बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • श्रम कार्यालयको लाइनमा युवाको आक्रोश– देशमा सिस्टमै छैन, भा'को भए हामी बिदेसिनु पर्थेन

श्रम कार्यालयको लाइनमा युवाको आक्रोश– देशमा सिस्टमै छैन, भा'को भए हामी बिदेसिनु पर्थेन

कार्यालय समय सुरु हुनासाथ हिजोआज ताहाचालस्थित वैदेशिक रोजगार कार्यालय परिसरमा युवाहरुको लाइन लाग्छ। धेरैजसो हतारमा पनि हुन्छन् किनकी हातमा फ्लाइटको टिकट हुन्छ। यता समयमा श्रमस्वीकृतिको काम नभए उता फ्लाइट छुट्छ।
 |  आइतबार, जेठ ३०, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- कार्यालय समय सुरु हुनासाथ हिजोआज ताहाचालस्थित वैदेशिक रोजगार कार्यालय परिसरमा युवाहरुको लाइन लाग्छ। धेरैजसो हतारमा पनि हुन्छन् किनकी हातमा फ्लाइटको टिकट हुन्छ। यता समयमा श्रमस्वीकृतिको काम नभए उता फ्लाइट छुट्छ।

triton college

कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेध आदेश लागू गरेको छ। सीडीओको आदेश मान्ने हो भने भीडभाड त परको कुरा, अत्यावश्यक नपरी हिँड्न पनि पाइँदैन। हिँड्नैपरे एकआपसमा दुई मिटर दूरी कायम गर्नैपर्छ, मास्क लगाएकै हुनुपर्छ। 

तर लाग्छ, श्रम कार्यालयमा यो नियम लाग्दैन। दुई फिट पनि दुरी नराखी मानिसहरु लाइन लागेका छन्। लाइनमात्र होइन, ठेलमठेल नै हुन्छ त्यहाँ। कोरोनाको डर भन्दा पनि फ्लाइट छुट्ने चिन्ता छ उनीहरुलाई। 

कतारसहित केही देशका लागि अन्तर्राष्ट्रिय उडान खुलेसँगै जेठ २६ गतेबाट वैदेशिक रोजगार कार्यालय ताहाचलमा भौतिक उपस्थितिमै श्रमस्वीकृति दिन गरिएको छ। हप्तामा दुई दिन (आइतबार र बुधबार) खोल्ने गरिएको कार्यालय आज आइतबार एक महिनाको बन्दपछि दोस्रो पटक खुलेको थियो। बुधबार र आइतबार दुवै दिन करिब पाँच सय युवा श्रमस्वीकृति गराउन लाइन लागेको कार्यालयले बताएको छ।

श्रम गराउनकै लागि शनिबार राति एक बजे काठमाडौं आइपुगेका सप्तरीका स्माइल मिया आइतबार बिहान ४ बजे नै श्रम कार्यालय पुगे। टोकनका लागि बिहान सखारै पुग्नुपर्छ। ‘म आउँदा फाट्टफुट्ट मान्छेमात्रै थिए, टोकन नम्बर दुई पाएको थिएँ। तर अहिलेसम्म झ्याल छेउमा समेत पुग्न सकिएको छैन,’ उनले दिउँसो एक बजेतिर आफूले भोगेको सास्ती सुनाए। 

corrent noodles
Metro Mart

कागजात मिलाउन यताउता दौडधुप गर्दा पालो मिचिएको सुनाउँदै उनले भने, ‘लाइन नै सरेको छैन। यत्रो मान्छेको भीड जम्मा गरिएको छ, काम नै भएको छैन।’ उनले भनेको कुरामा धेरै हदसम्म सत्यता थियो, किनकी करिब ५ सय भेला भएको कार्यालयमा दिउँसो दुई बजेसम्म ५७ जनाको मात्रै श्रमस्वीकृति भएको थियो। 

