शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • प्रनेश गौतमको मुद्दामा अदालतले भन्यो- फिल्म समीक्षाले कसैको चरित्र हत्या गर्दैन

प्रनेश गौतमको मुद्दामा अदालतले भन्यो- फिल्म समीक्षाले कसैको चरित्र हत्या गर्दैन

हिरासतमा रहँदा भोगेको मानसिक यातनाका कारण प्रनेश कमेडी नै नगर्ने अवस्थामा पुगिसकेका थिए।
 |  आइतबार, जेठ ३०, २०७८

अनिल यादव

अनिल यादव

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- पाटन उच्च अदालतले चलचित्र समीक्षाले कसैको चरित्र हत्या नगर्ने फैसला सुनाएको छ। कमेडियन प्रनेश गौतमविरुद्ध चलचित्र निर्देशक मिलन चाम्सको उजुरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा फैसला गर्दै अदालतले समीक्षाकै आधारमा चरित्र हत्या गरेको भन्न नसिकने ठहर गरेको हो।

triton college

दुई वर्षअघि फिल्म ‘वीर विक्रम–२’को व्यंग्यात्मक शैलीमा भिडियो समीक्षा गरेकै कारण कमेडियन प्रनेश गौतम प्रहरी हिरासतमा जानुपरेको थियो। उनीविरुद्ध कलाकारको ‘अपमान’ र ‘मानमर्दन’ गरेको आरोपमा फिल्मका निर्देशक मिलन चाम्सले उजुरी गरेका थिए। चाम्सको उजुरीकै आधारमा उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चल्यो। आठ दिनसम्म उनी महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा बस्न बाध्य भएका थिए। 

गौतमविरुद्ध अदालतमा मुद्दा दर्ता भयो। अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दियो। उक्त मुद्दाको अन्तिम फैसला भने आउन बाँकी नै थियो। उजुरीका क्रममा निर्देशक मिलन चाम्सले समीक्षामार्फत् आफ्ना कलाकारको इज्जत प्रतिष्ठामा आँच पुर्‍याएको, चलचित्रको बदनाम गरेको भन्दै एक करोड क्षतिपूर्तिसमेत मागदाबी गरेका थिए। तर, पाए त? 

यो सरकारवादी मुद्दामा फिल्मका निर्माता/निर्देशक हारेका छन्। अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरको जित भएको छ। काठमाडौं जिल्ला अदालतले ०७६ साउन ९ गते नै प्रनेशको पक्षमा फैसला गर्दै भनेको थियो, ‘यो यो पक्ष राम्रो रहेको र यो यो पक्ष नराम्रो रहेको भनी गरिएको समीक्षाले जाहेरवालालगायत कसैको चरित्र हत्या गरेको देखिँदैन।’

काठमाडौं जिल्ला अदालत

corrent noodles
Metro Mart

जाहेरीकर्ताले दाबी गरेजस्तो समीक्षाले कसैको मानमर्यादामा आँच नपुर्‍याएको फैसलामा उल्लेख छ। ‘जाहेरी तथा अभियोगमा चलचित्रको व्यापार व्यवसायमा नोक्सानी पार्ने नियतले समीक्षा गरेको भनी वादी पक्षले प्रतिवादीलाई आरोपित गरेको भए पनि प्रतिवादीले जाहेरवालाको इज्जत प्रतिष्ठा, चरित्र हत्या हुने गरी इन्टरनेटको माध्यमबाट कुनै सामग्री प्रकाशित गरेको देखिँदैन र व्यापारिक घाटा भन्ने कुरा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) को कसूरको विषय हुन सक्ने समेत देखिंदैन,’ अदालतको फैसलामा भनिएको छ। 

तर जिल्ला अदालतको फैसला चित्त नुबझेपछि सरकारले फेरि यसको पुनरावेदन गरेको थियो। त्यसपछि पाटन उच्च अदालतले पनि समीक्षा गरेकै कारण चरित्र हत्या गरेको ठहर नहुने भन्दै जिल्ला अदालतकै फैसला सदर गरेको छ। अघिल्लो हप्ता मात्रै प्रमाणीकरण भएको यो फैसलाबाट हास्य कलाकार गौतम सन्तुष्ट छन्।

‘समीक्षा गरेकै कारण हिरासत बस्नुपर्ला, मुद्दा झेल्नुपर्ला भनेर मैले कहिल्यै सोचेको थिइनँ,’ नेपाल समयसँग गौतमले भने, ‘तर, खुशी लाग्यो हाम्रो देशमा न्यायलय रहेछ। अभिव्यक्ति स्वतन्त्रता रहेछ। मलाई आशा छ, यो फैसलाले नजिरको काम गर्नेछ। अब उप्रान्त कोही पनि फिल्मकर्मीले समीक्षा गरेकै आधारमा उजुरी हाल्ने छैनन्, हिरासतमा कोच्ने छैनन्।’

