बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • हसनको विश्व कीर्तिमान : महामारीपछि पनि एथ्लेटिक्स कमजोर नभएको प्रमाण

हसनको विश्व कीर्तिमान : महामारीपछि पनि एथ्लेटिक्स कमजोर नभएको प्रमाण

कोभिड–१९ महामारीका कारण थलिएको विश्व खेलकुद भर्खरैमात्र लयमा फर्कन खोज्दैछ। नेपाल, इन्डियालगायत कतिपय मुलुक त अझैसम्म महामारीको चपेटाबाट बाहिर निस्कन सकेका छैनन्।
 |  सोमबार, जेठ २४, २०७८

विनय सापकोटा

विनय सापकोटा

सोमबार, जेठ २४, २०७८

काठमाडौं- कोभिड–१९ महामारीका कारण थलिएको विश्व खेलकुद भर्खरैमात्र लयमा फर्कन खोज्दैछ। नेपाल, इन्डियालगायत कतिपय मुलुक त अझैसम्म महामारीको चपेटाबाट बाहिर निस्कन सकेका छैनन्।

triton college

यद्यपि, कोभिड–१९ विरुद्धको खोपले आत्मविश्वास बढेपछि विश्व स्तरमा एथ्लेटिक्सलगायत खेलहरु सञ्चालन हुँदैछन्। यता महामारीकै कारण टोकियोमा गत वर्षका लागि तय गरिएको खेलहरुको महाकुम्भ ओलम्पिक गेम्स स्थगित भएको थियो। उक्त प्रतियोगिता आउँदो जुलाई २३ बाट सुरु हुँदैछ।

एक वर्ष धकेलिएको ओलम्पिकको पूर्वसन्ध्यामा १० हजार मिटर दौड (एथ्लेटिक्स) मा आइतबार विश्व रेकर्ड बनेको छ। द नेदरल्याण्डसकी सिफा हसनले निर्धारित १० हजार मिटर दूरी २९ मिनेट ६.८२ सेकेन्डमा पार गर्दै विश्व कीर्तिमान बनाएकी हुन्।

‘म यो विश्व रेकर्ड मेरा नेदरल्याण्डसका समर्थकलाई बाँड्न पाउँदा निकै खुसी छु,’ उनले जितपछि भनिन्। उनले इथियोपियाकी अल्मज अयनाको २९ मिनेट १७.४५ सेकेन्डको रेकर्डलाई १० सेकेन्डले उछिन्दै आफ्नो नाममा बनाउन सफल भएकी हुन्।

यो रेकर्डलाई कतिपयले महामारीका कारण लामो समय खेल नभएर घरमै समय बिताउनुपर्दाको पीडा पनि विष्फोटन गरेको संकेतका रुपमा बुझेका छन्। महामारीपछि खेलाडीको लय बिग्रने चिन्तालाई पनि यो रेकर्डले दूर गरिदिएको छ। र, यसको उदाहरण बनेकी छन् २८ वर्षे हसन।

corrent noodles
Metro Mart

महामारीको समस्यामा परेका कतिपय खेलाडी अझै खेलमा फर्कन सकेका छैनन्। यस्तो बेलामा यो रेकर्ड खेलाडीको आत्मबल बढाउन सहयोगी भएको नेपाली धाविका सन्तोषी श्रेष्ठ बताउँछिन्। श्रेष्ठका लागि ‘आइडल’ पनि हुन् हसन। हसनले रेकर्ड बनाएपछि सन्तोषीले भनिन्, ‘महामारीपछि बनेको यस्तो रेकर्डले खेलाडीलाई निकै प्रेरणा मिल्छ। हामीले महामारीले गर्दा खेल्न पाएको छैन। तर यस्तो रेकर्डहरु सुन्दा अब आउने प्रतियोगितामा म पनि त्यस्तै प्रतिस्पर्धा गर्छु र रेकर्ड बनाउँछु भन्ने लाग्दोरहेछ।’

महामारीले जति एसियाली र साना प्रतिस्पर्धामा सहभागी बन्ने खेलाडीलाई असर गरिरहेको छ, त्यति असर ठूला प्रतियोगिता खेल्ने खेलाडीलाई नगरेको सन्तोषीको ठहर छ। ‘कोभिडअघि नै विश्व च्याम्पियनसिप भएको थियो। त्यसपछिको ठूलो प्रतियोगिता रोकिएको भनेको ओलम्पिक र एसिया (विषेशगरी दक्षिण एसिया)का प्रतियोगिता हुन्। तर युरोपका ठूलो प्रतियोगिता भएका छन्,’ उनले भनिन्। तर यो रेकर्डले महामारीको समयमा पनि ‘वर्कआउट’ गरिरहने प्रेरणा मिलेको उनी बताउँछिन्। 

सन्तोषीले पछिल्लो दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटरतर्फ स्वर्ण जितेकी थिइन्। सो दूरीको राष्ट्रिय रेकर्ड (३५ मिनेट तीन सेकेन्ड) भने कान्छीमाया कोजुको नाममा छ। यता, २०१९ बाट विश्व एथ्लेटिक्स संघले दौड प्रतियोगितामा नयाँ नियम लागू गरेको थियो। ट्र्याक स्पाइक, सोलको मोटाइ ३० मिमि भन्दा धेरै नहुने र त्यसमा प्रयोग हुने प्लेट्सको सीमा निर्धारण गरेको थियो। अहिले यो फेरबदललाई पनि एथ्लेटिक्स थप गुणस्तरीय भएको बुझ्न सकिन्छ। किनभने पुरुष र महिलातर्फका पछिल्ला पाँच विश्व कीर्तिमान केही महिनाभित्रमा बनेका छन्। जसमा पाँच हजार र १० हजार मिटरका दौड छन्। सोलको त्यो परिवर्तनले अहिलेका खेलाडीहरु विश्व रेकर्ड बनाउन ध्याउन्नमा छन्।

