काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलबीच भेटवार्ता भएको छ। गौतमलाई भेटन पौडेल उनको निवास भैसेपाटी पुगेका थिए।
करिब ४५ मिनेट भएको भेटवार्तामा पार्टी एकताका बारेमा नै छलफल भएको बताइएको छ।
गौतमको सचिवालयले भने भेट व्यक्तिगत भएको जनाएको छ। एमाले एकताका लागि भइरहेका पछिल्ला प्रयासका बारेमा पनि छलफल भएको बुझिएको छ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीले असार २ गते माधव नेपालसहितको स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका बेला गौतमलाई भेटन पौडेल उनको निवास पुगेका हुन्।
केहीदिन अघि गौतमले पनि पार्टी एकताका लागि विज्ञप्ति जारी गर्दै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी कमिटीको बैठक बोलाउन माग गरेका थिए।