फिल्म समीक्षक समाजका पूर्व अध्यक्ष यज्ञश अदालतले गरेको फैसलाले राम्रो नजिर स्थापित गरेको बताउँछन्। ‘अदालतले जे व्याख्या गर्‍यो, त्यो विदेशतिर स्थापित मान्यता नै हो,’ उनी भन्छन्, ‘यो फैसलाले भोलि कसैलाई यो विषयमा दुविधा भयो भने सुविधा दिन्छ। खासमा संसारभर स्थापित मान्यता के हो भने कुनै पनि कलाको समीक्षा हुन्छ। समीक्षाले बल्ल त्यसको परख हुन्छ। समीक्षा भनेको जथाभावी गालीगलौजको कुरो चाहिँ होइन। तर्क र सिद्धान्तहरुमा केन्द्रित भएर अर्थ खोज्नु चाहिँ  समीक्षा हो।’

संसारभर समीक्षाका थुप्रै शैली रहेको बताउँदै उनी थप्छन्, ‘समीक्षा भनेको समालोचना, आलोचनालगायतका सबै चिज हो। हामीले लेखिरहेको अखबारी समीक्षाको एउटा फर्म्याट छ, तर यसका शैली धेरै किसिमका हुन्छन्। प्रनेशले गरेको भिडियो समीक्षाको पनि आफ्नै शैली थियो। तर, त्यसकै आधारमा उनलाई थुन्नु हुन्थेन। नत्र त आजसम्म समीक्षकहरु सबै जेलमा हुन्थे। हाम्रोमा भन्दा कडा कडा समीक्षा लेख्छन् त संसारमा!’

करिब १० वर्षअघि फिल्म ‘ब्रेकफेल’को समीक्षा गरेकै कारण फिल्म निर्देशक मनोज पण्डित महानगरीय प्रहरी परिसर हनुमानढोका पुर्‍याइएका थिए। उनीविरुद्ध अभिनेत्री ऋचा घिमिरेले उजुरी दिएकी थिइन्। त्यतिबेला पण्डित निरन्तर फिल्मको समीक्षा लेख्थे। अहिले फिल्म निर्देशनमा सक्रिय उनी अदालतको यो फैसलाबाट गद्गद् छन्।

‘अदालतले प्रनेशको केसमा जे भन्यो, हामी पहिल्यैदेखि त्यही भन्दै आइरहेका थियौँ,’ उनी भन्छन्, ‘समीक्षा त वस्तुको हुने हो। सिनेमा पनि वस्तु हो। त्यसैले समीक्षाले कसैको मानमर्दैन हुँदैन। मलाई लाग्छ, अदालतको यो फैसलाले समग्र सिनेमा पत्रकारिताको मर्मलाई सम्मान गरेको छ। यो फैसलाअनुरुप चल्ने हो भने नेपाली सिनेमाको समीक्षामा ठूलो सहयोग पुर्‍याउने छ।’

को हुन् प्रनेश गौतम?
प्रेनश पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थी हुन्। आर्किटेक्चर इन्जिनियरिङ पढेका उनी कलेजकै सिनियर ब्याचका  आयुष श्रेष्ठको कमेडी कार्यक्रम ‘टुकटुक’बाट प्रभावित भएर उनले स्ट्यान्डअप कमेडी सुरु गरेका थिए। ‘अपडेटेड नेपाली ग्रामर’ विषयमा गरेको कमेडीका कारण उनी युट्युबका दर्शकमाझ चिनिँदै थिए। 

तर, ‘वीर विक्रम–२’ माथि गरेको भिडियो समीक्षाले भने उनलाई हिरासत मात्रै पुर्‍याएन, झन् धेरै दर्शक माझ चिनायो। उनी हिरासतमा रहँदा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुले उनको रिहाइको माग गर्दै बाहिर आवाज उठाएका थिए। 

हिरासतमा रहँदा भोगेको मानसिक यातनाका कारण प्रनेश कमेडी नै नगर्ने अवस्थामा पुगिसकेका थिए। बाहिर निस्किएपछि भने उनी कमेडी च्याम्पियनको पहिलो सिजनमा प्रतिस्पर्धीकै रुपमा पनि सहभागी भए।

समीक्षा गरेकै कारण हिरासतमा रात काट्नुपर्ला भन्ने प्रनेशले कहिल्यै सोचेकासम्म पनि थिएनन्। त्यसैले ८ दिनको हिरासत बसाईपछि जब उनी साधारण तारेखमा रिहा भएका थिए। त्यतिबेला उनलाई ९० प्रतिशत मुद्दा जितेको अनुभव भएको थियो।

‘आदेश आउनेबित्तिकै मेरो दिमागमा बिटल्सको ‘फ्री एज अ बर्ड’ र लिनेड सिनेडको ‘फ्री बर्ड’ गीत बजिरहेको थियो,’ उनले यो संवाददातासँग भनेका थिए, ‘हलिउड मुभी ‘ब्रेभ हार्ट’को याद आइरहेको थियो। त्यो फिल्मको अन्तिममा जब मेल गिब्सन (कलाकार)लाई मार्न लागेको हुन्छ। त्यतिबेला उसलाई सोधिन्छ, ‘तँलाई मर्नुअघि केही भन्नु छ?’ उसले त्यतिबेला ‘फ्रिडम’ भनेर चिच्याएर मर्छ। मलाई पनि त्यसैगरी ‘फ्रिडम’ भनेर ठूलो स्वरले चिच्याउन मन थियो तर त्यो अदालत थियो, भित्रै चिच्याउन मिल्दैनथ्यो। तैपनि दिमागभित्र त्यसैगरी चिच्याइरहेको थिएँ।’

प्रकाशित: Jun 13, 2021| 11:06 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्