‘कति खेलाडीहरु खाली खुट्टै पनि दौडिन्छन्। तर जुत्ता राम्रो भयो भने दौडमा सहयोगी बन्छ नै। जुत्ताको सोलको मोटाइ, स्पाइक र त्यसको निर्माण गरिएको शैलीले दौडन र लय कायम गर्न सहयोग गर्छ,’ उनले भनिन्, ‘यसले विश्व रेकर्ड बनाउन पनि सहयोगी भूमिका खेलेको छ।’ तर, सबै कुरा हुँदाहुँदै पनि खेलाडीको हार्डवर्किङ नै जितको खुड्किला रहेको सन्तोषी बताउँछिन्। 

सन्ताेषी श्रेष्ठ

को हुन् विश्व कीर्तिमानी हसन?

इथियोपियामा जन्मिएकी हसन १६ वर्षको उमेरमा शरणार्थी भएर नेदरल्याण्डस पुगेकी थिइन्। त्यहाँ पुगेको ६ वर्षपछि नेदरल्याण्डसको नागरिक बनेकी हसनको नाममा अहिले बनेको रेकर्डबाहेक पनि थुप्रै उपाधि र रेकर्डहरु छन्। सँगै उनको अन्य विश्व रेकर्ड पनि कायम छ– पाँच किलोमिटर, माइल दौड र एक घण्टे दौडतर्फको। त्यस्तै, उनी एक हजार ५०० मिटर र १० हजार मिटरमा विश्व विजेता पनि बनिसकेकी छन्।

त्यही सिलसिलामा उनले आइतबार अर्को रकेर्ड बनाएकी थिइन्। ‘वाह! हेन्गेलोमा यो विश्व रेकर्ड बनाउनु त मेरो एउटा सपना मात्र थियो,’ उनले उपाधि जितेसँगै विश्व रेकर्ड कामय गरेपछि भनिन्, ‘यो रेकर्ड टोकियो ओलम्पिकअघि म आफ्नो बेस्ट दिन सक्छु भन्ने अभ्यासको आत्मविश्वास पनि हो।’

हसनले रेकर्ड बनाएकै ट्र्याकमा सोही ट्र्याकमा इथियोपियाका हाइली गेब्रेसेलासीले पनि पुरुषतर्फ १९९८ को १० हजार मिटर दौडमा र केनेसिसा बकलेले २००४ मा पाँच हजार मिटरमा रेकर्ड बनाएका थिए।

खेल जीवनबाट संन्यास लिइसकेका गेब्रेसेलासीले आफ्नो खेल करिअरमा ६१ वटा राष्ट्रिय रेकर्ड र २७ वटा विश्व रेकर्ड बनाएका थिए। अहिले त्यही बाटो पछ्याइरहेकी छिन् हसनले। अहिलेसम्म चार विश्व रेकर्ड कायम गरिसकिन्। हसनले २०१६ को ओलम्पिक डेब्यू गरेकी थिइन्। जहाँ उनी १५०० मिटरमा पाँचौं भएकी थिइन्।

यता उनले २०१९ को दोहामा भएको १५०० मिटर १० हजार मिटरको दौडमा विश्व च्याम्पियन भएकी थिइन्। उनी १० हजार मिटरमा च्याम्पियन भएको त्यही दिन थियो जसको अघिल्लो दिन उनका प्रशिक्षक अल्बर्टो सलजर अ‍ेमरिकी एन्टीडोपिङको केसका कारण चार वर्षको प्रतिबन्धमा परेका थिए।

उनले आफ्नो प्रशिक्षकमाथि अनुसन्धान चलिरहेको थाहा पाउँदा पाउँदै सलजरलाई आफ्नो प्रशिक्षक बनाएको र उनीमाथि विश्वास गरेको बताएकी थिइन्। उनले दोहाकै प्रतियोगितामा १५०० मिटर युरोपियन रेकर्ड बनाइन्। मोनाकोको माइल दौडमा विश्व रेकर्ड बनाइन् (४ मिनेट १२ सेकेन्ड)। त्यस्तै, उनको नाममा तीन हजार मिटरमा पनि युरोपियन रेकर्ड छ। सोही वर्ष ५ हजार मिटरमा युरोपियन रेकर्ड बनाएकी हसनले गएको अक्टोबरमा १० हजार मिटरमै युरोपियन रेकर्ड कायम गरेकी हसनले अहिले विश्व रेकर्ड बनाएकी हुन्।

कोपनहेगनमा सम्पन्न हाफ म्याराथनमा पनि उनले युरोपियन रेकर्ड कायम गरेकी थिइन्। इन्डोर प्रतियोगितातर्फ पनि उनका धेरै राष्ट्रिय रेकर्डहरु कायम छन्।

प्रकाशित: Jun 07, 2021| 12:27 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।