काठमाडौं- फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले जित निकालेको छ।
पराग्वेको डिफेन्सोरेस डेल चाको रंगशालामा आज बिहान सम्पन्न खेलमा ब्राजिलले घरेलु टिमविरुद्ध २–० गोलको जित निकालेको हो।
ब्राजिलको जितका लागि नेयमार र लुकाल पकेटाले गोल गरेका थिए। खेलको चौथो मिनेटमै फरवार्ड नेयमारले गोल गरेपछि ब्राजिलले पहिलो हाफमै एक गोलको अग्रता बनाएको थियो।
त्यस्तै, खेलको इज्युरी समयमा लुकासले गोल गरेपछि भने ब्राजिलले २–० गोलको जित निकालेको हो।
तर, बल नियन्त्रणमा पराग्वेभन्दा केही तल परेको ब्राजिलले खेल अवधिभर पराग्वेको पोस्टमा चार प्रहार गरेको थियो। यता पराग्वेले ब्राजिलको पोस्टमा गरेका कुनै प्रहार भने गोलमा परिवर्तन हुन सकेन।
यो जितसँगै दक्षिण अमेरिकी छनोटमा १८ अंकका साथ ब्राजिल समूहको शीर्षस्थानमा छ। पराजित पराग्वे सात अंकका साथ छैटौं स्थानमा छ।
यता आज बिहान सम्पन्न खेलमा अर्जेन्टिना र कोलम्बियाले २–२ गोलको बराबरी खेलेका थिए। सो, बराबरीसँगै १२ अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ भने आठ अंक भएको कोलम्बिया पाँचौ स्थानमा छ।
त्यस्तै, आजै भएको अर्को खेलमा भेनेजुएला र उरुग्वे गोलरहित बराबरीमा रोकिएका छन्। उरुग्वे समूहको चौथो स्थानमा छ। त्यस्तै, भेनेजुएला नवौं स्थानमा छ।