शुक्रबार, वैशाख १४, २०८१

कोरोनाको तेस्रो लहरमा यसकारण बढी जोखिम छ बालबालिकालाई

तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने विज्ञहरुले बताएपछि मन्त्रालयले अस्पतालमा २० प्रतिशत बेड बच्चाहरुका लागि छुट्याउन निर्देशन दिइसकेको छ।
 |  बिहीबार, जेठ २७, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, जेठ २७, २०७८

काठमाडौं– कोभिड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको रोकथामका लागि पूर्वतयारी सुरु भएको बताएको छ। तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने विज्ञहरुले बताएपछि मन्त्रालयले अस्पतालमा २० प्रतिशत बेड बच्चाहरुका लागि छुट्याउन निर्देशन दिइसकेको छ।

triton college

पहिलो र दोस्रो चरणमा युवा, प्रौढ र वृद्धवृद्धा प्रभावित भएका छन्। तेस्रो लहरमा भने सबैभन्दा बढी जोखिममा बालबालिका रहेको आँकलन गर्दै मन्त्रालयले पूर्वतयारी थालिएको जनाएको हो। कोरोना महामारीको तेस्रो लहरले बालबालिकालाई बढी असर गर्ने चेतावनी विज्ञहरुले दिइरहेका छन्। 

तेस्रो लहरमा कसरी जोखिममा छन् त बालबालिका? स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेल भन्छन्, ‘विभिन्न चरणमा आएको कोरोनाको लहरले केही न केही परिवर्तन गरेर आएको छ। अबको समयमा परिवर्तन नहोला भन्न सकिँदैन। अहिलेसम्म आएको दुईवटा लहरमा युवा र वृद्धवृद्धा धेरै संक्रमित भएका छन्। अब उनीहरुमा एन्टिबडी बनिसकेको छ। केहीले खोप पनि लगाइसकेका छन्। तर बालबालिकाले खोप लगाउन पाएका छैनन्। भाइरसविरुद्ध प्रतिरक्षा हासिल गर्ने कि खोप लगाएर हो, कि त एकपटक संक्रमित भैसकेपछि। अहिलेसम्म संक्रमितमध्ये बालबालिकाको संख्या ८ प्रतिशत। अन्य बालबालिकामा प्रतिरक्षा प्रणाली विकास भएको छैन। त्यसैले अबको लहरमा बालबालिका बढी जोखिममा भनिएको हो।’

अहिलेसम्म आएको दुईवटा लहरमा युवा र वृद्धवृद्धा धेरै संक्रमित भएका छन्। अब उनीहरुमा एन्टिबडी बनिसकेको छ। केहीले खोप पनि लगाइसकेका छन्। तर बालबालिकाले खोप लगाउन पाएका छैनन्।

कोरोनाको पहिलो लहरमा ५५ वर्षमाथिका व्यक्तिको मृत्यु भयो भने दोस्रो लहरमा तुलनात्मक रुपमा युवाको ज्यान बढी गयो। जानकारहरुका अनुसार हाल खोप लगाउने वर्ग सुरक्षित देखिएको छ। भ्याक्सिन लगाउने क्रम जारी रहेको र भ्याक्सिनेट हुनेको संख्या बढ्ने तर बालबालिकाका लागि भ्याक्सिन नबनेकोले १८ वर्षमुनिको समूह जोखिममा रहेको हो। पहिलो लहरमा २१ सयभन्दा बढी बालबालिका संक्रमित भएकोमा ३८ जनाको मृत्यु भएको थियो। 

