काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्री थपेर मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरेका छन्।
थपिने मन्त्रीको सूची तयार भइसकेको र आज नै शपथ हुने बताइएको छ। सात जना मन्त्री र एक राज्यमन्त्री ओली सरमारमा थपिने तय भएको छ।
गत शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै ११ जना मन्त्री थपेका ओलीले आज पनि मन्त्री थप्न लागेका हुन्। ओलीको मन्त्रीमण्डलमा सुदूरपश्चिमबाट नारदमुनी राना वनमन्त्री बन्ने भएका छन्। सुदूरपश्चिमकै मन्त्री प्रेम आले हटेपछि सोही मन्त्रालयमा राना आउन लागेका हुन्।
राना एमालेका तिनै सांसद हुन्, जसले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई पराजित गरेका थिए।
कैलाली क्षेत्र नम्बर ५ मा राणालाई रानाले पराजित गरेका थिए। पराजित भएपछि नेतृ राणाले रानालाई मन्त्री बनाउनका लागि पहल गर्ने बताएकी थिइन्। राणाको उक्त अभिव्यक्ति विवादित पनि बनेको थियो।
नेकपा एमालेबाट चुनाव जितेका रानाले २७ हजार २०२ मत पाएका थिए भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी थिइन्। सोही क्षेत्रबाट लडेका टीकापुर काण्डका अभियुक्त राजपाका लक्ष्मण थारुले ६ हजार ४६४ मत पाएका थिए।