जनकपुरधाम- प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्।
प्रदेशसभा बैठक बस्नासाथ विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुन्। नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले विरोध जनाउन थालेपछि सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित गरेका छन्।
एमालेका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले प्रदेशसभा सदस्यहरुसँग समन्वय गरी योजना छनोट गरेर अख्तियारी पठाउने निर्णय गरिए पनि सरकारले आफूखुशी योजना बनाएर सशर्त अनुदानको बजेट पठाइएकोमा आपत्ति जनाए।
उनले भने ‘हामीसँग योजना माग त गरियो तर ती सबै योजनालाई रद्धीको टोकरीमा फालेर प्रदेश सरकारले सशर्त अनुदान पठाएको आज मात्रै थाहा पाएँ।’ प्रदेश सरकारले यस विषयमा ठोस जवाफ नदिएससम्म बैठक अवरुद्ध गर्ने उनले चेतावनी दिए।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्र कुमार सिंहले योजना छनोट गर्नका लागि सिफारिस समिति बनाएर पनि हाम्रो योजना समावेश नगर्नु प्रदेशसभा सदस्यहरुको अपमान रहेको टिप्पणी गरे। उनले भने ‘सशर्त अनुदानअन्तर्गत न प्रदेशसभा सदस्यहरुले योजना बनाए, न पालिकाहरुले त कसले योजना छनोट गरे।’
माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामकुमार यादवले आफ्नो कार्यकर्ता पाल्ने अभिप्रायले सशर्त अनुदानको बजेटको समेत दुरुपयोग गरिएको आरोप लगाए।