दोस्रो लहरमा २४ हजारभन्दा धेरै बालबालिका संक्रमित भएको तथ्यांक छ। यीमध्ये २२ जनाको मृत्यु भएको छ। नेपालमा दश वर्षसम्मका बालबालिका करिब ६५ लाख छन्। १८ वर्षसम्मका गरी करिब १ करोड छन्। उनीहरुलाई जोगाउनु निकै चुनौतीपूर्ण रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्। ‘कोरोना भाइरस म्युटेन्ट भएर आइरहेका छन्। अबको तेस्रो लहरमा पनि म्युटेन्ट नहोला भन्न सकिँदैन। बालबालिकालाई पनि अन्य मानिसलाई जस्तै जोखिम उत्तिकै हुन्छ,’ डा. पौडेल भन्छन्, ‘खासगरी १ देखि १० वर्षसम्मका बालबालिका कोरोनाको बढी जोखिममा हुनसक्छन्। उक्त समूहका बालबालिकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न जान्दैनन्। त्यसैले अभिभावकले ध्यान नदिएमा जोखिम धेरै हुन्छ।’ यसका साथै बालबालिकालाई लक्षणविहीन वा लक्षणयुक्त कोरोना संक्रमण भएको केही दिन वा हप्तापछि मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम देखिन सक्ने उनी बताउँछन्। 

corrent noodles
Metro Mart

पहिलो लहरको तुलनामा दोस्रो लहरमा बालबालिका बढी संक्रमित भए। उनीहरुका लागि खोप अझै निश्चित छैन। त्यसैले सम्भावित तेस्रो लहर आउँदा १८ वर्षमुनिका बालबालिका बढ्ता जोखिममा पर्ने आंकलन गरिएको हो। स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार कम्तीमा २० प्रतिशत बालबालिकाका लागि भए भने पनि बेड उपलब्ध गराउनका लागि पूर्वतयारी थालिएको छ। अन्य देशमा पनि पछिल्लो समय बालबालिकामा संक्रमण बढेकाले नेपालमा पनि तयारी थालिएको मन्त्रालयको भनाइ छ। नेपालका धेरै अस्पताल बालमैत्री नभएका कारण अबको लहर चुनौतीपूर्ण रहेको चिकित्सकहरु बताउँछन्। 

कोभिड युनिफाइड अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम पनि बालबालिका संक्रमित भए व्यवस्थापन गर्न झनै समस्या हुने बताउँछन्।

बालबालिकामा संक्रमण भएमा बढी चुनौती किन पनि छ भने बालबालिकाको उपचार गर्ने सरकारी तथा निजी अस्पताल सीमित छन्। सरकारी स्तरमा केन्द्रीय अस्पतालको रुपमा कान्ति बाल अस्पताल मात्रै छ भने निजीमा पनि निकै कम अस्पताल बालबालिका केन्द्रित छन्। 

सरकारी तथा निजी अस्पतालमा पेड्रियोटिक वार्ड भए पनि पेड्रियोटिक इन्टेन्सिभ केयर युनिटहरु एकदम कम छन्। डा. पौडल भन्छन्, ‘नेपालमा जम्मा ३५० जना पेड्रियोटिसियन छन्। अहिलेको संरचनाले भोलिको महामारीको संरचनालाई थेग्न सक्दैन। त्यसैले अबको सम्भावित जोखिम कम गर्न पूर्वतयारीस्वरुप सरकारले आवश्यक पूर्वाधारको तयारी गर्न लागेको छ।’

कोभिड युनिफाइड अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम पनि बालबालिका संक्रमित भए व्यवस्थापन गर्न झनै समस्या हुने बताउँछन्। भन्छन्, ‘पहिलो र दोस्रो लहरमा सक्दो उपचार व्यवस्थापन गरियो। अब बालबालिकामा संक्रमण बढेमा यसको चुनौती धेरै हुन्छ। बालबालिकाको उपचार प्रक्रिया फरक हुन्छ। कतिपय बेड, भेन्टिलेटर बालबालिकालाई फिट हुँदैनन्, त्यसको लागि नयाँ व्यवस्थापन गर्नुपर्छ। त्यसैले फरक खालको चूनौतीलाई सामना गर्नुपर्ने हुनसक्छ।’ 

