शुक्रबार, वैशाख ७, २०८१

सेयर बजार हौसिँदा दुर्घटनाको चिन्ता

कोभिड–१९ को दोस्रो लहर र त्यसका कारण जारी गरिएको लकडाउनका कारण अर्थतन्त्रका सूचकहरु ओरालो लागिरहेका बेला अर्थतन्त्रको ऐनाको रुपमा चिनिने सेयर बजार भने लगातार उकालो लागिरहेको छ।
 |  बुधबार, जेठ २६, २०७८

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, जेठ २६, २०७८

काठमाडौं– कोभिड–१९ को दोस्रो लहर र त्यसका कारण जारी गरिएको लकडाउनका कारण अर्थतन्त्रका सूचकहरु ओरालो लागिरहेका बेला अर्थतन्त्रको ऐनाको रुपमा चिनिने सेयर बजार भने लगातार उकालो लागिरहेको छ। अनलाइन कारोबार र बैंक तथा वित्तीय संस्थाहरुले पनि बजारमा लगानी गर्न थालेकोले सेयर बजार उकालो लागेको भनिए पनि पछिल्लो समय सेयर बजारमा देखिएको हठात् उतारचढावले नियामक निकायलाई गम्भीर बनाएको छ।

triton college

हिजो मंगलबार सेयर बजार परिसूचकले नयाँ रेकर्ड राख्यो। नेप्से २९६०.१४ अंकमा रोकियो। यो सेयर बजार इतिहासकै सबैभन्दा धेरै हो। कोभिड–१९ को महामारी र यसको संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण आर्थिक गतिविधि सुस्ताएको छ। नेपाल धितोपत्र बोर्डले गरेको प्राथमिक अध्ययनमा उद्योगधन्दा तथा कलकारखाना बन्द हुँदा लगानीकर्ताहरुले लगानीको विकल्प सेयर बजारलाई बनाएका छन्। साथै बैंक तथा वित्तीय संस्थाहरुले पनि छोटो अवधिमा धेरै प्रतिफलका लागि सेयर बजारमा लगानी गरेका कारण बजार बढेको हो।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक वर्षभन्दा कम लगानी गर्न नपाउने, लघुवित्त कम्पनीहरुमा लगानी गर्न नपाउने र १८० दिनको कारोबारलाई मात्र आधार मानेर मार्जिन ल्यान्डिङ गर्नुपर्ने व्यवस्था गरेको थियो। सो व्यवस्थाले सेयर बजार घट्न सक्ने धेरैको प्रक्षेपण भए पनि बजार उल्टै बढेर गएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्ड चिन्तित देखिन थालेको छ। 

बजार उकालो लागेर ‘क्र्यास’ हुने अवस्थामा आइपुगेकोले नियामक निकायले केही कदम चाल्नुपर्ने भन्दै बोर्डका उच्च अध्यक्ष भीष्मराज ढुंगानालाई भने पनि उनले त्यसतर्फ चासो दिएका थिएनन्। तर, बोर्ड सञ्चालक समितिले तुरुन्त अध्ययन समिति बनाएर मौद्रिक नीति अगावै प्रतिवेदन तयार पार्नका लागि निर्देशन दिएपछि भने बोर्डका कामु कार्यकारी निर्देशक विनयदेव आचार्यको संयोजकत्वमा बजार अध्ययन कमिटी गठन गरी काम सुरु गरेको छ। 

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार पछिल्लो समय बढ्दै गएको सेयर बजारलाई बोर्डले गम्भीर रुपमा हेरिरहेको छ। बोर्डले गठन गरेको समितिले प्रत्येक कम्पनीहरुको विस्तृत अध्ययन गरी बजार बढ्नुको खास कारण बाहिर ल्याउने प्रवक्ता गिरीले जानकारी दिए।

corrent noodles
Metro Mart

अर्थतन्त्रको सूचकसँग बजारको केही हदसम्म तादाम्यता हुनुपर्नेमा लगातार उकालो जाँदा कतै दुर्घटना पो निम्तिने हो कि भन्नेमा बोर्ड सचेत देखिएको छ। 

बोर्डले पछिल्लो समय बढ्दै गएको दैनिक कारोबारको आँकडालाई पनि नजिकबाट हेरिरहेको छ। १७ अर्बको हाराहारीमा भइरहेको कारोबार रकम कहाँबाट र कसरी भइरहेको छ भन्नेबारे विस्तृत अध्ययन भइरहेको बोर्डले बताएको छ। सो अध्ययनको प्रतिवेदन बोर्डले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनु अगाडि नै बुझाउने गरी काम गरिरहेको छ।