बिहानदेखि केही नखाएका मियाँ भोक र घामले लखतरान थिए। तर, उनलाई भोकको छटपटीभन्दा फ्लाइट छुट्ला भन्ने कि चिन्ताले पिरोलिरहेको थियो। यसअघि पनि उनको एउटा फ्लाइट छुटिसकेको थियो। मियाँको टिकट मे २८ तारिखको रहेछ। तर, लकडाउनका कारण उनी जान पाएनन्। त्यतिबेला उनको हवाई भाडा र होटल क्वारेन्टिनमा गरेर दुई लाख रुपैयाँ सकियो। अहिले पनि हवाई भाडाभन्दा धेरै पैसा सम्बन्धित देश पुगेपछि होटलमा क्वारेन्टिन बस्दा खर्च हुने उनले सुनाए। 

‘टाइममा श्रमको काम नभएर मेरो फ्लाइट छुट्यो भने दुई लाख गयो। हामीजस्तो गरिबका लागि यो ठूलो रकम हो। कसले तिरिदिन्छ यो पैसा?’ उनले आक्रोश व्यक्त गरे। 

बिहान ८ बजे श्रम कार्यालय आएका काठमाडौं बालुवाटारका केशव घिमिरे पनि ठेलमठेल भीडमा आफ्नो पालो कुरेर बसिरहेका थिए। ५ घण्टादेखि लाइनमा बसेका उनी अझै पालो नआएको भन्दै गुनासो गर्दै थिए। कार्यालयको काम गर्ने शैली जनतालाई दुःख दिने खालको भन्दै उनले दुःख व्यक्त गरे। ‘टोकन सिस्टम छ, तर खै लागू भएको? देशमा केही सिस्टम नै छैन। सिस्टमले चलेको देश भए हामीले रोजगारीका लागि विदेश नै जानु पर्दैनथ्यो होला,’ उनले पनि आक्रोश पोखे। 

होटल म्यानेजमेन्ट पढेका उनी देशमा रोजगारीको अवसर नपाएपछि ओमान हानिएका रहेछन्। छुट्टीमा घर आएका उनी लकडाउनका कारण यतै फसे। श्रम कार्यालय खुलेकै दिन हतारहतार श्रम गराउन पुगेका उनी कार्यालयको भीड र नसरेको लाइन देखेर वाक्क थिए। ‘देशमा रोजगारी पनि छैन, सिस्टम पनि छैन। श्रम स्वीकृति गराउन आउँदा महामारीमा समेत यस्तो सास्ती खेप्नुपरेको छ,’ उनले गुनासो पोखे। कार्यालयको सुस्तताका कारण फ्लाइट नै छुट्ने हो कि भन्ने चिन्ता उनको पनि थियो। 

यस्तो महामारीमा पनि किन विदेश जान लाग्नुभएको भनेर सोध्दा उनले भने– ‘पढ्दा लागेको खर्च उठ्ने पनि जागिर नपाएपछि के गर्नु त? बुबाआमाले पढाइमा लगाएको लगानी उठाउनकै लागि भए पनि परदेसिन बाध्य भएँ।’

चितवनका दिनेशप्रसाद सुवेदीको गुनासो पनि फरक थिएन। बिहान ७ बजे आएका उनी दिउँसो एक बजेसम्म पनि लाइनमै थिए। ‘बिहानदेखि केही खान पाएको छैन, अझै लाइन सरेको छैन। न देशमा रोजगारी दिन्छन् न त विदेश जान्छु भन्दा सजिलै काम गरिदिन्छन्,’ उनले तिक्तता पोखे, ‘जता पनि झमेला र तनाव दिनेमात्रै काम हुन्छ।’

सेवाग्राहीको गुनासो लिएर हामी कार्यालयका निर्देशक छत्रबहादुर शाहको कार्यकक्षमा पुग्यौं। उनीसँग रेडिमेड थियो– सकेसम्म सहज रुपमा नै सेवा दिइरहेका छौं। श्रमस्वीकृति गराउनेको भीड बढेकै कारण हप्तामा दुई दिन कार्यालय खोलिएको छ। 

उनका अनुसार पहिलो दिन ५० जनालाई मात्र श्रम स्वीकृति दिने योजना भए पनि कार्यालय बाहिर ठूलो संख्यामा सेवाग्राहीको भीड लागेपछि ५ सय जनालाई सेवा दिन लागिएको हो। तर अपेक्षाकृत रुपमा काम भइरहेको थिएन। बिहान ७ बजे आएका सेवाग्राहीको पालो दिउँसो दुई बजेसम्म पनि आएकै थिएन।

प्रकाशित: Jun 13, 2021| 08:45 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्