मन्त्रालयका प्रवक्ता डा. पौडेल थप्छन्, ‘बालबालिकालाई आवश्यक पर्ने पेड्रियोटिक भेन्टिलेटर र आईसीयू सेट भिन्न हुन्छ। सबैतिर त्यो उपलब्ध नहुन सक्छ। त्यसैले पेड्रियोटिक भेन्टिलेटर व्यवस्थापनका लागि विभिन्न पक्षसँग स्वास्थ्य मन्त्रालयले वार्ता गरिरहेको छ। हामीले समयमै तयारी गरेनौं भने थेग्न सक्दैनौं। सरकारले पनि पेड्रियोटिसियन भएका अस्पताललाई पैसा दिन भनिसकेको छ।’

पेडियाट्रिक सोसाइटी, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाबीच यस विषयमा छलफल भइरहेको डा. पौडेलले बताए। उनका अनुसार कुन ठाउँमा कति भेन्टिलेटर, आइसियू थप गर्ने, कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। ‘उपचारात्मक मात्रै होइन, प्रिभेन्सनमा पनि हामीले ध्यान दिनुपर्छ। खोप नआउँदासम्म प्रिभेन्सनका सबै उपाय अपनाउनुपर्छ। उपचारले मात्रै महामारी नियन्त्रण गर्न सकिँदैन,’ डा. पौडेल भन्छन्।

बालबालिकालाई कसरी जोगाउने? 

बालबालिकालाई कोरोना संक्रमण हुँदा सुरुमा लक्षण नदेखिने तथा सामान्य लक्षण देखिए पनि पोष्ट कोभिड समस्या देखिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ डा. सिर्जना बस्नेतका अनुसार बालबालिकामा कोरोनापपछि मल्टिसिस्टम इन्फ्लमेटरी सिन्ड्रोम इन चिल्ड्रेन (एमआईएस–सी) देखिएको छ। यस्तो समस्याका कारण बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, मस्तिष्क, छाला, आँखा वा पेटसम्बन्धी समस्याहरू देखिएका छन्। कोरोना संक्रमणको पहिलो लहरमा पनि बालबालिका एमआइएससीको समस्या लिएर अस्पताल आइपुगेका थिए।

बालबालिकालाई कोरोना पोजेटिभ र अभिभावकलाई नेगेटिभ भएमा पनि अभिभावकले समेत जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने चिकित्सकको सुझाव छ। 

उनका अनुसार बालबालिकालाई कोरोना पुष्टि नभए पनि उनीहरु कुनै न कुनै रुपमा कोरोना संक्रमितसँग नजिक भएको पाइएको थियो। बालबालिकामा लक्षण देखिएको थिएन तर उनीहरु कोरोना संक्रमित भएका थिए। कोरोना भएको दुई–तीन सातापछि देखिने शारीरिक समस्या लिएर आउने धेरै थिए। दोस्रो लहरमा पनि केही बालबालिकालाई त्यस्तो समस्या देखिएको छ। 

त्यसैले कोभिड संक्रमणको आशंका भएका वा पुष्टि भएका र ज्वरो, खोकी लगायत समस्या भएका बालबालिकालाई सामान्यतया घरमै व्यवस्थापन गर्नु उपयुक्त हुने सुझाव डा. अर्चनाको छ। दम, मुटु रोग, मधुमेह, छारे रोग आदि समस्या भएका संक्रमित बालबालिकालाई भने तत्कालै अस्पताल लैजानुपर्छ। अर्को रोगबाट ग्रसित बालबालिकामा कोभिड संक्रमणले सिकिस्त बिरामी पार्ने जोखिम हुन्छ।

भर्खर जन्मिएका बालबालिकालाई सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने र दुध चुस्न नसक्ने समस्या देखिएमा पनि तत्काल अस्पताल लैजानुपर्छ। बालबालिकालाई कोरोना पोजेटिभ र अभिभावकलाई नेगेटिभ भएमा पनि अभिभावकले समेत जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने चिकित्सकको सुझाव छ। 

कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाका अनुसार कोरोनाको पहिलो लहरमा करिब ३ प्रतिशत बालबालिका संक्रमित भएकोमा अहिले त्यो संख्या बढेको छ। अहिले संक्रमित बालबालिकाको संख्या घटाउनु नै चुनौतीपूर्ण भएको उनी बताउँछन्।

प्रकाशित: Jun 10, 2021| 00:36 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्