशिया ३ अंक सहित समुहको शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४