धनगढी- कैलालीमा डाँका-चोरी मुद्दामा फरार १० वर्षपछि पक्राउ परेका छन्। जिल्लाको धनगढी उप-महानगरपालिका-२ का ५० वर्षीय गोविन्दराज अवस्थीलाई पक्राउ गरिएको हो।
२०६५ मंसिर ५ गते कैलालीको साबिक मालाखेती गाउँ विकास समिति–७ बाट यार्सागुम्बालगायत नगद तथा जिन्सी सरसमान डाँका-चोरीमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सोही बेला पक्राउ परेका उनी कैलाली जिल्ला अदालतको आदेशमा धरौटी तारेखमा छुटेका थिए। तर २०६८ असार ३१ गतेको फैसलाले उनलाई ६ वर्ष कैद र ४५ लाख ३८ हजार ५५० रुपैयाँ जरिवाना आदेश भएको थियो। पुनरावेदन अदालत र सर्वोच्च अदालतले पनि कैलाली जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो।
जरिवाना तिर्न बाँकी रहेका उनी त्यसयता फरार रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
उनलाई कैलालीको धनगढी उप-महानगरपालिका–३ बाट शनिबार पक्राउ गरेको विष्टले बताए। उनले ५ वर्ष ११ महिना ३ दिन कैद भुक्तान र ४५ लाख ३८ हजार ५५० रुपैयाँ जरिवाना असुलीका लागि कैलाली कारागार पठाइएको विष्टले बताए।