बोर्डका एक उच्च अधिकारीका अनुसार बजारमा साना लगानीकर्ताले मात्र यत्तिको रकम बराबरको कारोबार गर्र्दैनन्। कुनै संस्थागत कम्पनी नै संलग्न भएको आशंका छ। ‘मार्केट मेकर’को रुपमा बजारमा आएको नागरिक लगानी कोषले पनि सिधै बजारमा यसरी ह्वात्तै बढिरहेको बजारमा लगानी गर्दैन। कोषको रकम पनि सर्वसाधारणको भएकोले यो जोखिम मोल्ने उसले हिम्मत नगर्ने तर बजारमा अन्य कुनै संस्थाले इन्साइडर ट्रेडिङ गरिरहेको शंका बोर्डको छ। 

ती अधिकारीले भने, ‘सब–इन्डेक्सहरु हेर्दा ह्वात्तै बढ्दै, ह्वात्तै घट्दै भइरहेको छ। हामी यसबारेमा यसै पनि चनाखो हुनुपर्ने हो। बजारमा कसैले खेलिरहेको छ। कुनै पनि सूचना चुहावट नगरी बजारमा भएको सब–इन्डेक्स यसरी ह्वात्तै उकालो लाग्ने र ह्वात्तै ओरालो लाग्ने गर्दैन।’ उनका अनुसार अहिलेको समय बोर्ड वा लगानीकर्ताहरु कारोबार धेरै भएर खुसी हुने बेला हैन, बजार दुर्घटनामा पर्ला भनेर होसियार हुने बेला हो।

सेयर विश्लेषक निरव पुडासैनी अहिलेको बजार बढ्नुमा दुईवटा कारण हुनसक्ने दाबी गर्छन्। ‘या कुनै ठूलो लगानीकर्ताको समूहले कर्नरिङ गरेर मूल्य बढाइरहेको छ, या त सोसल मिडियामा लगानीकर्ताको ग्रुपले कुनै पनि कम्पनीको सेयर बढ्छ भनेर हल्ला फैलाएर किन्ने र नबढ्दा बेचेर वा शान्त भएर बस्दा पनि यस्तो हुन गएको हो। बजारमा कारोबार भएको सेयरको भोल्युम हेर्दा कर्नरिङ गरेको स्पष्ट हुन्छ। किनकी सोसल मिडियामा ग्रुप बनाएर लगानी गर्ने लगानीकर्ताहरु साना हुन्। तिनले त्यति धेरै भोल्युममा कारोबार गर्न सक्दैनन्।’

विगतमा पनि राधी हाइड्रोपावर र अजोड इन्स्योरेन्समा भएको कर्नरिङ र इन्साइडर ट्रेडिङको कारोबारको बारेमा लगानीकर्ताहरुले गम्भीर कुरा उठाएका थिए। तर नियामक निकाय नेपाल धितोपत्र बोर्डले भने सो विषय छानबिनकै क्रममा रहेको जनाएको छ। 

लगानीकर्ता संघका अध्यक्ष छोटेलाल रौनियार भने बजार उकालो लाग्न अब कसैले रोक्न नसक्ने बताउँछन्। ‘अनलाइन कारोबार भइरहेको छ, किन्ने पनि आइरहेका छन् र बेच्नेहरु पनि आइरहेका छन्। कतिपय लगानीकर्ताले कम्पनीको वित्तीय विवरणहरुको विस्तृत अध्ययन नगरी लगानी गरिरहेका छन्। कतिपय कम्पनीको त रिटर्न अफ इन्भेस्टमेन्ट शून्य हुँदा सेयर मूल्य बढिरहेको छ। अहिले बजार अचम्मलाग्दो र केही भन्न नै नसक्ने अवस्थामा पुगेको छ,’ रौनियारले भने। 

कुनैपनि कम्पनीमा बिना अध्ययन लगानी गर्नु भनेको लगानीकर्ता स्वयंको जोखिम हो। रौनियारले थपे, ‘धितोपत्र बोर्डको काम भनेको विज्ञप्ति निकाल्ने मात्र होइन, कर्नरिङ र इन्साइडर ट्रेडिङ तथा मोनोपोली गरी बजारलाई ड्राइभ गराउने व्यक्ति वा संस्थालाई कारबाही गरेर देखाउनुपर्छ। तबमात्र यस्ता कामहरु रोकिन सक्छ।’

यसैबीच, लगातारको वृद्धिपछि आज बुधबार नेप्सेमा सामान्य करेक्सन देखिएको छ। उच्च दरले बढ्दै आएको बजार १३।५्६ अंकले घटेर २९ सय ४६ विन्दुमा अडिएको छ।

यस दिन कारोबार रकम भने उच्च नै छ। बुधबार २२१ वटा कम्पनीको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँमा खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहका सूचकमध्ये ६ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ७ उपसमूहका सूचक नकारात्मक देखिएका छन्। 

बुधबार कारोबारमा आएका ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल इन्स्योरेन्स र युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले बढेको छ भने रिडी हाइड्रोपावरको ९.९२ प्रतिशत, अरुण भ्याली हाइड्रोपावर र सिइडिबी हाइड्रोपावरको ९.९६ प्रतिशतले बढेको छ।

प्रकाशित: Jun 09, 2021| 10:42 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्