काठमाडौं- सरकारले भोलिदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउँदैछ।
काठमाडौं महानगरका अनुसार ३२ वटै वडामा जेठ २५ देखि २९ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ। खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सबै वडामा लगाइने महानगरले सूचना जारी गर्दै जनाएको छ।
यसपटक काठमाडौं महानगरपालिकाले खोप लगाउनका लागि उमेरअनुसार मिति निर्धारण गरेको छ।
महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूह, २६ गते ६३ वर्ष उमेर समूह, २७ गते ६२ वर्ष उमेर समूह २८ गते ६१ वर्ष उमेर समूह र २९ गते ६० वर्ष उमेर समूहकालाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ।
खोप लगाउन जाँदा उमेर खुलेको फोटोसहितको सरकारी कागजातसँगै लैजानुपर्ने छ। त्यस्तै सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिसपत्र लिएर खोप लगाउन जानुपर्नेछ।